छुवाछूत, छुई र छाउ

मङ्गलबार, १५ माघ २०७५, ०८ : ०५ रवीन्द्र भट्टराई

रजस्वला वा महिनावारी हुँदा नछुने बार्ने चलन नेपालको खस, मैथिल, कुमाई बाहुन क्षत्री परिवारमा चर्को छ। पश्चिम नेपालको उत्तरी भागमा रजस्वला हुँदा र सुत्केरी हुने दुवै अवस्थामा छाउ बार्ने वा छाउगोठमा राख्ने चलनले अद्यापि कहालीलाग्दा नतिजा निकाल्ने गरेको कुरा प्रायः समाचारमा आइराखेका छन्। नारीको यो मासिक धर्मको निश्चित समयमा तिनको स्पर्शतालाई निषेध गरेर महिलालाई अछूत बनाउने चलनलाई छाउपडी र नछुने भएको भनेरै चिनाउने गरिएको छ। मानवअधिकारका दृष्टिले छाउपडी र नछुनेका नाममा महिलााथि हुने भेदभाव, वञ्चिती वा निषेध एक प्रकारको ज्यादती हो।

नछुने बार्ने र छाउपडी कुप्रथालाई हिन्दू धार्मिक प्राधिकारको एक उपज मानिन्छ। धर्मशास्त्रले नै यस कालमा महिलालाई सर्वत्र वर्जित गरेको छ भन्ने कर्मकाण्डका प्राधिकारहरूले दाबी गर्दै आएका पनि छन् र धार्मिक सांस्कृतिक अनुष्ठानका प्राधिकारी तिनै कर्मकाण्डी पण्डित पुरोहित हुने भएकाले यसको यशअपयश उनीहरूमै जाने कुरा स्वाभाविक हो। यो आलेखको उद्देश्य ती प्राधिकारीका कुरा खण्डन गर्नु पनि होइन न त छाउपडी र नछुनेका नाममा नारीमाथि हुने अन्यायविरुद्ध चर्को वकालत गर्नु नै हो। यो आलेख त खालि यो विषयमा खसआर्य वा आर्षपरम्पराका केही उपलब्ध स्रोतको आधारमा यस विषयका विचार प्रस्तुत गर्नु मात्र हो।

विषयका अरू पाटोमा जानुअगाडि शब्दार्थसम्बन्धी केही कुरा गरौँ। प्राणीमा हुने तृष्णा, विलास, भोग आदिद्वारा मोहित पार्ने सकाम इच्छालाई रज भनिन्छ। वनस्पतिको स्त्रीकेशरमा उत्पन्न हुने परागलाई पनि रज नै भनिन्छ। नारीको मासिक धर्मका रूपमा निसर्जन हुने रगत भनेको रज नै हो अर्थात् सन्तानोत्पादनका लागि अत्यावश्यक हुने स्त्री–तत्त्वलाई रज भनिन्छ। पुंकेशरबाट सेचन नगरेका कारण निर्धारित काल पार गरी त्यस्तो रज निःसृत हुनुलाई संस्कृत् वाङ्मय रजस्वला भनिएको पाइन्छ। रजको अर्थ चमक वा ज्योति पनि हो जसलाई ऋतु भनिन्छ। यसै कारणले रजस्वलाको समयलाई ऋतुकाल पनि भनेको पाइन्छ। ऋतु शब्दको मूल ऋतम् हो जसको अर्थ निश्चित प्राकृतिक नियम भन्ने हुन्छ। त्यस्तो प्राकृतिक नियम वा गुणलाई धर्म भनिन्छ। यसैले रजस्वलालाई मासिक धर्म भनिएको हो।

  छुई–छाउका नाममा नारीउपर भइहेका ज्यादती हाम्रा सांस्कृतिक प्रथाका उपजको निरन्तरता हुन् वा अन्ध र अपरिवर्तित अभ्यासका रूढि ?

