८ वैशाख २०८१ शनिबार
अन्य

चढ्यो कि ६ सय

गुल्मी तम्घासका उत्तम बस्नेत आइतबार एयरपोर्ट बाहिर ट्याक्सी खोज्दै थिए। सरकारले पछिल्लो समय निजी सवारी र ट्याक्सी पार्किङलाई केही तल सारेको छ भन्ने उनलाई हेक्का थिएन। ट्रलीमा सामान गुडाउँदै उनी पहिलेकै ट्याक्सी पार्किङस्थल पुगे। तर, त्यहाँ कालो नम्बर प्लेट भएको ट्याक्सी थिएनन्। हरियो नम्बर प्लेट ( बा१य १०१२ नम्बर) का ट्याक्सी चालक उनको नजिक आएर सामानभित्र राख्न खोज्दै बस्न आग्रह गरे। उनी भाउ नसोधी ट्याक्सीभित्र बस्न चाहेनन्। ‘तीनकुनसम्मको भाडा कति ?,’ एक चालकलाई उनले सोधे। ट्याक्सी चालकले उनको ‘लगेज’ समाउँदै डिक्की खोल्दै भने, ‘जम्मा ६ सय।’ ट्याक्सी चालकको भाउ सुनेपछि उनले भने, ‘ह्या त्यत्रो पैसा तिरेर त नजाने।’ त्यसपछि उनी कालो नम्बर प्लेट भएको ट्याक्सी खोज्दै केहीबेर भौंतारिए। ‘अरु देशको एयरपोर्टमा कुनै दुःख र अप्ठेरो हुँदैन, आफ्नो देशको एयरपोर्ट भित्रिएपछि दुःख सुरु हुन्छ,’ उनले सुनाए, ‘विदेशबाट झोला बोकेर आएको देख्यो कि ट्याक्सी चालकले दोब्बर भाडा उठाउँछन्।’ उताउता गर्दैै तल्लो पार्किङमा पुगेपछि मात्रै उनले ट्याक्सी भेटाए।

‘यातायात व्यवस्था विभागले तोकेको भाडादरअनुसार हरियो ट्याक्सीले ६ किमी भन्दा कम गुडेको भाडा ४ सय ५० राखेको छ। तर, व्यवसायीले भने त्यसको बेवास्ता गर्दै आफूखुसी भाडा असुलेका छन्। एयरपोर्ट परिसरबाट बाहिरिनासाथ ६ सय भाडा लिने गरेका हुन्।’


एयरपोर्टमै भेटिएका सुमन चौधरीले पनि हरियो नम्बर प्लेटको ट्याक्सीले भाडा असुलेको अनुभव साटे। उनले हरियो नम्बर प्लेटको ट्याक्सीले झुक्याएर भाडा असुल्ने गरेको बताए। ‘सुरुमा यति भाडा लाग्छ भनेर नभन्ने गुड्न थालेपछि दोब्बर बढाएर भन्ने,’ उनले सुनाए, ‘सातादिन हरियो नम्बर प्लेटको ट्याक्सीले एयरपोर्टबाट गैह्रीगाउँसम्म छाडेको ७ सय असुल्यो।’

हवाई यात्रुहरुको सहजताको लागि एयरपोर्टमा पछिल्लो समय राखिएका हरियो नम्बर प्लेटका ट्याक्सीले हरेक दिन यसैगरी यात्रुलाई ठग्ने गर्छन्। झुक्याएर, भाडादर लुकाएर, मिटर सुचारु नगरेर तथा जानाजान ठग्ने गरेको यात्रुहरुको गुनासो छ। ‘पहिलोको कालो नम्बर प्लेटको ट्याक्सी पार्किङ सरेको बारे विदेशबाट नेपाल फर्कने धेरैलाई थाहा छैन। उनीहरु बाध्य भएरै हरियो नम्बर प्लेटको ट्याक्सी चढ्छन्,’ एयरपोर्टमै भेटिएका सुवास गिरीले भने, ‘हरियो नम्बरको ट्याक्सीले चढ्यो कि ६ सय भाडा असुल्छ।’

