coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

परिवार नियोजनको साधन बन्दै गर्भपतन

प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौर ।

रोल्पा– यो आर्थिक बर्षमा करिब १० हजार बिरामीलाई स्वास्थ्य सेवा दिइसकेको पूर्वी रोल्पाको एक मात्र प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौर यतिबेला सकसमा छ। पर्याप्त कोठा र आवश्यक जनशक्ति नहुँदा सेवा प्रवाहमा समस्या भएको स्वास्थ्यकर्मी बताउँछन्। त्यसो त गाउँ गाउँमा रहेका निजी अस्पताल र मेडिकलहरुले जथाभाबी एन्टिबायोटिक प्रयोग गराउने गरेका कारण उपचारमा कठिनाई थपिएको हो। कतिपय बिरामी त रोग बिग्रिएपछि मात्र सरकारी स्वास्थ्य संस्थामा आउने गरेका छन्। 

‘एक दिनको ज्वरोलाई पनि कडा किसिमको एन्टिबायोटिक दिन्छन। ल्याब टेष्ट गराएका हुन्छन तर गर्नुपर्ने भन्दा गर्नै नपर्ने जाँच गरिएको हुन्छ’, प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौरका प्रमुख डा. प्रकृति भट्टराई बताउँछिन, ‘अर्कोतिर गर्भपतन गराउनेको पनि समस्या छ। मेडिकल र निजी अस्पतालले जबरजस्त औषधि खुवाउने गर्छन, जसको परिणाम महिलाहरु रगत बगाउँदै हामी कहाँ आउँछन्। अचेल यतातिर गर्भपतनलाई त परिवार नियोजनको साधन जस्तो बनाउन थालिएको छ।’

सरकारी स्वास्थ्य संस्थामा निःशुल्क पाइने गर्भपतन सेवा निजी अस्पताल र मेडिकलले महंगो शुल्कमा गरिरहेका छन्। ‘जति हप्ताको बच्चा छ, त्यो हेरेर पैसा लिन्छन भन्ने सुनिएको छ। दश हप्ताको भए १० हजार अनि बाह्र हप्ताको भए १२ हजार लिने गर्दछन्’, डा. भट्टराई भन्छिन्, ‘कुनै पनि आवश्यक जाँच बिना औषधि खाएकाहरु र जबरजस्त क्युरेट गराएकाहरु राति राति रगत बगाउँदै हामी कहाँ आउँछन्। यसलाई नियमन गर्न कहीँकतैबाट चासो भएको पनि देखिदैन।’

यस्तो समस्या सुलिचौरमा मात्र नभएर जिल्ला अस्पतालमा पनि रहेको छ। ‘गर्भपतनको जथाभावी प्रयोग गर्नेहरुको संख्या ठूलो छ। औषधि खाएर रगत बगाउँदै अस्पताल आउनेहरु प्रशस्तै भेटिन्छन्।’ जिल्ला अस्पताल रोल्पाका डा. अनिल केसी भन्छन्, ‘बेथिति नियमन गर्ने निकायले आफ्नो भूमिका निभाएको जस्तो देखिदैन।’

सुधारमा स्थानीय सरकारको वेवास्ता

आफ्नो गाउँठाउँमा जथाभावी खुलेका निजी स्वास्थ्य संस्थाको अनुगमन वा नियमनमा मौन रहेको स्थानीय तहले सरकारी स्वास्थ्य संस्था सुधारमा कुनै चासो समेत दिएको छैन्। प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौर छेउँमै गाउँपालिकाको कार्यालय छ तर उसले स्वास्थ्य सम्बन्धी कार्यक्रम बनाउँदा त्यहाँ कार्यरत डाक्टरलाई समेत बोलाएन। डा. भट्टराई भन्छिन् ‘खोई गाउँपालिकाले के के कार्यक्रम बनाउँछ हामीलाई थाहै हुँदैन। मागेको औषधि खरिद नगरेर हामीले माग नै नगरेको औषधि पठाएको छ। हाम्रो आवश्यकता त हामीलाई थाहा हुन्छ नि।’ 

साबिकका २२ गाविसको सेन्टर पर्ने यो स्वास्थ्य संस्थामा अहिले पनि ३ शय्या मात्र छ। ‘पटक पटक गाउँपालिकामा बेड माग ग¥यो तर दिएको छैन्। बिरामी धेरै हुँदा चिसो भुइँमा सुताएर उपचार गर्नुपर्छ। डेलिबरी बेड पनि गतिलो छैन। यति धेरै बिरामी आउने संस्थामा कम्तीमा १० वटा बेड राख्न पाए सजिलो हुन्थ्यो’, डा. भट्टराईले गुनासो गरिन, ‘हामीसँग भएको रकमले ४ जना स्टाफलाई तलब खुवाउन र अन्य व्यवस्थापनमै पुग्दैन। संस्थामा कसैको आँखा नपरेपछि काम गर्नै कठिन छ।’ आफ्नै फार्मेसी सञ्चालन गर्न तयारी गरेको प्राथमिक स्वास्थ्य केन्द्रले कोठा अभावमा प्रक्रिया रोकेको छ। भौतिक हिसाबले साँघुरो यहाँ औषधि समेत पर्याप्त छैन्। 

गाउँपालिकाले भने बजेट अभाबमा स्वास्थ्यमा सोचे जस्तो काम गर्न नसकिएको बताएको छ। ‘यसपालि १० लाख बजेट छुट्याइएको छ। सुत्केरीका लागि कुरुवा घर बन्दै छ। दिने मन छ बजेट नै कम छ’, सुनिल स्मृती गाउँपालिकाका अध्यक्ष गुणेन्द्र घर्तीले बताए, ‘गर्भपतनका सवालमा जथाभावी काम रोक्नलाई अनुगमन गर्छाैं। लुकिचोरी गर्नेहरुले त्यसो गरेका हुन। यसलाई जनचेतनाको विकास गरेर मात्र घटाउन सकिन्छ।

प्रकाशित: १४ माघ २०७५ १४:०१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App