छाउ शब्द संस्कृतको शावः शब्दबाट प्राकृत हुँदै तद्भवीकृत नेपाली शब्द हो। शावःको अर्थ बच्चा÷चल्ला वा बालक भन्ने हुन्छ। यसैबाट हात्तीको बच्चालाई छावा भनिने गरेको पाइन्छ भने मानिस र पशुपक्षीका बच्चालाई पनि छाउरो भन्ने प्रचलन छँद छ। पडी शब्दको अर्थ नेपाली (केन्द्रीय उपभाषिका)मा हुनु भन्ने हुन्छ। यस दृष्टिले हेर्दा छाउपडी भनेको गर्भवती भएर बच्चा जन्माउने अवस्थामा पुगेकी भन्ने हुन्छ।  

प्रकृतिप्रदत्त कुनै पनि भद्दा स्वरूपलाई मानवज्ञानको प्रयोग गरी मानवअनुकूल वा मानवउपयोगी बनाउने कार्यलाई संस्कार भनिन्छ भने त्यसरी मानवअनुकूल बनाएर स्थिर पद्धतिका रूपमा स्थापित गरिएको मानलाई सांस्कृतिक प्रथा भनिन्छ। यस्ता प्रथागत नियमहरूको सामूहिक नाम र पालना नै संस्कृति हो। मानवसभ्यताले कायम गरेका यस्ता मानहरूको पालनालाई नै हामी सांस्कृतिक प्रथा भन्छौँ। लामो समयदेखि समाजमा मान्य र व्यवहृत हुँदै आएका आचरण, उपयोग, कार्यसमूह आदिको नियमित, निश्चित र प्रख्यात् मानहरू नै वास्तवमा प्रथा हुन्। रूढिको प्रारम्भिक अर्थ उदय हुनु, चढ्नु वा विकास हुनु भन्ने भए पनि यसलाई अचेल त्यो अर्थमा लिइँदैन बरु स्थिर रहेको वा नबलिने गरी गढेको भनेर बुझिन्छ। कुनै पनि अर्थपूर्ण नियम, युक्ति वा तर्कका आधार नराखी पहिलेदेखि त्यसै चलाउँदै ल्याइएको स्थिर र अपरिवर्तित चलनलाई रूढि भनिन्छ।

प्रश्न छुई र छाउपडी प्रथा हुन कि रूढि हुन् वा कति प्रथाका रूपमा र कति रूढिका रूपमा प्रचलित छन् भन्ने नै हो। नेपाली क्षेत्रीबाहुन समाजले ग्रहण गर्ने धार्मिक सांस्कृतिक मान्यताका स्रोत भनेर वेद, पुराण र स्मृति नै हुन् भन्ने गरिन्छ। मानवसभ्यताको विकासक्रममा रजस्वला हुँदा वा सुत्केरी हुँदा महिलालाई छुट्टै स्थानमा राख्ने प्रचलन वैदिक कालभन्दा धेरै पुरानो हो भन्ने कुरालाई पुष्टि गर्न कुनै प्रमाण दिइराख्नै नपर्ला।

रजस्वला र प्रसूतिका अवस्थामा छुई र छाउको नाममा नारीमाथि गरिँदै आएको सघन अन्याय गराउने सामाजिक प्राधिकार को हो ? हाम्रा पण्डित वा पुरोहितहरू हुन् ? वा अरू नै कोहीले यो छोई र छाउको त्रासदीलाई निरन्तरता दिन सबल आड दिइरहेको छ ?

छुई र छाउ दुवैको प्रारम्भ मानिसले जङ्गली जीवनबाटै गरेको हुनुपर्छ न कि सांस्कृतिक समुन्नतिपछि संस्कारगत मानकहरू स्थापित गरिसकेपछि। जतिबेला मानिस जङ्गलमा बस्तथ्यो उसका लागि ओडार नै सबैभन्दा सुरक्षित बास थियो। हिंस्रक वन्यजन्तुसँग सामना गरिरहेका मानवको जमातले सुरक्षा उपायका रूपमा आगोको सहारा लिन थाल्यो। नारीको रजस्वला हुँदा वा सुत्केरी हुँदा निःसृत हुने रगतको गन्धले हिंस्रक जन्तुलाई तान्दथ्यो र तिनबाट आक्रमण हुने अवस्था हुन्थ्यो। त्यसलाई जोगाउनका लागि रजस्वला वा सुत्केरी भएकी नारीलाई ओडारको भित्री भागमा राख्ने र ओडारको बाहिरी भागमा आगो बालेर अरू बस्ने गरी सुरक्षित राख्ने काम भयो होला।

