यस कारणले भयो मलको हाहाकार

सोमबार, १४ माघ २०७५, १० : ५२ रितेश त्रिपाठी

वीरगन्ज – धानपछिको नेपालको दोस्रो प्रमुख बाली गहुँको स्याहारमा किसान व्यस्त भएसँगै रासायनिक मल नपाएर चिन्तित पनि बनेका छन्। टुसा उम्रेको १५ दिनभित्र गर्नुपर्ने पहिलो चरणको सिँचाइ करिब सकिएको छ। लगत्तै बालीमा नाइट्रोजन लगायत पोषणका लागि आवश्यक पर्ने युरिया रासायनिक मल भने कृषि सामग्री कम्पनीमा छैन। ‘कम्तिमा कट्ठामा तीन किलो हाल्नु पर्ने हुन्छ, खेतअनुसार साढे चार किलोसम्म पनि हाल्छन्,’ पर्सा सिबर्वाका किसान बुनिनारायण कुर्मीले भने, ‘मल नपाएर हाहाकार छ।’

यस्तो अवस्था देशैभरी देखिएको छ। गत आर्थिक वर्ष ०७४/७५ मा कृषि सामग्री कम्पनीले आठवटा खरिद टेन्डर गरेको थियो। ग्लोबल टेन्डरबाट अह्वान गरी खरिद गरिएको मल सम्झौताको एक सय १७ दिन (तीन महिना) भित्र आइपुग्नु पर्ने हो। आव सकिएको अर्को ६ महिना बितिसक्दा पनि उतिबेला खरिद गरिएको मल अहिलेसम्म पुगेको छैन। कृषि सामग्री कम्पनीले खरिद गरेको मलको कुनै पनि ‘कन्साइन्मेन्ट’ (खेप) तोकिएको समयभित्र आइपुगेको देखिँदैन। ‘सिपर’ (आपूर्तिकर्ता कम्पनी)लाई आयातकर्ता कृषि सामग्री कम्पनीले ‘सिपमेन्ट’ (पठाउने) वा डिलेभरी (सामान आइपुग्ने) समयमा ६ महिनासम्मको म्याद थप गरेको देखिन्छ। यही कारण अहिले चाहिएको बेला मल आइनपुगेको हो। यता किसान मल नपाएर छटपटिएका छन्।

‘हो, अहिले मलको अभाव छ। यो सधैं नै रहिरहन्छ। नेपालमा मागअनुसार मल खरिदका लागि सरकारले कहिले पनि पर्याप्त बजेट दिएको छैन,’ कृषि सामग्री कम्पनीको खरिद प्रमुखसमेत रहेका सूचना अधिकारी विष्णु पोखरेलले भने, ‘खरिद गरिएको मल समयमा नआउनुका पनि कारण छन्, जहाजमा मल आउने गरेको छ, त्यसमा स्वभाविक रुपमा मौसमको बिचार गर्नुपर्ने हुन्छ। भारतीय बन्दरगाहमा आइसकेको मल ल्याउनका लागि बेलैमा कहिले पनि रेल पाएको छैन। यी यस्तै विभिन्न कारण छन्.।’ 

गत वर्ष गुणस्तर कमसल र ५० किलोको बोराभित्र तौलमा कम मल पठाएर चर्चामा आएको कम्पनी इन्डियन पोटास लिमिटेड (आइपिएल)लाई यसपालि मल आपूर्तिमा कृषि सामग्री कम्पनीले ६ महिना म्याद थप गरेर दिएको छ। ‘उसबाट कम मूल्यमा मलको सौदा तय भएकाले म्याद थप गरेर भए पनि मल मगाउने निर्णय गरियो,’ पोखरेलले भने, ‘टेन्डर खारेज गर्दा एक सय १० डलर प्रतिटनको मूल्य अन्तरमा फेरि अर्को टेन्डर गर्नुपर्ने हुन्थ्यो।’ यस बाहेक अन्यथा कुनै उदेश्य नरहेको उनको भनाइ छ। 

विलम्बको अर्थलाभ

मल आइपुग्न विलम्ब हुनुका पछाडि आर्थिक लाभ–हानीको खेल छ। उत्पादनको अनुपात र बजारको मागअनुसार अन्तर्राष्ट्रिय बजारमा रासायनिक मलको मूल्य घटबढ भइरहन्छ। एक वर्षभित्र साढे दुई सय डलर प्रतिटनदेखि चार सय ४० डलर प्रतिटनसम्म रासायनिक मलको मूल्य घटबढ भएको रेकर्ड छ। मूल्य उच्च रहेका बेला स्वीकृत टेन्डरमा मूल्य घटी भएका बेला आपूर्तिकर्ता कम्पनीले मल पठाउदा ठूलो रकमको अन्तर पर्न जान्छ। यसमा आपूर्तिकर्ताले आफ्नो लाभ हुने समय हेरी तय अनुसारको सामान नेपाललाई पठाउने गरेका छन्। त्यस्तो गर्नदिनुको पछाडि कम्पनी र कृषि मन्त्रालयका उच्चपदस्त कर्मचारीको भूमिका हुने गरेको स्रोतको दाबी छ। आइपिएलको ‘डेलिभरी’ (सामान पुर्‍याइसक्नु पर्ने म्याद) सकिने बेला मलको मूल्य उच्च हुँदा ६ महिना म्याद थप गरी उसलाई सुबिधा पुर्‍याइएको बताइएको छ। 

