८ वैशाख २०८१ शनिबार
अर्थ

व्याज घटाउन व्यवसायीको माग

नेपाल राष्ट्र बैंक क्षेत्रीय निर्देशकलाई डेलिगेसन बुझाउँदै उद्योगी व्यवसायी।  तस्बिर : महमद/नागरिक

भैरहवा – बैंक तथा वित्तीय संस्थाहरुले व्याजदर बढाउँदा उद्योगी व्यवसायी मारमा परेका छन्। उद्योगी व्यवसायीरुले निजी तथा वाणिज्य बैंकहरुबाट लिएको ऋणमा सातदेखि १४ प्रतिशतसम्म व्याजदर बढाउँदा व्यवसायी मारमा परेका हुन्। 

‘व्याजदर बढेपछि लागत बढी हुने भएकाले सामानको मूल्य पनि बढेको छ,’ उद्योग व्यापार संगठन रुपन्देहीका अध्यक्ष नारायण भण्डारीले भने, ‘यसले बजारमा अन्य मुलुकका उत्पादनसँग प्रतिस्पर्धा गर्न यहाका उद्योगी व्यवसायीलाई गाह्रो भएकाले व्यवसाय पनि घट्दै गएको छ।’ बैंकले तरलतासँगै विभिन्न बहाना बनाइ उद्योगीको ढाड सेक्ने गरी अत्याधिक व्याज बढाएको अध्यक्ष भण्डारीको भनाइ छ। 

बैंकहरुले जसरी व्याज बढाएका छन् त्यही अनुसार नेपाली वस्तुको उत्पादन गर्ने हो भने लागत बढ्न गई अन्य मुलुकसँग प्रतिस्पर्धा गर्न गाह्रो हुने र नेपाली उद्योग क्रमशः धरासायी हुँदै जाने अध्यक्ष भण्डारीले बताए। मुलुकमा सरोकारवाला निकायले व्याजदर नियन्त्रणका लागि तत्काल नयाँ उपाय, नियम नल्याएमा उद्योगी व्यवसायी टिक्न नसक्ने अवस्थामा रहेको भण्डारीको भनाइ छ।

महंगो व्याजका कारण उद्योग तथा व्यवसायीको लागत वृद्धि, लगानीयोग्य पुँजी अभावलगायत कारणले अर्थतन्त्रमा नकारात्मक प्रभाव पारिरहेको छ। नेपाल राष्ट्र बैंकबाट जारी गरिएको मौद्रिक नीतिले पुँजी बजारमा बढ्दै गएको तरलता अभावका कारण व्याजदरमा भएको वृद्धिले व्यवसाय गर्न समस्या भएकाले बैंक तथा वित्तीय संस्थाले अस्वभाविक रुपमा व्याजदर बढाउँदा विशेषगरी ठूला ऋणी मारमा परेका छन्। तत्काल व्याजदर नघटे उद्योग कलकारखाना बन्द गरेर राष्ट्र बैंक साचो बुझाएर बस्नुपर्ने अवस्था आउन सक्ने चेतवानी उनले दिए।
‘अस्वभाविक रुपमा बढेको व्याजदर तत्काल नियन्त्रण नभए नेपाली उत्पादन विस्थापित हुने अवस्था आउने छ,’ अध्यक्ष भण्डारी लेभ भने, ‘एक्कानसी व्याज अनियन्त्रित रुपमा बढेपछि नेपाली उत्पादनले विदेशी वस्तुसँग प्रतिस्पर्धा गर्न सक्ने अवस्था छैन।’ चर्को कर प्रणाली, ढुवानी तथा भन्सार दर खेप्दै आएका नेपाली उद्योग व्याज बढेसँगै अझ धरासायी हुने उनको तर्क थियो। 

गभर्नर र राष्ट्र बैंकलाई डेलिगेसन पत्र

बैंकको व्याजदर घटाउन माग राख्दै उद्योग व्यापार संगठन रुपन्देहीले नेपाल राष्ट्र बैंक क्षेत्रीय कार्यालय सिद्धार्थनगरमार्फत गभर्नर र क्षेत्रीय कार्यालयलाई डेलिगेसन पत्र बुझाएका छन्। संगठन अध्यक्ष भण्डारीसहित पदाधिकारी, उद्योगी, व्यवसायी लगायत समूहले भैरहवा नगर परिक्रमा गरी नेपाल राष्ट्र बैंक क्षेत्रीय निर्देशक अशोक पौडेललाई डेलिगेसन पत्र बुझाएका हुन्।

सरोकारवाला निकायले उद्योग, व्यवसायमैत्री नीति नबनाउँदा आज उद्योगी, व्यवसायी मर्कामा परेका अध्यक्ष भण्डारी बताउँछन्। ‘बैंकहरु उद्योगी, व्यसायीको घरदैलोमा गएर दिएको ऋणको व्याज आज सात प्रतिशतबाट १४ प्रतिशतसम्म बनाइएको छ,’ उनले भने, ‘तर पनि बैंकहरुलाई नियन्त्रण गर्ने नेपाल सरकार मातहतको राष्ट्र बैंकले आज के गरिरहेको छ यो प्रश्न चिन्ह खडा भएको छ।’ 

सात प्रतिशतमा दिएको व्याज बढाएर १४ प्रतिशतसम्म बनाउँदा नेपाल सरकारको कालोबजारी ऐन कहाँ गएको छ भन्ने प्रश्न गर्दै भण्डारीले भने, ‘राष्ट्र जस्तो समस्यामा परे पनि, उद्योगी, व्यवसायीहरु जस्तो समस्यामा परेपनि राष्ट्रमा नाकाबन्दी, आन्दोलन, संकट आए पनि बैंकहरु लगातार नाफामा गइरहेका छन्। बैंकहरुले सेयरधनीलाई दिने बोनस बढाएर ४० प्रतिशतसम्म पुर्‍याइसके तर उद्योगी, व्यवसायी आफ्नो व्याज र किस्ता तिर्न नसकेर बैंकको ऋण व्याज तिर्न अर्काे साहुकहाँ दौड्न परिरहेको अवस्था छ।’ 
उद्योगी व्यवसायीले १० रुपैयाँको समान १२ रुपैयाँमा बिक्री गर्दा कालोबजारी ऐन अन्तर्गत जेल हालिन्छ भने बैंकहरुलाई त्यो ऐनभित्र लाग्दैन भन्ने आमउद्योगी व्यवसायीको जिज्ञासा र माग रहेको हँुदा बैंकले दिएको ऋणको व्याजदर बढीमा नौ प्रतिशत कायम हुने गरी निर्देशन जारी गर्न अनुरोध गरेका छन्। 
समस्या समाधान भएन भने एकै पटक राष्ट्रभरीका उद्योगी, व्यसायीले व्याज र किस्ता तिर्न नसक्ने र उद्योग, व्यवसायको चाबी राष्ट्र बैंकलाई बुझाउने जानकारी गराउँदै उक्त डेलिगेसन पत्रमा उल्लेख छ।

बैंकहरुले सेयरधनीलाई दिने बोनस बढाएर ४० प्रतिशतसम्म पुर्‍याइसके तर उद्योगी, व्यवसायी व्याज र किस्ता तिर्न नसकेर अर्काे साहुकहाँ ऋण लिन दौड्नु परिरहेको अवस्था छ।

प्रकाशित: १५ माघ २०७५ ०३:२९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App