रजस्वला र सुत्केरी भएका महिलासँग संसर्गमा रहँदा त्यस्तो संसर्गबाट रगत लाग्न पुगेमा पुरुषलाई पनि हिंस्रक जन्तुबाट आक्रमण हुन सक्ने अवस्था हुनाले कम्तीमा त्यस्तो रगत निःसृत हुने अवधिभर पुरुषले महिलासँग संसर्ग नगर्ने अभ्यास नै प्रकारान्तरमा नछुने वा अस्पश्र्यताको मानका रूपमा रूढ भयो। त्यही प्रचलनलाई मानिसले ओडारको विकल्पमा विकास गरेका घरमा सर्दा पनि निरन्तरता दियो। सुत्केरीलाई बच्चाको न्वारान नभएसम्म उज्यालो नछिर्ने भँडारमा राख्ने चलनमै जन्मेहुर्केको पुस्ता त हामीसम्म छँदै छौँ।

वैदिक काल सांस्कृतिक उत्थान र मान्यताहरूको मानकीकरणको उत्कर्ष काल थियो। ऋग्वेदसँगै ज्ञान र कर्मका दिशाहरू निर्दिष्ट हुँदै आए। वैदिकहरूले मानिसको षोडशसंस्कार निर्धारण गरे। गर्भाधानदेखि मृत्युपर्यन्त गरिने मानवसंस्कारका विधि र मानवआचरणका नियमहरू बने। निश्चय नै तिनले नारी रजस्वला र सुत्केरी हुँदाको अवस्थामा गरिनुपर्ने व्यवहार र आचरणका बारेमा निर्देश गरेकै छन्। तर तिनले गरेको निर्देशलाई केकुन अर्थमा ग्रहण गरियो र व्यवहारमा तिनको निर्देशले परम्परागत रूपमा अभ्यस्त रूढिलाई केकति प्रभाव पार्‍यो भन्ने कुराचाहिँ विचारणीय छ।

ऋग्वेदको दसौँ मण्डलको एकसय बैसठ्ठियौँ सूक्तमा गर्भ र स्त्रीरोगको निवारणसम्बन्धी मन्त्रहरू छन्। तिनले वैदिक कालमा गर्भ, प्रसूति, नवजात शिशुस्याहार स्त्रीरोग तथा यौनसम्बन्धी स्वास्थ्यसमस्याको निवारणसम्बन्धी प्रार्थना छ। दसौँ मण्डलकै विभिन्न ऋचामा अग्नि र अश्विनीकुमारहरूले मानवरोगहरूको निवारण गर्ने कुरा उल्लेख छ। यसले ऋग्वेद कालमा प्रसूति र सुत्केरीसम्बन्धी विषयलाई स्वाभाविक रूपमा लिएको देखाउँछ।  यजुर्वेद संयमले मात्र पतिपत्नीको प्रेमपूर्ण सम्बन्ध स्थापित हुन्छ भनेर नरनारी दुवैलाई समान संयमताको निर्देश गरेको छ। रजलाई रात र चन्द्रमासँग सम्बन्धित गराउँदै नारीलाई प्रेममय र धर्मानुकूल आचारण गरेर बलवान् पुरुषसँग संयुक्त हुन निर्देश गरेको छ।

यजुर्वेदकै काण्वी शाखाको बाजसनेयि ब्राह्मणअन्तर्गतको बृहदारण्यक उपनिषद्मा सन्तानोत्पादन प्रक्रियाको विशद् व्याख्या छ। सो उपनिषद्को चतुर्थ ब्राह्मणलाई सन्तानोत्पत्ति–विज्ञान भनेरै चिनिन्छ। ब्राह्मणको थालनीमा सद्गुणयुक्त सन्तान उत्पन्न गर्ने, जथाभावी नगर्ने र संयमयुक्त जीवन निर्माणको जुक्ति बताउनका लागि ब्राह्मण आरम्भ भएको उल्लेख छ। पुरुषको यौनस्वेच्छाचारिताको निरोधका लागि गरेको भन्दै पुरुषले शुक्रको क्षय हुन नदिई पत्नीको ऋतुकालको प्रतीक्षा गर्नुपर्ने विधान दिएको छ। आवश्यकताअनुसार गर्भनिरोध गर्नुपरेमा “इन्द्रियेण ते रेतसा रेत आददे” मन्त्र जप गर्न निर्देश गरेको छ।