यो वर्ष महालेखा परीक्षकको कार्यालयले कृषि सामग्री कम्पनीका लागि नियुक्त गरेको लेखापरीक्षक नारायण बजाज एन्ड कम्पनीले आफ्नो महालेखा परीक्षण प्रतिवेदनमा खरिद गरिएको मल समयमा नआउने कुरालाई अनियमिताको रुपमा औल्याउँदै निर्यात (आपूर्ति)कर्ताबाट यसको हर्जाना असुलउपर गर्ने सिफरिस गरेको छ। ‘हो हामीले पनि हर्जाना लिने कुरा भनेकै छौं,’ तथ्यलाई स्वीकार गर्दै पोखरेलले भने, ‘नियम अनुसार हर्जाना असुल उपर हुन्छ।’ यसमा कम्पनीको कसैबाट नियतवस कमजोरी नभएको उनको भनाइ छ। 

 

१२ वर्षको तथ्यांक गायब 

कम्पनीले खरिद सम्बन्धी आफ्नो तथ्यांक लुकाउने गरेको देखिएको छ। कम्पनीको वेबसाइटमा रहेको ‘तथ्यांकशास्त्र’ शीर्षकभित्र ‘मल खरिद’ भन्ने उपशीर्षक छ। त्यस उपशीर्षकमा आर्थिक वर्ष ०६३/६४ यता ‘अपडेट’ (अध्यावधिक) गरिएको छैन। उक्त उपशीर्षकमा १२ वर्षको तथ्यांक गाय

ब छ। ‘हामीले बिक्री सम्बन्धी तथ्यांक बेलाबेलामा आवश्यकता अनुसार हालिरहेका हुन्छौं, खरिद सम्बन्धी तथ्यांक हालिएन,’ पोखरेलले भने, ‘प्रकाशित सूचना पनि वेबसाइटमा हाल्छौं, कोही माग्न आयो भने पनि सूचना दिन्छौं।’ 

किसानको खेतमा मल पुगिसक्नु पर्ने बेला बाटैमा रहेको बताइएको छ। बिशाखापट्नम बन्दरगाहबाट सोमबार युरिया मल बोकेको मालवाहक रेल वीरगन्जका लागि हिँडिसकेको पोखरेलले बताए। मलखाद नआउँदा भने किसानलाई समस्या भइरहेको उनले बताए। ‘मल चाहिने सिजन हो यो, तर कतै पनि मल छैन,’ कृषि सहकारी संघ पर्साका पूर्वअध्यक्ष नरेशप्रसाद जैसवालले भने, ‘कृषि सामग्री कम्पनीले केही दिनमा मल आइपुग्ने जनाएको छ।’ कम्पनीको वीरगन्जस्थित क्षेत्रीय कार्यालयका वरिष्ठ अधिकृत गोरखनाथ केसीले मल हप्ता दिनभित्र आइपुग्ने बताए। ‘हामीसँग युरिया छैन, डिएपी र पोटास जति पनि छ,’ केसीले भने, ‘कम्पनीले खरिद गरेको मल आउन लागेको छ, बाटोमा छ।’








यसमा तपाईको मत

अन्य समाचार

गुगलका एप्स नचल्ने हुवावेको पहिलो फ्ल्याग्शिप स्मार्टफोन

गुगलका एप्स नचल्ने हुवावेको पहिलो फ्ल्याग्शिप स्मार्टफोन

यी स्मार्टफोनहरूमा गुगलका एप्सहरू चल्ने छैनन् | जस मध्ये गुगल प्ले स्टोर, गुगल क्रोम, गुगल म्याप्स, गुगल प्ले म्युजिक, गुगल...

एनआरएनएको उम्मेदवारी घोषणा ( भिडियो )

एनआरएनएको उम्मेदवारी घोषणा ( भिडियो )

गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा कुमार पन्तले उम्मेदवारी घोषणा गरेका छन्। ...

बानेश्वरको आइम्याक्स मलमा सेलिब्रेटिको रौनक ( भिडियो )

बानेश्वरको आइम्याक्स मलमा सेलिब्रेटिको रौनक ( भिडियो )

राजधानीको नयाँ बानेश्वरमा आइप्लेक्स नामको व्यापारिक भवन सञ्चालनमा आएको छ । ...

नेपाल टेलिकमद्वारा थप १३ मुलुकमा डाटा रोमिङ सेवा

नेपाल टेलिकमद्वारा थप १३ मुलुकमा डाटा रोमिङ सेवा

नेपाल टेलिकमले गत भदौ २० गतेदेखि भारतमा पुनः संचालनमा ल्याएको अन्तर्राष्ट्रिय डाटा रोमिङ सेवा अब थप १३ मुलुकमा विस्तार गरेको...

नियमावली नबन्दा अनुगमनमा अप्ठेरो

नियमावली नबन्दा अनुगमनमा अप्ठेरो

सरकारले बजार अनुगमनलाई तीव्रता दिने भनिरहँदा यसलाई नियमन गर्न बनेको उपभोक्ता संरक्षण ऐन २०७५ कार्यान्वयनको अवस्था कमजोर छ । ...

टिभिएसको ह्विली बिट्स

टिभिएसको ह्विली बिट्स

नेपालको लागि टिभिएसको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले ग्राहकलक्षित ‘टिभिएस दसैंको दौड’ स्किम लागू गरेको छ । ...

टान कार्यसमितिको पदबहाली

टान कार्यसमितिको पदबहाली

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को ४१औं वार्षिक साधारणसभाबाट निर्वाचित नयाँ कार्यसमितिका पदाधिकारीले पदभार ग्रहण गरेका छन् । ...

प्रभु एक्सटेन्सन काउन्टर थपियो

प्रभु एक्सटेन्सन काउन्टर थपियो

प्रभु बैंकले उर्लाबारी नगरपालिकास्थित मदन भण्डारी मेमोरियल ऐकेडेमीमा  एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । ...

Ncell Footer Ad