coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
विचार

चीनको ‘सफ्ट’ उदय

डम्बरबहादुर सुनार  
४० वर्ष पहिले ८८ प्रतिशत चीनको जनसंख्या दिनको २.७० डलरले बाँच्थ्यो भने सन् २०१३ सम्म आउँदै गर्दा यो आँकडा १.९५ मा झर्दै सन् २०१८ मा पुग्दा यो तथ्यांक झरेर १५ भन्दा तल पुग्यो। चीनको अप्रत्याशित र चामत्कारिक विकासको नमुनाले अहिले विश्व जगत् आश्चर्यचकित मात्र भएको छैन, चीनसँग डाहालु पनि। सन् २०१० मा जापानलाई पछि पार्दै चीन अमेरिकापछि दोस्रो महाशक्ति राष्ट्र भएर आएसँगै चीन निरन्तर आफ्नो विकासको यात्रामा विनाहिच्किचाहट अगाडि लम्किरहेको छ। २०१८ को अर्थतन्त्रको आकार हेर्ने हो भने अमेरिकाको नोमिनल जिडिपी १९.३९ ट्रिलियन अमेरिकी डलर थियो भने पावर पर्चेजिङ प्यारेटी (पिपिपी) को आधारमा अमेरिकाको जिडिपी (१९.३ अमेरिकी डलर) चीनको (२३.१५ अमेरिकी डलर) भन्दा कम थियो (बाजपई, २०१०)।

दयनीय अवस्थाबाट गुज्रिरहेको चीनले समृद्धशाली चीनमा परिणत हुने संकल्प डिसेम्बर १८, १९७८ मा कम्युनिस्ट पार्टीको तेस्रो प्लेनम बैठकबाट निर्णय लिएको थियो। देङ सिआवो पङले आर्किटेक्चरिङ गर्नु भएको सुधारोन्मुख अर्थतन्त्रको नमुनाले, ओपनिङ अप, चीनलाई वर्तमान अवस्थाको उदीयमान शक्तिशाली चीनमा रूपान्तरण गर्नुमा डिपार्चर विन्दु मानिन्छ। “चीन सुतिरहेको दैत्य हो, उसलाई सुत्न दिनुस् जब ऊ बिउँझिन्छ तब उसले विश्व हल्लाउनेछ”,  महान् शासक नेपोलियन बोनापार्टले चीनबारे भन्नुभएको यो कथन छोटो समयावधिमा चीनले गरेको उल्लेखनीय विकाससँग मेल खान गएको छ।

२० औँ शताब्दीको दोस्रो छमाहीबाट नवउदारवाद सिद्धान्तले एउटा अप्रत्याशित फड्को मारिरहेका बेला अमेरिकी राजनीतिकशास्त्री एवं परराष्ट्र नीतिविद् जोसेफ नाईले उनको कृति “बाउन्ड टु लिड: द चेन्जिङ नेचर अफ अमेरिकन पावर”मार्फत “सफ्ट पावर”को अवधारणालाई १९९० मा अन्तर्राष्ट्रिय राजनीतिको संकथनमा विधिवत् रूपमा प्रवेश गराए। त्यसो त उनले यो शब्द १९८० को दशकमै प्रचलनमा ल्याएका थिए। यो अवधारणाले अन्तर्राष्ट्रिय राजनीतिक वृत्तमा महत्व ग्रहण गरिरहेको बेला चीनले अवलम्बन गरेको सफ्टपावर नीतिको बहस चुलिन प्रारम्भ भएको देखिन्छ। सफ्टपावर अर्थात् नरम शक्ति भन्नाले एउटा यस्तो नीति हो कुनै एउटा राष्ट्रले सैन्य शक्ति, आर्थिक प्रलोभन या धम्कीको प्रयोग नभई विश्वास या आकर्षणमार्फत कुनै अर्को राष्ट्रलाई आफूले भनेको कुरालाई शिरोधार्य गर्न राजी बनाउनु हो।