चतुर्थ ब्राह्मण भन्छः रजस्वला भएकी पत्नीका प्रारम्भिक तीन रात ब्रह्मरात हुने हुनाले तीन दिनसम्म पत्नीलाई पतिले स्पर्श गर्नु हुँदैन। ऋतुकालमा पत्नीलाई दूध–चामल, तिल–चामलको खिर, घिउसहितको दालचामलको खिचडी बनाएर खुवाउनुपर्ने र अझ हिमालयमा पाइने ऋषभ नामको बलबर्धक औषधि ख्वाउनुपर्छ। त्यसउप्रान्तका ऋतुकालका उपयुक्त दिनमा दुवैको सुखद सम्भोगबाट गर्भधारण गर्नुगराउनुपर्छ। सुखपूर्वक प्रसव भएपछि सुत्केरी र जातकलाई आगोका ताप्ने गरी (अग्निस्थापना गरेर) राख्नुपर्छ र बाबुले दही, मह र घिउ मिलाएर जातकलाई चटाउनुपर्छ। जातकको नामकरण गराएर आमाबाट पोषक दूध प्राप्त होस् हे सरस्वती भनेर प्रार्थना गर्नुपर्छ।

गरुड पुराणको पहिलो खण्डको पञ्चानब्बेयौँ अध्यायमा यज्ञवल्क्यले निर्देश गरेको गृहस्थ आचरणमा पतिपत्नीको सम्बन्धको चर्चा छ। त्यसको उन्नाइसौँ श्लोकमा स्त्रीहरूलाई सोम र अग्निबाट पवित्रता प्राप्त भएकाले ती सदासर्वदा चोखा हुन्छन् भनिएको छ। त्यसपछिका श्लोकहरूमा पत्नीले मदिरा पिए वा झगडालू भएबाहेक पत्नीलाई त्याग्न पतिलाई निषेध गरिएको छ। लोग्नेस्वास्नीको झगडा नभएमा मात्र धर्म, अर्थ र मोक्ष सम्भव हुन्छ भनिएको छ। १६ रात स्त्रीको रतिसमय हो जुन सहवासका लागि उपयुक्त हुन्छ। पर्वकाल र रजस्वलाका चार दिनबाहेक अन्य दिनमा मात्र पतिले पत्नीसँग सहवास गर्न सक्ने विधान निर्देश रहेको पाइन्छ।

गरुड पुराणकै दोस्रो प्रेतकल्पको बाइसौँ अध्यायमा पनि उल्लिखित ऋतुकालका चार दिनलाई संसर्गका लागि अग्राह्य मानिएको सात दिनसम्म सहबास तथा देव तथा पितृकार्य पतिपत्नी दुवैबाट सम्पन्न गर्न नहुने निर्देश गरिएको छ। देहनिर्णय नामको यो अध्यायका सातौँ, आठौँ, नवौँ र दशौँ श्लोकले इन्द्रलाई लागेको ब्रह्महत्याको पाप चौथो अंश ऋतुकालका चार दिनमा नारीमा रहेकाले चाण्डाल्नी, ब्रह्मघातिनी र धोबिनी हुने हुनाले ती अस्पश्र्य हुन्छन् भनेर मिथक जोडेको छ।

रजदर्शन (पहिलो रजस्वला) भएपछि बालिकाबाट कन्या भनिने कुरा परासरस्मृतिमा छ। परासरस्मृतिले स्त्रीलाई अलग्गै राख्न नहुने, गोठमा राख्न नहुने र घरबाट टाढा राख्न हुँदैन पनि भनेको छ। यता मानव न्यायशास्त्रका रूपमा परिचित न्यायविकासिनीमा कन्यालाई आफू ऋतुमति भएको जानकारी बाबुआमा र दाजुभाइलाई गराउनु र विवाह गर्ने चाहना भए मेरो विवाह गरिदेओ भन्नू भन्ने निर्देश रहेको भेटिन्छ।

