८ वैशाख २०८१ शनिबार
अन्य

भएका शौचालय व्यवस्थित छैन, स्मार्ट शौचालयको सपना !

काठमाडौंमा भएका सार्वजनिक शौचालयहरुको उचित व्यवस्थापन गर्न नसकेको काठमाडौं महानगरपालिकाले ‘स्मार्ट शौचालय’को योजना बुनेको छ। यसका लागि महानगरका उपप्रमुख हरिप्रभा श्रेष्ठ खड्गीको संयोजकत्वमा एउटा  कार्यदल गठन भएको छ।

महानगरले भएकै शौचालयको उचित व्यवस्थापन गर्न नसक्दा वरपरको वातावरणसमेत दुर्गन्धित भएको छ। सुन्धाराको आकाशे पुलमुनि रहेको शौचालय नजिक पुगेपछि ठस्स गन्ध आउँछ। बाटो हिँड्नेहरू त्यहाँ पुगेपछि नाक थुन्दै छिटोछिटो हिँड्छन्। उपत्यकाका सार्वजनिक शौचालयको साझा बिडम्वना हो यो। महिलाहरुलाई त झनै सकस छ। शौचालय सफा नहुँदा शौच गर्न समेत नसकिने कोटेश्वरकी सुनिता पुडासैनी बताउँछिन्। ‘पिसाब फेर्नलाई रत्नपार्कको शौचालयमा माक्स लगाएर छिरेकी थिएँ। दुर्गन्धले झन्डै वान्ता आएन,’ उनले भनिन्, ‘शौच गर्दा पैसा लिन्छन्। तर, सफा गर्नमा ध्यान दिँदैनन्। भएकै शौचालयको यो हाल छ, स्मार्ट शौचालयको कुरा ...।’

उनका अनुसार बजारतिर हिँड्दा शौच गर्नै समस्या हुन्छ। ‘शौचालय जानु परेमा कार्यलय, होटल वा सपिङ पसलमा छिर्नु पर्छ,’ उनले भनिन्। शौचालय जानु परेमा कहाँ जाने भन्ने पीर अधिकांशलाई हुने गरेको उनी बताउँछिन्। अधिकांशलाई सार्वजनिक शौचालय कहाँ छ भन्ने पनि जानकारी नभएको उनी बताउँछिन्। महानगरले २०७३ सालमै १ सय ३० सार्वजनिक शौचालय बनाउने योजना ल्याएको थियो। यसका लागि दुई करोड समेत छुट्याएको थियो। शौचालय निर्माण एक वर्षमै सक्ने महानगरको दाबी थियो। तर, ती सबै योजना कागजमा मात्रै सिमित भए।

हाल महानगरले फेरि स्मार्ट शौचालयको योजना ल्याएको छ। ल्याएका पूराना योजना  पूरा नगरी नयाँ योजना ल्याउने महानगरले योजना अनुरुप काम गर्न नसकिरहेको सन्दर्भमा नयाँ योजना पूरा होला त भन्ने शंका स्वभाविक छ। अभियन्ता गणपतिलाल श्रेष्ठ महानगरले जति योजना ल्याए पनि दिगो योजना ल्याउन नसकेको बताउँछन्। ‘महानगरले दिगो योजना ल्याउन सकिरहेको छैन। आवश्यकता हेरेर स्मार्ट शौचालय बनाउनु राम्रो हो,’ उनले भने, ‘विगत जस्तै नाम मात्रको काम भयो भने चाहिँ दुर्भाग्य हो। आम्दानी र क्षणिक जस पाउनलाई मात्र काम हुनु भएन।’ उनका अनुसार  जे जति योजना ल्याए पनि महानगरबासीको सहजतालाई ध्यानमा राखेर काम हुनु जरुरी छ। योजना ल्याएर मात्रै अरुलाई आश्वासन दिनु हुँदैन।

गत आर्थिक वर्षमा वडा नागरिक मञ्चले उपत्यकाभित्र चार सयभन्दा बढी शौचालय आवश्यक रहेको प्रतिवेदन महानगरलाई दिएइसकेको छ। तर, महानगरका अनुसार अहिले सुन्धारा, रत्नपार्क, घुम्ती शौचालय, बसपार्कलगायतमा जम्मा ३२ वटा सार्वजनिक शौचालय छन्।  तर, ती सबै अहिले सञ्चालनमा छैनन्। प्रविधिको विकाससँगै सहरबासीको आवश्यकतालाई हेरेर स्मार्ट शौचालय बनाउन लागिएको महानगरका प्रवक्ता ईश्वरमान डंगोल बताउँछन्। ‘पहिले पनि शौचालय बनाउने भनेर योजना ल्याएका थियौं तर बन्न सकेन,’ उनले भने,  ‘अहिलेको आवश्यकतालाई लिएर आधुनिक किसिमका ट्वाइलेट बनाउँछौं।

प्रविधियुक्त सेवा सुविधा सम्पन्न हुने खालको शौचालय बन्छ।’ उनका अनुसार सार्वजनिक शौचालय सफा गरिँदै आएको छ। तर, उपत्यकाको बढ्दो जनसंख्याले गर्दा फोहोर हुने गरेको छ। पहिलेको बजेट र योजनालाई नै समेटेर स्मार्ट शौचालय निर्माण गरिनेछ। ‘स्मार्ट ट्वाइलेट जुनसुकै अवस्थामा निर्माण हुन्छ। कहाँ र कसरी बनाउने भनेर अध्ययन हुँदैछ,’ उनले भने। समयको परिवर्तनसँगै ल्याएका योजनाहरुमा बजेटको सदुपयोग गर्दे जाने उनको भनाइ छ।

प्रकाशित: १४ माघ २०७५ ०६:१० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App