८ वैशाख २०८१ शनिबार
राजनीति

जब जर्ज फर्नान्डिज नेपाल हुँदै सुटुक्क तिब्बत पुगे…

काठमाडौं - भारतका पूर्व रक्षामन्त्री जर्ज फर्नानडिजको ८८ वर्षको उमेरमा मंगलबार निधन भएको छ। दिल्लीको एक अस्पतालमा उपचारको क्रममा उनको निधन भएको हो। उनका भाइ माइकल फर्नाडीजका अनुसार जर्ज फर्नानडिजलाई स्वाइन फ्लु भएको थियो।' उनको नेपालका नेताहरुसँग समेत निकट सम्वन्ध थियो। उनले नेपालबारे चासो राख्थे। नेपालको प्रजातान्त्रिक आन्दोलनमा फर्नान्डिजको सहानुभुति थियो। नेपाली नेताहरुसँग दिल्ली र काठमाडौंमा भेटिरहेने उनी हक्की स्वभावका थिए।

फर्नान्डिज नेपाल आउँदाको एउटा घटना संधै चर्चामा रह्यो। २०४८ सालमा गिरिजा प्रसाद कोइराला पहिलो पटक प्रधानमन्त्री बने। जनआन्दोलन पछि बनेको यो पहिलो निर्वाचित सरकार थियो। कोइराला परिवारको प्रजातन्त्रिक आन्दोलनकै समय देखि भारतका समाजवादी नेताहरुसँग पनि राम्रो सम्वन्ध थियो। कोइराला पहिलो पटक प्रधानमन्त्री बनेका बेला भारतका समाजवादी नेता जर्ज फर्नान्डिज व्यक्तिगत भ्रमणमा नेपाल  आए र सुटुक्क तिब्बत पुगे। उनको त्यो गोप्य भ्रमणले चीनसँगको सम्वन्धमा नेपालले तनाब व्यहोर्नु पर्‍यो।  जानकारहरुका अनुसार उनलाई त्यसरी तिब्बत जस्तो संवेदनशिल ठाउँमा सुटुक्क पुर्‍याउने अरु कोही थिएनन्, थिए त प्रधानमन्त्रीकै स्वकीय सचिव विरेन्द्र दाहाल। दाहालले फर्नान्डिजलाई मोटरसाइकलमा कोदारी नाका हुँदै तिब्बत छिराएका थिए।

त्यतिबेला नेपालीलाई खासा नाकाबाट केही किलोमिटर भित्र जान पाउने सुविधा थियो। तर त्यही सुविधालाई दुरुपयोग गर्दै दाहालले भारतीय नेता फर्नान्डिजलाई तिब्बत पुर्‍याए पछि सनसनी फैलीयो। फर्नान्डिज तिब्बत पुगेर फर्केपछि चीनले नेपाल सरकारसँग कडा आप्ति जनाउँदै प्रश्न गरेको थियो। तर फर्नान्डिजको त्यतिबेला सहज जवाफ आएको पुराना कांग्रेस नेता दुर्गा सुवेदी सम्झिन्छन्। फर्नान्डिजले घुम्दै जाँदा आफु तिब्बत पुगेको प्रष्टाएका थिए। पासपोर्ट र प्रवेशआज्ञा विनै चीनले संवेदनशित मान्दै आएको तिब्बतमा एक भारतीय नेता नेपालको बाटो हुँदै पुग्नु पक्कै अप्ठेरो विषय थियो।