गरुड पुराणको प्रेतकल्पबाहेक सबै जसो प्राधिकार–ग्रन्थहरूले छुई र छाउ अर्थात् रजस्वला र प्रसूतिमा महिलालाई उपेक्षा गर्ने, अपवित्र मान्ने वा स्पर्श नै गर्नु नहुने भनेको पाइँदैन। बृहदारण्यक उपनिषद्को चौथो ब्राह्मणले त स्पष्टै रूपमा महिला अस्पश्र्य हुने नभएर पतिले ऋतुकालकी पत्नीप्रति आशक्त हुन सक्ने कुराबाट जोगाउनुपर्ने निर्देश गरेको देखिन्छ भने  रजस्वला र प्रसूति दुवै अवस्थामा पतिले पत्नीलाई राम्ररी स्याहार गर्नुपर्ने निर्देश गरेको देखिन्छ । परासरस्मृतिले गोठ वा टाढा राख्ने कुरा निषेध गरेको देखिन्छ। यस अवस्थामा रजस्वला र प्रसूतिका अवस्थामा छुई र छाउको नाममा नारीमाथि गरिँदै आएको सघन अन्याय गराउने सामाजिक प्राधिकार को हो ? हाम्रा पण्डित वा पुरोहितहरू हुन् ? वा अरू नै कोहीले यो छोई र छाउको त्रासदीलाई निरन्तरता दिन सबल आड दिइरहेको छ ? छुई र छाउका नाममा नारीहरूउपर भइरहेका ज्यादती हाम्रा सांस्कारिक वा सांस्कृतिक प्रथाका उपजको निरन्तरता हुन् वा अन्ध र अपरिवर्तित अभ्यासका रूपमा निरन्तरता पाइरहेका रूढि ?








यसमा तपाईको मत

अन्य समाचार

नेपाली उपभोक्तामा युरोपेली ब्रान्डको प्रभाव (अन्तर्वार्ता)

नेपाली उपभोक्तामा युरोपेली ब्रान्डको प्रभाव (अन्तर्वार्ता)

लामो समयदेखि कपडा व्यवसायमा संलग्न रुपेश पाण्डेले पछिल्लो समय ब्रान्डेड कपडा ल्याएर बिक्री गर्दै आएका छन् । ...

भन्सार छलीको चिनी नियन्त्रणमा

भन्सार छलीको चिनी नियन्त्रणमा

भारतबाट भन्सार छली चोरी पैठारी गरी नेपाल ल्याएको करिब डेढ लाखको चिनी प्रहरीले बरामद गरेको छ । ...

दुई नयाँ बिमालेख जारी गर्दै राष्ट्रिय बिमा कम्पनी

दुई नयाँ बिमालेख जारी गर्दै राष्ट्रिय बिमा कम्पनी

राष्ट्रिय बिमा कम्पनीले थप नयाँ दुई बिमालेख बजारमा ल्याउने भएको छ । ...

महालक्ष्मी विकास बैंकको १८ प्रतिशत लाभांश

महालक्ष्मी विकास बैंकको १८ प्रतिशत लाभांश

महालक्ष्मी विकास बैंकले लगानीकर्तालाई १७.८९ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । ...

ललितपुर फाइनान्सको कामु सिइओमा खड्का

ललितपुर फाइनान्सको कामु सिइओमा खड्का

ललितपुर फाइनान्सको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा चन्द्रशेखर खड्का नियुक्त भएका छन् । ...

ओपो रेनोटू एफ आश्विन २९ गते नेपालमा सार्वजनिक गरिने

ओपो रेनोटू एफ आश्विन २९ गते नेपालमा सार्वजनिक गरिने

ओपोले आफ्नो रेनो सिरिज अन्तर्गतको रेनोटू एफ नेपाली बजारमा सार्वजनिक गर्ने मिति घोषणा गरेको छ। ...

माइक्रोसफ्टको अभिनव फोल्डिंग स्मार्टफोन

माइक्रोसफ्टको अभिनव फोल्डिंग स्मार्टफोन

माइक्रोसफ्ट सरफेस डुवो र माइक्रोसफ्ट सरफेस नियो सार्वजनिक गरेर प्रविधिको जगतलाई आश्चर्य चकित पारेको छ ...

एप्पलले सोचेभन्दा धेरै आइफोन ११ को माग

एप्पलले सोचेभन्दा धेरै आइफोन ११ को माग

एप्पलको नयाँ आइफोन - आइफोन ११ को माग निकै उच्च रहेको छ ! ...

Ncell Footer Ad