१६ चैत्र २०८० शुक्रबार
अर्थ

तारागाउँ रिजेन्सी होटल्स: हायतमा सरकारको सेयर ९ प्रतिशतमा खुम्चियो

काठमाडौं – तारागाउँ रिजेन्सी होटल्स लिमिटेड (हायात) मा भइरहेको पुँजी वृद्धिमा तारागाउँ विकास समितिले थप लगानी नगर्दा उसको सेयर स्वामित्व घट्दै गएकोे छ। होटल स्थापना हुँदा समितिको २२.६७ प्रतिशत सेयर थियो। अहिले त्यो घटेर ९.१ प्रतिशत मात्र भएको छ।२०४९ सालमा होटल स्थापना हुँदा सरकारको १७ करोड, संयुक्त लगानी साझेदार (सर्राफ र श्रेष्ठ) को ३०.७५ करोड, सर्वसाधारणको १२ करोड र बैंक, वित्तीय संस्थाको १४.६५ करोड लगानी थियो। 

अहिले पनि  तारागाउँको १७ करोड मात्रै स्वामित्व छ भने अन्यको बढेको छ। सर्राफ र श्रेष्ठ परिवारको ४९ करोड २० लाख, सर्वसाधारणको १९ करोड २० लाख, बैंक तथा वित्तीय संस्थाको स्वामित्व बढेर एक अर्ब तीन करोड २६ लाख रुपैयाँ पुगेको छ। 

तारागाउँ विकास समितिले आफ्नो भागको हकप्रद सेयर नलिएकाले सरकारको स्वामित्व घट्न पुगेको होटलका जनसम्पर्क निर्देशक गोविन्दराम परियारले बताए। ‘हकप्रद सेयर खरिद गर्न तारगाउँ विकास समितिलाई पत्राचार गरेको थियो,’ उनले सोमबार नागरिकलाई भने, ‘तर उसले (तारागाउँ) हकप्रद सेयर लिन मञ्जुर गरेन।’ तारागाउँ विकास समितिले आफ्नो भागको हकप्रद सेयर लिएको भए संस्थापक समूहबीच (तारागाउँ र निजी क्षेत्र) को सेयर लगानी अनुपात यथावत नै रहने थियो, त्यस्तो सेयर नलिएका कारण सरकारको स्वामित्व घट्न पुगेको परियारको भनाइ छ। 

तारागाउँ विकास समितिलाई ५ः३ अनुपातमा अर्थात १० करोड २० लाख रुपैयाँ बराबरको १० लाख २० हजार कित्ता हकप्रद सेयर खरिद नगरेका कारण सेयर स्वामित्व घटन पुगेको हो।

बैंकबाट लिएको कर्जा र सोको ब्याज समेत तिर्न नसकेपछि होटल लिलामीमा जान सक्ने अवस्थामा पुगेपछि संस्थापक लगानीकर्ता सर्राफ र श्रेष्ठ परिवारले होटललाई अघि बढाउन मुख्य लगानीकर्ता एसियाली विकास बैंक (एडिबी) लगायत अन्य राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बैंकहरुलाई ऋण पुनःसंरचना गर्न अनुरोध गरेको थियो। संस्थापकले थप लगानी गर्ने सर्तमा ती बैंकहरुले होटललाई ऋण पुनःसंरचना दिन सहमति जनाएका थिए। त्यसपछि कर्जा पुनर्संरचनाको काम अघि बढेको परियारले बताए। 

कम्पनीको ऋण पुर्नसंरचना गर्ने क्रममा बैंक तथा वित्तीय संस्थाले ऋणबापत सेयर लिने भएपछि तारागाउँको स्वामित्व घटेर ९.१ प्रतिशतमा झरेको हो। संयुक्त साझेदार सर्राफ र श्रेष्ठ परिवारको २६.८ प्रतिशत, सर्वसाधारणको १०.१८ प्रतिशत र बैंक तथा वित्तीय संस्थाको बढेर ५४.७३ प्रतिशत कायम भएको छ। 

पछिल्लो समयमा होटलको पुँजी बढेर एक अर्ब ८८ करोड ६६ लाख रुपैयाँ पुगेको छ। तर, सरकारी स्वामित्वको सेयर घटेको मात्रै छ, बढेको छैन।

विदेशी एवं स्वदेशी बैंक तथा वित्तिय संस्थासँग भएको सहमति अनुसार तारागाउँ विकास समितिको सेयर कम्पनीमा २५ प्रतिशतभन्दा बढी नहुने भन्ने छ। पूरै ३०४ रोपनी जग्गा बराबरको पुँजी तारागाउँ विकास समितिलाई लगानी गर्न दिएको अवस्थामा उसको २५ प्रतिशतभन्दा बढी लगानी हुने भएकोले तत्काल एक सय ५० रोपनी जग्गा बराबरमात्र लगानी गर्ने र बाँकी जग्गा ४९ वर्षका लागि भाडामा दिइएको थियो। 

२०७४ मा महालेखापरीक्षकको ५५औं वार्षिक प्रतिवेदनले लगानी गरिसकेको घर र १५० रोपनी जग्गाको पुनर्मूल्यांकन हुनुपर्ने भन्ने उल्लेख गरेको छ। तर, अहिलेसम्म पुनर्मूल्यांकन नभएका कारण सरकारको सेयर स्वामित्व यथावत रहेको सरकारको भनाइ छ।

मुलुक १० वर्षे द्वन्द्वका कारण पर्यटक आगमन लगभग ठप्प हुन गई होटलको आम्दानी पनि शून्य अवस्थामा पुगेपछि बैंकबाट लिएको ऋण र सोको ब्याज भुत्तानी गर्न होटल असफल हुन गएको थियो। तर, अहिले होटल नाफामा छ। चालु आर्थिक वर्षको तीन महिनामा २६ करोड ३१ लाख रुपैयाँ नाफा गरेको छ। अघिल्लो वर्षको सोही अवधिमा १९ करोड ७६ लाख रुपैयाँ आम्दानी गरेको थियो।

२०६५ देखि नाफामा रहेको होटलले २०७१÷०७२ देखि बैंक तथा वित्तीय संस्थाबाट लिएको सबै कर्जा चुत्ता गरेर ऋण मुक्त भएको थियो। अहिले होटलको कर्जा दायित्व छैन। यस्तो अवस्थामा सरकारले सेयर स्वामित्व भने घटाउँदै लगेको छ।
यो पनि पढ्नुहोस्: तारागाउँ होटलको जग्गा सरकारको स्वामित्वमा ल्याउन निर्देशन

आर्थिक वर्ष २०७३÷०७४ मा होटलले २८ करोड रुपैयाँ खुद नाफा गरेको थियो। सो नाफाबाट होटलले सेयरधनीलाई ७.५ प्रतिशत नगद लाभांश दिएको थियो। यो वर्ष पनि होटलले २८ करोड रुपैयाँ नाफा गरेको थियो। कम्पनीले सेयरधनीलाई १२  प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरिसकेको छ।

प्रकाशित: १५ माघ २०७५ ०३:१८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App