चीनले गरेको आर्थिक प्रगति यसैको, सफ्टपावर, उपज हो। उसले निरन्तर विकासशील राष्ट्रहरूलाई केन्द्रविन्दु राख्दै सांस्कृतिक, कूटनीतिक, राजनीतिक, शिक्षा, व्यापारमार्फत प्रभावमा पार्ने नीति अवलम्बन गरिरहेको छ। १७८ भन्दा बढी राष्ट्रहरूमा ५०० भन्दा धेरै कन्फ्युसियस इन्स्टिच्युटहरू खुलेका छन् जसको प्रधान उद्देश्य चीनको भाषा, सीप र संस्कृतिलाई प्रर्वद्धन गर्नु हो। अमेरिका, युके, अस्ट्रेलिया, क्यानडापछि विद्यार्थीहरूका लागि अहिले चीन शैक्षिक अध्ययनको केन्द्र बनेको छ। सन् १९९५ मा चीनमा अध्ययन गर्ने विदेशी विद्यार्थीको संख्या ३७ हजार रहेकामा सन् २०१७ सम्म आइपुग्दा यो संख्या ४ चाल ९० हजार पुगेको छ। चीनले व्यापारमार्फत विश्वका ९० प्रतिशतभन्दा बढी भूभागमा आफ्नो सम्बन्ध विस्तार गरेको छ भने सन् २०१३ मा चीनका राष्ट्रपति सी जिनपिङले घोषणा गरेको २१ औँ शताब्दीको महत्वाकांक्षी आयोजना, बिआरआईमार्फत विश्वका सत्तरी देशहरूलाई जोडिसकेको छ। चीनले अफ्रिकी मुलुक, ल्याटिन अमेरिकी मुलुक, युरोप र मध्य एसियाका मुलुकहरूमा आफ्नो प्रभाव बलियो पारेको छ भने अन्य महादेशमा पनि सुमधुर सम्बन्धसहितको विकासको अवधारणालाई देखाउँदै शनैःशनै आफ्नो यात्रामा अविचलित तवरले लम्किरहेको छ।

सेप्टेम्बर १५, २००५ मा अमेरिकाको न्युयोर्कमा आयोजना भएको युएन समिटमा चीनका तत्कालीन राष्ट्रपति हु जिन तावले हार्मोनियस वल्र्डको लेक्सिकनलाई आकर्षक रूपमा प्रकाशमा ल्याएका थिए। यो अवधारणा उनको घरेलु नीतिको विस्तारित बाह्य नीति थियो। चीनको ५ हजार वर्षको गर्विलो इतिहास र संस्कृतिले के देखाउँछ भने सद्भाव भन्ने शब्द २१आँै शताब्दीको आधुनिक युगमा भन्दा पनि दार्शनिक परम्परामा आधारित रहेको पाइन्छ। हजारौँ वर्ष पहिले चिनियाँ विद्वान्हरूले हि भन्ने शब्दको उत्पत्ति गरेका थिए जसको अर्थ सद्भाव र शान्ति हुन्छ। त्यसै गरी चीनका महान् दार्शनिक कन्फ्युसियस ले “विश्व जगत् मतभेद र अन्तर्विरोधले भरिभराउ छ, जुन व्यवस्थालाई न्यायपूर्ण व्यक्तिले मात्र सही निकास दिँदै सद्भावना स्थापित गराउन सक्छ भनेर व्याख्या गरेका थिए। “सद्भावको अवधारणा चिनियाँ संस्कृतिको महत्वपूर्ण अंग हो जसले मानिबीचको एकता र संवेदनशीलतालाई जोड्छ” भन्दै बेइजिङस्थित रेन्मिन विश्वविद्यालयका प्रोफेसर चाङ लिवेनले थप प्रस्ट पारेका छन्। सद्भावले विभिन्न तत्वहरू बीच समन्वय, संयोजन, एकीकरण र शान्तिको अर्थ राख्छ। यो चिनियाँ जनताको नैतिक सिद्धान्त र चीनको आधुनिक कूटनीतिको आधारभूत तत्वको प्रतिविम्ब हो भनेर चीनका कूटनीतिज्ञहरूले भन्ने गरेका छन्।

