८ वैशाख २०८१ शनिबार
अन्य

माघे झरीले सालीनदी मेला भर्न सकस

हिँउदे झरीमा बौद्ध जोरपाटीको हिलाम्मे सडक। तस्बिर : नागरिक

माघेझरिले  चावहिल–साँखु सडकखण्ड हिलाम्मे हुँदा सालीनदी स्नान गर्न जाने दशर्नार्थीले सास्ती पाएका छन्। तीनदिनदेखि परेको माघेझरीले चावहिल–साँखु सडक हिलाम्मे हुँदा दर्शनार्थीले सकस भोगेका हुन्। हिलाम्मे र अस्तव्यस्त सडकको कारणले चावहिल–साँखु यात्रा गर्ने यात्रुले दुःख पाएको गुनासो गरेका छन्। सडक विस्तारका नाममा भएको राजनीतिले वर्षेनी हुँदै आएको मर्मत समेत रोकिएपछि यो सडकमा यात्रा गर्ने यात्रु र सवारी साधन चलाउने चालकले समेत सास्ती खप्दै आएका छन्।

‘चावहिल–साँखु सडक यात्रा गर्नु महाभारत जस्तै भएको छ,’ सालीनदी मेला परिसरमा भेट्टिएकी अमृता श्रेष्ठले भनिन्, ‘चावहिलबाट साँखु आइपुग्दा युद्ध जितेजस्तै हुन्छ।’ अहिले चावहिल–साँखु सडक खण्डमा यात्रा गर्दा दुःख नपाएका यात्रु भेट्टाउनै मुस्किल पर्छ। शंखरापुर नगरपालिका मेयर सुवर्ण श्रेष्ठले  चावहिल–साँखु सडक हिलाम्मे भएर बेहाल भएको गुनासो गरे।

‘ठेकेदार कम्पनी र आयोजनाको लापारबाहीले चावहिल–साँखु सडकखण्ड सलम्बु वन एरियामा सवारीसाधन आवातजावत गर्न समेत समस्या भइराखेको छ,’ उनले भने, ‘हिलाम्मे सडककै कारणले सालीनदी मेला नै प्रभावित हुने अवस्था देखेर नगरपालिकाले दुई वटा एक्जाभेटर लगाएर हिलो सफा गर्ने काम गरिराखेका छ।’ उनका अनुसार माघे झरीले चावहिल–साँखु सडकमा सवारीसाधन पल्टने तथा फस्ने समस्या देखिएको छ। मेयर श्रेष्ठका अनुसार माघेझरीमा विशेष गरेर मोटरसाइकल तथा स्कुटर पल्टिएर दर्जनभन्दा धेरै घाइते भएको बताए। ‘हिलाम्मे सडकको कारणले दिनँहु एक सयभन्दा धेरै दुर्घटना हुने गरेका छन्,’ उनले भने, ‘ठेकेदार कम्पनी र काठमाडौं उपत्यका सडक विस्तार आयोजनाको बेवास्ताले काम अघि बढ्न सकेको छैन।’

मेयर श्रेष्ठका अनुसार हिलाम्मे सडकको कारणले सालीनदी स्नान गर्न आउने पर्यटक समेत प्रभावित हुने गरेका छन्। सालीनदीमा श्रीस्वस्थानी व्रतकथाका अवसरमा एक महिना लामो जात्रा मेला लाग्ने गर्छ। पौषशुक्ल पूर्णिमादेखि सुरु भएर एक महिनासम्म चल्ने गर्छ।
चावहिल–साँखु सडकका यात्रुले विगत चार वर्षदेखि हिलाम्मे र धुलाम्मे सडकको सास्ती भोग्दै आइरहेका छन्। लामो समयदेखि सडक निर्माण र मर्मत नहुँदा यो रुटमा चल्ने गाडी ढलपल गर्दै दौडन्छन्। पछिल्लो समय माघेझरीको कारणले चावहिल–साँखु सडक हिलाम्मे भएर हिडँडुल गर्न समेत समस्या भइरहेको छ। हिलाम्मे सडकमा सवारी फस्ने तथा पल्टिने समस्या व्यापक छ।

चावहिल–साँखु सडक विस्तार गरेर चार लेन र दुवैतर्फ फुटपाथ बनाउने कार्य २०७२ मा अघि सारिएको भए पनि हालसम्म सडक विस्तार सम्पन्न हुन सकेको छैन। धमाधम काम भएको भए यतिबेलासम्म सडक विस्तार सम्पन्न भइसक्थ्यो। तर, सरकारी बेवास्ताकै कारण सडक मर्मत समेत हुन सकेको छैन। अहिले सडकको अधिकांश भागमा कालोपत्रे देखिँदैन। खाल्डैखाल्डा भएको सडकमा उडेको धुलोका कारण आसपासका घरहरू धुस्रेफुस्रे भएका छन्। धुलो कम गर्न भन्दै कहिलेकाँही सडकमा हालिने पानीले सडक झन् चिप्लो भएर बाइक लडिरहन्छन्।

काठमाडौं उपत्यका सडक विस्तार आयोजनाका प्रवक्ता विश्वविजयलाल श्रेष्ठले साँघुको जंगल एरियामा दलदले हिलोको कारणले समस्या आएको  स्वीकार्छन्। ‘साँघुका सलम्बु वन एरियाले दलदले हिलोको कारणले सडक अस्तव्यस्त भएको खबर आएको छ,’ उनले भने, ‘उक्त जंगल एरियामा विशेष प्रकारको सबग्रेड तयार पारेर कालोपत्रे गर्ने योजना बनाएका छौं।’  उनका अनुसार ठेकेदार कम्पनीले फागुन महिना लागेसँगै सडक कालोपत्रे गर्ने काम सुरुवात गर्नेछ। ‘अहिले अत्याधिक चिसो भएकाले नै कालोपत्रेको काम अगाडी नबढाएका हौं,’ उनले भने, ‘फागुन महिनादेखी कालोपत्रेको काम सुरु गरेर जेठ महिनासम्म कालोपत्रे सम्पन्न गर्नेछौं।’ आयोजनाले यही जेठ महिनासम्म चावहिल–साँखु सडक र नागढुङगा–कंलकी सडक कालोपत्रे गर्ने योजना बनाएको छ।

 

 

 

प्रकाशित: १४ माघ २०७५ ०६:०४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App