१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

‘कूटनीतिज्ञलाई दिएको चुनौतीको ह्वाइट हाउसले जबाफ दिन्छ’

आइतबार काराबोबोमा सैन्य अभ्यासमा सहभागी भेनेजुएली राष्ट्रपति निकोलास मादुरो (बीचमा)। तस्बिर: एजेन्सी

वासिङ्टन – अमेरिकी कूटनीतिज्ञ वा विपक्षी नेता जुवान गुआइडोमाथिको कुनै पनि प्रकारको चुनौतीलाई गतिलो जबाफ दिने संयुक्त राज्य अमेरिकाले भेनेजुएलालाई चेतावनी दिएको छ।

अमेरिकी कूटनीतिज्ञ वा विपक्षी नेतामाथि दिइने कुनै पनि प्रकारको चुनौती कानुनी शासनमाथिको गम्भीर आक्रमण हुने अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बल्टनलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ। भेनेजुएलाका विपक्षी नेता एवं राष्ट्रिय सभाका अध्यक्ष गुआइडोले गत बुधबार आफूले आफैंलाई अन्तरिम राष्ट्रपति घोषणा गरेका थिए। उनको घोषणालगत्तै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उनलाई मान्यता दिएका थिए। संयुक्त राज्य अमेरिका र अन्य २० देशले विपक्षी नेता गुआइडोलाई मान्यता दिएको केही दिनपछि अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार बल्टनको यस्तो चेतावनी आएको हो।

भेनेजुएलामा बढ्दो राजनीतिक संकटकैबीच विपक्षी नेता गुआइडोले आउँदो बुधबार र शनिबार देशव्यापी रूपमा निकोलास मादुरो नेतृत्वको सरकार विरोधी प्रदर्शन गर्न आह्वान गरेका छन्। विपक्षी नेतृत्वमा रहेको भेनेजुएलाको राष्ट्रिय सभाका अध्यक्ष रहेका गुआइडोले गत बुधबार सरकारविरोधी प्रदर्शनकै बीच अन्तरिम राष्ट्रपतिका रूपमा आफूल आफैंलाई घोषणा गरेका थिए।

भेनेजुएलामा केही वर्षदेखि जारी आर्थिक र राजनीतिक संकट यसै महिनाको सुरुमा राष्ट्रपति मादुरोले दोस्रो कार्यकालका लागि शपथ लिएसँगै बढेको थियो। विपक्षी नेता गुआइडोको गत साताको घोषणापछि त झनै राजनीतिक संकट चरमबिन्दूमा पुगेको छ। विपक्षीहरु यसै मुद्दामार्फत् मादुरोलाई राष्ट्रपतिको सिटबाट हटाउन चाहन्छन्। गत वर्षको मे महिनाम भएको राष्ट्रपतीय निर्वाचनमा विपक्षीले सहभागिता जनाएका थिएनन्। विपक्षीको सहभागिताबिनै सम्पन्न भएको मतदानमा मादुरोले धाँधली गरेर जित हासिल गरेको र सो निर्वाचन वैधानिक नभएकाले मादुरो राष्ट्रपति बन्न नसक्ने भन्दै विपक्षी नेता गुआइडोले देशको संविधानको मर्मअनुसार राष्ट्रपतिविहीन अवस्थामा राष्ट्रिय सभाका अध्यक्ष कार्यवाहक राष्ट्रपति हुने भन्दै आफूले आफैंलाई राष्ट्रपति घोषणा गरेका थिए।

मादुरो सरकारले कारबाही गरेको अमेरिकाका लागि भेनेजुएलाका उच्च सैन्य प्रतिनिधि कर्णेल जोस लुइस सिल्भाले आइतबार आफूले गुआइडोलाई देशको राष्ट्रपतिको रूपमा मान्यता दिएको बताएका थिए। त्यसपछि अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार बल्टनले आफ्नो ट्विटर अकाउन्टबाट वासिङ्टनको धारणा सार्वजनिक गर्दै कोही कसैलाई पनि चुनौती दिँदा त्यसले हिंसा फैलने चेतावनी दिएका थिए। सुरक्षा सल्लाहकार बल्टनको धारणा सार्वजिनक भएसँगै भेनेजुएलाका विपक्षी नेता गुआइडोले बुधबार शान्तिपूर्ण दुई घण्टे हड्तालको आह्वान गरेका छन्। उनले शनिबार भने राष्ट्रिय र अन्तर्राष्ट्रिय र्‍यालीको आह्वान गरेको बिबिसीले उल्लेख गरेको छ।

अब के हुन्छ ?
शनिबार कैयौं स्पेन, जर्मनी, फान्स र बेलायतलगायतका युरोपेली मुलुकहरुले यदि मादुरोले आठ दिनभित्र निर्वाचनको नयाँ मिति घोषणा नगरे विपक्षी नेता गुआइडोलाई राष्ट्रपतिको मान्यता दिने बताएका थिए। तर मादुरोले भने युरोपेली राष्ट्रका माग अस्वीकार गर्दै अल्टिमेटम फिर्ता लिनुपर्ने बताएका थिए। ‘भेनेजुएला युरोपसँग जोडिएको छैन। यो पूर्ण रूपमा स्वतन्त्र छ,’ टर्कीबाट प्रसारण हुने सिएनएन टर्कसँगको अन्तर्वार्ताका क्रममा मादुरोले आइतबार बताएका थिए। यद्यपि उनले आफ्नो राष्ट्रपतित्वको विरोध गर्ने पक्षसँग बृहत् छलफलका लागि आफू तयार रहेको भने बताएका थिए। उनले आफूले अमेरिकी राष्ट्रपति ट्रम्पलाई कैयौं सन्देश पठाएको भए पनि उनले प्रतिक्रिया नदिएको अन्तर्वार्ताका क्रममा बताएका थिए। आइतबार नै उनी भेनेजुएलाको काराबोबो राज्यमा रहेको सैन्य अभ्यास शिविरमा देखिएका थिए। उनले त्यहाँबाट विपक्षी नेता गुआइडोको कूको प्रयासविरुद्ध एकजुट हुन आग्रह गरेका थिए।
मादुरोले गत बिहीबार अमेरिकासँगको कूटनीतिक सम्बन्ध तोडेको घोषणा गर्दैै अमेरिकी कूटनीतिज्ञलाई ७२ घण्टाभित्र देश छोड्न आदेश दिएका थिए। सो आदेश शनिबार समापन भएपछि भने भेनेजुएली विदेश मन्त्रालयले दुवै देशले सम्पर्क कार्यालय स्थापना गर्नका लागि सो समय थप गरेर ३० दिन पुर्‍याइएको बताएको थियो।

प्रकाशित: १५ माघ २०७५ ०३:२४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App