चीनले सफ्टपावर नीतिलाई थप मजबुत पार्ने सन्दर्भमा बहुपक्षीय अवधारणालाई केन्द्रविन्दुमा राखेको छ त्यसैले चीनले सन् २००१ पछि विभिन्न अन्तर्राष्ट्रिय तथा क्षेत्रीय संगठन र फोरममा आफ्नो उपस्थिति महत्वका साथ जनाउँदै आइरहेको छ। अक्टोबर २५, १९७१ मा चीनले युएनको सदस्य राष्ट्रको हैसियत प्राप्त गरेको थियो। एक दशकसम्म चीनले शान्ति सुरक्षा मिसनको विपक्षमा आफूलाई उभ्याए पनि सन् १९८२ देखि उसले उक्त क्षेत्रमा उल्लेखनीय योगदान गर्दै आइरहेको छ फलस्वरूप २०१६ सम्मको यात्रा तय गर्दा चीनले जापानलाई पछि पार्दै शान्ति सुरक्षा आर्थिक बजेटमा १० प्रतिशत हिस्साको स्वामित्व ग्रहण गर्दै अमेरिकापछि दोस्रो ठूलो राष्ट्र भएको छ। यसको अर्थ चीन अन्तर्राष्ट्रिय फोरमहरूमार्फत आफ्नो ग्लोबल इमेजलाई थप मजबुत बनाउँदै विकासशील राष्ट्रहरूको विश्वास जित्न चाहन्छ भन्ने कुरा प्रस्ट बुझ्न सकिन्छ।

चीनले सन् २००१ मा विश्व व्यापार संगठनको सदस्यता ग्रहण गरेपश्चात् चिनियाँ कम्युनिस्ट पार्टीको १६आँै राष्ट्रिय भेलाले सन् २००२ मा बहुपक्षीय अवधारणालाई कूटनीतिक गाइडभित्र समावेश गर्दै आगामी दिनमा चीनले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चहरूमा रचनात्मक भूमिका खेल्ने र समन्वय गर्ने भन्यो।  फलस्वरूप जापान र चीनको बिग्रेको सम्बन्धलाई सुमुधुर सम्बन्धमा रूपान्तरणको कडीस्वरूप सन् २००७ मा चीनका बेन जियाबाउले जापानको भ्रमण गरे र दुवै पक्ष सामरिक र पारस्परिक सम्बन्ध विकास गर्न सहमत भए। संयुक्त राज्य अमेरिकासँग चीनको सम्बन्ध रचनात्मक सहकार्य सदस्यका रूपमा अपग्रेड गरिएको थियो। त्यसपश्चात् चीनले आफ्नो आर्थिक गतिविधि र व्यापारलाई आक्रामक रूपमा वृद्धि गर्दै विश्वका प्रमुख देशहरूसँग व्यापार साझेदारीमा उल्लेखनीय उपलब्धि हासिल गर्दै गइरहेको छ। विश्व परिवेशको बदलिँदो आयाम र भूमण्डलीकरणलाई मध्यनजर गर्दै चीनले सुरक्षा र व्यापारलाई आफ्नो कूटनीतिक आकृतिमा महत्वका साथ समावेश गर्‍यो फलस्वरूप आज चीन विश्व राजनीतिमा आफूलाई शक्तिशाली राष्ट्रको सूचीमा राख्न सफल भएको छ।

कुनै पनि राष्ट्र आधुनिक सेना र सम्पन्न भएर मात्र सफल हुने भन्ने कुरा होइन, सफल त्यो पनि हुन्छ, जसको कथा पनि सम्पन्न हुन्छ। सूचना र प्रविधिको युगमा सैन्य शक्ति (हार्डपावर) माथि कथा (सफ्टपावर) हाबी हुन्छ तर कुनै पनि मुलुकले दुवै शक्तिको समिश्रणसहित अबको डिजिटल समयमा स्मार्टपावरको अवधारणालाई अवलम्बन गर्नुपर्ने बेला आएको छ भनेर जोसेफ नाईले भनेका छन्। चीनले सफ्टपावरमार्फत अहिले विश्वमा आफ्नो कथाले जितको यात्रा द्रुतगतिमा बढाइरहेको छ। अर्कोतर्फ विश्वको सर्वशक्तिमान राष्ट्र अमेरिका भने हार्डपावरमार्फत संसारको शक्तिशाली राष्ट्र भनेर कहलिएको छ त्यसैले अमेरिका अहिले विभिन्न मुद्दाको वा विषयको समाधान युद्धबाट खोज्ने गर्छ। (अन्तर्राष्ट्रिय सम्बन्धमा विद्यावारिधिका विद्यार्थी)

 

प्रकाशित: १५ माघ २०७५ ०२:१६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App