६ वैशाख २०८१ बिहीबार
अर्थ

वर्षातले करोडौंको इँटा नष्ट

वर्षातले बिग्रेको काँचो इँटा। तस्बिर  : महमद/नागरिक

भैरहवा – रुपन्देहीमा बुधबार र शुक्रबार परेको पानीका कारण लाखौं काँचो इँटा नष्ट भएका छन्। लुम्बिनी इँटा उद्योग व्यवसायी संघ रुपन्देहीका अनुसार पानीले जिल्लाका अधिकांश उद्योगका काँचो इँटा नष्ट भएका छन्।
संघका अध्यक्ष थानेश्वर घिमिरेका अनुसार दुई दिनको पानीले रुपन्देहीका ५० वटा उद्योगका करिब पाँच करोड इँटा नष्ट भएका छन्। अधिकांश उद्योगले यही हप्ता इँटा पोल्ने तयारी गरे पनि अचानक आएको पानीले अहिले इँटा उत्पादनदेखि इँटा पोल्ने कामसमेत प्रभावित भएको उनले बताए।
वर्षभरिको लगानीको मुखैमा आएर पानी पर्दा उद्योगीलाई २० करोड रुपैयाँभन्दा बढीको नोक्सानी भएको संघको प्रारम्भिक अनुमान छ। इँटा उद्योगले उत्पादन गर्ने काँचो इँटाको बिमा व्यवस्था नहुँदा हरेक वर्ष हिउँदमा हुने अनियमित वर्षाले करोडौं रुपैयाँबराबरको क्षति पु¥याउने गरेको उद्योगीको भनाइ छ।
नयाँ इँटा उत्पादनको सिजन सुरु भएको समयमा पानी परेपछि आफूहरु मर्कामा परेको संघका महासचिव अजयकुमार गुप्ताले बताए। खुला आकासमुनिको व्यवसायमा लाखौं लगानी गरेर सञ्चालन भएका इँटा प्राकृतिक विपत्तिका कारण उद्योगी आर्थिक संकटमा परेकोे संघका सदस्य गोविन्द ज्ञवालीले बताए। 
सरकारले सबै क्षेत्रमा बैंकिङ प्रणालीबाट बिमाको व्यवस्था जसरी गरेको छ त्यसरी नै इँटा उद्योगमा पनि बैंकले लगानी गरेकाले इँटा उद्योगको बिमाका लागि कार्यविधि बनाइ कार्यान्वयन गर्न माग गरे।
अहिले रुपन्देहीमा अब्बल इँटा १३ रुपैयाँका दरले कारोबार भइरहेको छ। वर्षाका कारण इँटा व्यवसायी समस्यामा परेका कारण यसको वैकल्पिक व्यवस्थाको खोजी गर्नुपर्ने देखिएको छ। नेपाल इँटामा आत्मनिर्भर भए पनि रूपन्देहीमा उत्पादन हुने इँटा छिमेकी जिल्लासहित स्याङ्जा, पाल्पा, काठमाडौंसम्म जाने गरेको छ।


 

प्रकाशित: १४ माघ २०७५ ०५:१८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App