१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

बोइङ बेच्ने निर्णय आफैं गर्नू : मन्त्रालय

काठमाडौं – नेपाल वायुसेवा निगमलाई बोइङ विमान बेच्ने निर्णय आफैं गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अह्राएको छ। बोइङ बेच्ने स्वीकृति माग गर्दै निगमले पठाएको पत्रको जवाफमा मन्त्रालयले आफैं निर्णय गर्न भनेको हो।

वाइड वडी विमान खरिदमा निर्णय गर्दा अनियमितताको आरोप लागेपछि मन्त्रालय पन्छिएको बुझिएको छ। निगमले मंसिर तेस्रो साता बोर्ड बैठकबाट बोइङ बिक्री गर्ने निर्णय गर्दै स्वीकृतिको लागि मन्त्रालय पठाएको थियो।

‘हामीले निगम आफैंलाई निर्णय गर्नु भन्दै प्रस्ताव स्वीकृत गरेनौं,’ मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटाले भने, ‘बोइङ बिक्री निर्णय निगमकै बोर्डबाट वा मन्त्रिपरिषद्बाट हुन सक्छ।’ वाइड बडी काण्डपछि निर्णय क्षमतामा कमी आएको सचिव देवकोटाले संकेत गरे। बोइङ बिक्रीको विषयमा सार्वजनिक लेखा समितिमा समेत चर्चा भएको थियो। वाइड बडी विमान खरिदको विषयमा छलफल हुँदा केही सांसदले वाइड बडी किन्दाको अनियमितताले गरेर नपुगेपछि बोइङ बेचेर थप अनियमितता गर्न खोजेको आरोप लगाएका थिए। यसपछि मन्त्रालय बोइङ बिक्रीको स्वीकृति दिन हच्केको बुझिएको छ।

मन्त्रालयका सूचना अधिकारी सुरेश आर्चायले बोइङ बिक्री निगम आफैंले गर्न सक्ने बताए। ‘निगमले आफ्नो व्यावसायिक योजना अनुसार जहाज खरिद–बिक्रीको निर्णय गर्न सक्छ,’ आर्चायले भने, ‘त्यसैले बोइङ बिक्रीको निर्णय आफैं लिन निगमलाई भनेका हौं।’ उनका अनुसार निगमको बोर्ड बैठक तथा कार्यकारी अध्यक्षबाटै खरिद बिक्रीको निर्णय गर्न सकिनेछ। निगमको निर्णय गरेर मन्त्रालय झन्झटमा नफस्ने संकेत उनले गरे।

मन्त्रालयले स्वीकृत दिनुको सट्टा ‘आफैं निर्णय गर्नू’ भनेपछि निगम पनि बोइङको विषयमा अन्योलमा परेको छ। निगमसँग भएको एकमात्र बी ७५७–२०० सिरिज बोइङ जहाज केही समयअघि मलेसियाबाट मर्मत गरेर ल्याइएको थियो। नेपाल नआइपुग्दै विमानमा समस्या देखिएपछि हाल विमान मर्मतको क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा छ।

एकतिर विमान बिग्रिरहने र अर्कोतिर पुरानो मोडलको एकमात्र विमान भएकाले मर्मतको लागि निगमलाई झन्झट भएको छ।
‘निगमको आवश्यकता अनुसार बोइङ विमान बिक्री गर्नैपर्ने देखिन्छ,’ निगमका सहप्रवक्ता नवराज कोइरालाले भने, ‘मन्त्रालयसँग स्वीकृति माग्दा निगम आफैंलाई निर्णय गर्न भनिएको छ। अबको बोर्ड बैठकमा यो विषयमा कुरा हुनेछ।’ विमान बिक्री वा सञ्चालन गर्ने भन्ने विषय बोर्डमा छलफलकै क्रममा रहेको उनले बताए।

निगमले मन्त्रालयको स्वीकृतिपछि बिक्री प्रक्रिया थाल्ने योजना बनाएको थियो। 

नाइएन–एसिबी कलसाइन भएको एक सय ९० सिट क्षमताको उक्त जहाजमा समस्या आएर बारम्बार बनाउँदा कमाउनेभन्दा खर्च बढी हुने भएपछि निगमले बेच्न खोजेको हो।

निगमको बोर्ड बैठकले जहाज बिक्रीको लागि गत वैशाखमै सौद्धान्तिक सहमति दिएको थियो। त्यसपछि निगमले बोइङ बिक्री गर्न मूल्यांकन गरायो। विमान कति मूल्यमा बिक्री गर्दा उपयुक्त होला, जगेडा पुर्जा, इन्जिन जस्ता सबै प्राविधिक पक्ष जाँच गरेर तयार पारिएको मूल्यांकन प्रतिवेदन निगमले पाइसकेको छ।

निगमसँग बोइङ जहाज दुईवटा थिए। यसअघि नै एउटा बोइङ बेचिसकेको छ। निगमले यसअघि २०७४ माघमा कलसाइन नाइएन–एसिए भएको यस्तै बोइङ बिबी एयरवेजलाई १४ लाख ६० हजार अमेरिकी डलरमा बिक्री गरेको थियो।

निगमले बोइङको सट्टा एयरबस उडाउने भन्दै आफूसँग भएको अर्को बोइङ पनि बेच्ने निर्णय गरेको हो।

बेच्न बाँकी गण्डकी नामको बोइङ सन् १९८९ मा अमेरिकी जहाज निर्माता कम्पनीसँग खरिद गरिएको थियो। करिब ३० वर्ष पुरानो जहाजले हङकङ, दुबई, भारत, थाइल्यान्ड लगायत देशमा अन्तर्राष्ट्रिय उडान गर्दै आएको थियो। 

बोइङ जहाजले उडान गरिरहेका गन्तव्यमा अहिले एअरबसमार्फत उडान भइरहेको छ। अहिले निगमले ए३३०–२०० सिरिजका दुई वाइड बडी र ए३२०–२०० सिरिजका दुई न्यारो बडी जहाजबाट अन्तर्राष्ट्रिय उडान गरिरहेको छ।

 

प्रकाशित: १५ माघ २०७५ ०३:०९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App