नेपालबारे चासो राख्ने उनी भारतीय स्वतन्त्रता संग्रामकै बेलादेखि नेपाली कांग्रेसका नेताहरुसँग नजिकको सम्वन्ध राख्थे। बीपी कोइरालासँगको सम्वन्धका कारण उनको नेपाली नेताहरुसँग विशेष सम्वन्ध रहेको सुवेदीको बुझाइ छ। राजा महेन्द्रले २०१७ साल पुस १ गते 'कु' गरेर निर्वाचित प्रधानमन्त्री बीपी कोइरालालाई जेलमा थुनेपछि त्यसको विरोधमा भारतमा फर्नान्डिजकै नेतृत्वमा प्रदर्शन भएको सुवेदी सम्झिन्छन्। 'बीपी कोइरालालाई पक्राउ गरेपछि उहाँकै नेतृत्वमा नेपाली दूतावास अगाडि भारतमा प्रदर्शन भएको थियो', सुवेदी भन्छन्, 'त्यतिबेला उहाँले प्रधानमन्त्री जवाहरलाल नेहरुलाई भेटेर पनि नेपालमा प्रजातन्त्रको घाँटी निमोठिएको र भारतले आवाज उठाउनु पर्ने आग्रह गर्नु भएको थियो।' बीपी जेलमा रहेको समयमा पनि उनी भेट्न नेपाल आएको सुवेदी सम्झन्छन्।

एक पटक फर्नान्डिजले दार्जिलिङबाट दिल्लीसम्मको मोटर यात्रा गरेका थिए। उनले त्यतिबेला समाजवादीहरुमा जागरण ल्याउन त्यो यात्रा गरेको सुवेदीको भनाइ छ। त्यो यात्राका क्रममा समेत उनी बिराटनगर आएका थिए। त्यतिबेला आफ्नो भेट भएको सुवेदी सुनाउँछन्। 'मोटर यात्राको क्रममा उहाँ काँकडभिट्टा हुँदै बिराटनगर आउनु भयो। मेरो पनि भेट भयो', सुवेदीले पुरानो कुरा स्मरण गर्दै भने, 'म त्यतिबेला बिराटनगरमा एउटा सानो टिनले छाएको घरमा बस्थें। अत्यन्तै गर्मी थियो। गर्मीमा बसेर क्रान्तिकारी नहुने भन्दै उहाँले मलाई आफ्नै मोटरमा रखेर बजार लगेर पंखा किनिदिनु भयो।'

फर्नान्डिजसँगको संगतका आधारमा उनी अत्यन्तै रोमान्टिक मानिस भएको सुवेदीको भनाई छ। उनले आफुलाई सँधै नामले भन्दा पनि 'क्रान्तिकारी' भन्दै सम्वोधन गर्ने गरेको बताए। नेपालको प्रजातान्त्रीक आन्दोलनमा फर्नान्डिजको ठूलो सहयोग रहेको उनको भनाई छ। फर्नान्डिजले आन्दोलनको पक्षमा समय समयमा निकालेका विज्ञप्तिले त्यो पुष्टि गर्ने सुवेदी बताउँछन्।

विश्वभरका क्रान्तिकारीहरुलाई फर्नान्डिजले सहानुभुति राख्ने गर्थे। नेपालमा चलेको माओवादी विद्रोह प्रति उनको साहानुभुति थियो। जानकारहरु भन्छन् फर्नान्डिजको सम्वन्ध माओवादी शीर्ष नेताहरुसँग समेत थियो।

फर्नानडिज सन् १९६७ मा चर्चामा आएका थिए। जब उनले मुम्बइ दक्षिण लोकसभा सीटमा काँग्रेसका उम्मेद्वार एसके पाटिललाई पराजित गरे। त्यही समयदेखि उनलाई ‘जार्ज द जायंट किलर’ पनि भन्न थालियो। उनले पाटिललाई ४२ हजार मतान्तरले पराजित गरेका थिए। भारतमा रेल मजुदुरको सेवा सुविधाको लागि उनको नेतृत्वमा भएको रेल हड्तालले पनि फर्नान्डिजलाई चर्चामा लगेको थियो। रक्षामन्त्री भएको समयमा उनको नीजि निवासको ढोका सँधै खुला हुने गर्थ्यो। उनले आफ्नो निवासमा कुनै सुरक्षाकर्मी समेत राखेका थिएनन्। प्रधानमन्त्री अटलविहारी बाजपेयीले समेत उनलाई सुरक्षाकर्मी राख्न अनुरोध गरेका थिए तर फर्नान्डिजले त्यसलाई स्विकार गरेनन्। भारतीय संसदमा हमला भएपछि मात्र उनले आफ्नो घरको अगाडि दुई जना गार्ड राखेका थिए।

प्रकाशित: १५ माघ २०७५ ०९:२१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App