८ वैशाख २०८१ शनिबार
समाज

हलेसीमा भुटानकी मुमा बडामरानी वाङ्चुक, पूजामा ब्यस्त

खोटाङ – भुटानकी मुमा बडामहारानी ग्यालुम दोर्जी वाङ्मो वाङचुकले खोटाङको त्रि–धार्मिकस्थलको दर्शन गरेकी छन्। एक साता लामो नेपाल भ्रमणका क्रममा मुमा बडामहारानी वाङचुकले यहाँस्थित हेलसी महादेव मन्दिरमा पूजापाठ गरेकी हुन्।

अवतारी मानिएका आफ्ना ५ वर्षीय नातिलगायत राजपरिवारका सदस्यसहित सोमबार हेलसी आइपुगेकी मुमा बडामहारानी वाङचुक मंगलबार बिहान ९ बजे फर्किएकी छन्। मुमा बडामहारानी वाङचुकले अवतारी नातिलाई मन्दिरको दर्शन एवं पूजापाठ गराउनमै बढी समय बिताएको हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले जानकारी दिए।

धार्मिक तथा पर्यटकीयस्थल हलेसी आएलगत्तै उनले शिवजीथान, पार्वतीथान, बसाहाथान लगायतको दर्शन एवं अवलोकन गरेकी थिइन्। सुरक्षा व्यवस्थासहित आएकी मुमा बडा महारानी वाङचुकले अन्य देवस्थलमा सामान्य ढोगेर दर्शन गरे पनि पार्वतीथानमा भने सोमबार र मंगलबार नै विशेष महत्वका साथ पूजाआजा गरेकी थिइन्। हलेसी दर्शनका क्रममा उनले अवतारी नातिसँग जिज्ञासा राख्ने र नातिले जवाफ दिइरहेको देखिएको थियो।

मुमा बडामहारानी वाङचुकको भ्रमण टोलीले हलेसीका प्राकृतिक गुफाको उत्सुकतापूर्वक अवलोकन गरेको थियो। एउटै आँगन रहेको बौद्धमार्गीको मारातीका छोलिङ गुम्बामा भने उक्त टोली प्रवेश नगरी फर्किएको छ।

मुमा बडामहारानी वाङचुक भुटानका राजा जिग्मेसिग्मे वाङचुककी जेठी रानी हुन्। बौद्ध धर्मअनुसार बौद्धगुरु पद्मसम्भवले वर्षाैं तपस्या गरेको किंवदन्ती रहेको हलेसीमा २०४४ सालताका भुटानी राजा जिग्मेसिग्मे वाङचुकसमेत आएका थिए। भष्मासुर राक्षसबाट बच्न शिवजीले आश्रय लिएको, किराती समुदायका पुर्खाले पत्ता लगाएको, पद्मसम्भवले बोधिसत्व प्राप्त गरेको, नजिकै किरात समुदायको आदिम थलो तुवाचुङस्थल रहेको लगायतका आधारमा त्रि–धार्मिकस्थल मानिएको हलेसीमा हिन्दु, किरात र बौद्ध धर्मावलम्बीहरूको भीड लाग्ने गरेको छ।

बौद्ध धर्मावलम्बीको मारातीका गुम्बा रहेको हलेसीमा हरेक हिउँदमा विश्वका विभिन्न देशबाट आउने बौद्धमार्गीहरूले चार–पाँच महिनासम्म बसेर ध्यान गर्ने गरेका छन्। किरात धर्मगुरु फाल्गुनन्द, बौद्ध धर्मगुरु टुकुपेमा वाङगेल रिम्पोछे, हिन्दुधर्म गुरु शंकराचार्य लगायतले दर्शन भ्रमण गरिसकेको हलेसीमा विश्वका विभिन्न ठाउँबाट बौद्धमार्गी हेलिकोप्टरबाट आउने गरेका छन्।

प्रकाशित: १५ माघ २०७५ ०२:३८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App