सार्वजनिक र निजी सवारी पार्किङले त्रिभुवन विमानस्थल बाहिरपट्टी भीडभाड बढेपछि पर्यटन, संस्कृति तथा नागरिक उड्डयन मन्त्रालयले केही महिनाअघि उक्त पार्किङलाई केही तल सारेको थियो। सो ठाउँलाई हरियो नम्बर प्लेटका पार्किङ र आगन्तुक कुर्ने थलो बनाइएको थियो। तर, सार्वजनिक र निजी सवारी पार्किङ सारेसँगै त्यसको फाइदा हरियो नम्बर प्लेटका ट्याक्सी चालकले उठाइरहेका छन्। ‘एयरपोर्ट प्रिपेड ट्याक्सीको आफ्नै नियम छ, हामीले तोकअनुसार नै भाडा लिएका छौं, विमानस्थलको गेड बाहिर पुर्‍याउनासाथ ६ सय चार्ज लाग्छ,’ बा १ य १०१२ नम्बरका ट्याक्सी चालक उत्तममान लामाले भने।

अहिले हवाई यात्रुहरुको सहजताको लागि भनेर एयरपोर्टमा २ सय ८ वटा हरियो नम्बर प्लेटका ट्याक्सी राखिएका छन्। एयरपोर्ट प्रिपेड ट्याक्सी व्यवसायी संघले त्यसको भाडादर पनि तोकेको छ। संघले तोकेको भाडादर नै वैज्ञानिक छैन। एयरपोर्टको गेट बाहिरीनाथ पाँच सय भाडा तोकिएको छ। उसको भाडादर अनुसार १ किमी गुडेको ४ सय ८० लाग्छ।  त्यसमा पनि चालकले तोकिएभन्दा बढी भाडा असुल्ने गरेका छन्। एयरपोर्ट प्रिपेड ट्याक्सी व्यवसायी संघका कम्पनी सचिव उमाशंकर धितालले तोकिएभन्दा बढी भाडा लिने चालकमाथि कारबाही हुने बताए। उनले सुरुको नियमअनुसार यो वैज्ञानिक नभएको स्वीकारे। ‘यो विषयमा बेला बेलामा विवाद हुने गरेको छ। यसलाई हामीले यातायात व्यवस्था विभाग र ट्याक्सी चालकसँग बसेर मिलाउँछौं,’ उनले भने।

प्रिपेड टयाक्सी (हरिया नम्बर प्लेटका ट्याक्सी) को भाडादर यातायात व्यवस्था विभागले पनि तोकेको छ। विभागले तोकेको भाडादर अनुसार हरियो ट्याक्सीले ६ किमी भन्दा कम गुडेको भाडा ४ सय ५० राखेको छ। तर, व्यवसायीले भने त्यसको बेवास्ता गर्दै आफूखुसी भाडा असुलेका छन्। एयरपोर्ट परिसरबाट बाहिरिनासाथ ६ सय भाडा लिने गरेका हुन्। विभागका प्रवक्ता गोकर्णध्वज उपाध्यायले यसबारेमा विभागले चासो दिने बताए। उनले ट्याक्सीको संख्या बढी भएकाले त्यसलाई वर्गीकरण गरेर व्यवस्थित गर्न खोजेको जानकारी दिए। ‘हामीले तोकेको र उनीहरूले तोकेको भाडा एउटै हुनुपर्छ,’ उनले भने, ‘बाहिर गुड्न नपाउने भएकाले अरु ट्याक्सीको भन्दा हरियो नम्बर प्लेटका ट्याक्सीको भाडादर बढी भएको हो, त्यसलाई हामीले सुधार्छाैं।’ उनले त्यसको भाडा घटाउन विभागले पहल गर्ने बताए।

 

प्रकाशित: १४ माघ २०७५ ०६:३१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App