८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

मादुरोले गरे युरोपेली अल्टिमेट अस्वीकार

क्याप्सन : भेनेजुएली राष्ट्रपति निकोलास मादुरो।

कराकस – भेनेजुएलाको राजनीतिक संकट समाधानका लागि युरोपेली राष्ट्रका नेताहरुले आठ दिनभित्र नयाँ निर्वाचनको मिति तोक्न दिएको अल्टिमेटमलाई राष्ट्रपति निकोलास मादुरोले अस्वीकार गरेका छन्। युरोपेली राष्ट्रको अल्टिमेटम अस्वीकार गर्दै मादुरोले विपक्षी नेता जुवान गुआइडोले आफूले आफैंलाई देशको राष्ट्रपति घोषणा गरेर देशको संविधानको उल्लङ्घन गरेको आरोपसमेत लगाएका छन्।

आइतबार प्रसारण भएको सिएनएन टर्कसँग राष्ट्रपति मादुरोले दिएको अन्तर्वार्तामा उनले युरोपेली राष्ट्रले दिएको अल्टिमेटम आफूले स्वीकार नगरे पनि वार्ताका लागि भने सदैव खुला रहेको बताएका छन्। उनले अमेरिकी राष्ट्रपति ट्रम्पसँग भेटवार्ता गर्नु हालका लागि उपयुक्त नहुने भए पनि त्यो असम्भव भने नरहेको समेत अन्तवार्तामा बताएका छन्। सिएनएन टर्कले राष्ट्रपति मादुरोको सो अन्तर्वार्ता स्पेनी भाषाबाट टर्कीस् भाषामा डबिङ गरेको थियो। प्रमुख विपक्षी जुवान गुआइडोले गत बुधबार राजधानी कराकसमा आयोजित सरकार विरोधी प्रदर्शनमा आफूले आफैंलाई कार्यवाहक राष्ट्रपतिको रूपमा घोषणा गरेका थिए। संयुक्त राज्य अमेरिकालगायत कैयौं देशले विपक्षी नेता गुआइडोलाई राष्ट्रपतिका रूपमा मान्यता दिएको घोषणा गरिसकेका छन्। मादुरोले भने विपक्षी नेता गुआइडोले कूको प्रयास गरेको आरोप लगाउँदै त्यसलाई अमेरिकाले समर्थन गरेको भन्दै गत बिहीबार नै वासिङ्टनसँगको कूटनीतिक सम्बन्ध तोडेको घोषणा गरेका थिए। यसैबीच वासिङ्टनले शनिबार गुआइडोको पक्षमा लाग्न र मादुरो नेतृत्वको सरकारसँगको आर्थिक सम्बन्ध तोड्न विश्व समुदायसमक्ष आग्रह गरेको छ।

खाद्य सामग्री अभाव र आर्थिक–राजनीतिक संकटका विरुद्धमा लगातारको प्रदर्शनका कारण भेनेजुएला पछिल्लो समय चरण समस्यामा फसेको छ।  देशको बिग्रँदो अवस्थाका कारण लाखौं भेनेजुएली नागरिक विदेशमा शरणार्थी बन्न बाध्य छन्। स्पेन, जर्मनी, फ्रान्स र बेलायतले शनिबार मादुरोलाई आठ दिनभित्र नयाँ निर्वाचनको मिति तोक्न अल्टिमेटम दिँदै यदि त्यसो नगरिए आफूहरुले विपक्षी नेतालाई औपचारिक रूपमै अन्तरिम राष्ट्रपतिको मान्यता दिने चेतावनी दिएका थिए। सो चेतावनीलाई रुसले वाहियात भनेको थियो भने भेनेजुएली विदेशमन्त्रीले केटाकेटीपनको संज्ञा दिएका थिए।

संयुक्त राज्य अमेरिका, क्यानडालगायत दर्जनौं ल्याटिन अमेरिकी देशहरुले विपक्षी नेता गुआइडोलाई वैधानिक राष्ट्रपतिको मान्यता दिएका छन्। उनीहरुले गत मे महिनामा भएको निर्वाचनमा मादुरोले धाँधली गरेको आरोपसमेत लगाउँदै आएका छन्। भेनेजुएलालाई लिएर विश्व दुई ध्रुवमा विभाजित भइरहेको समयमा देशको सेनाले भने मादुरोलाई नै समर्थन गरेको समाचार शनिबार बाहिरिएको थियो। मादुरोको पक्षमा भने चीन, रुस र टर्कीजस्ता राष्ट्र देखिएका छन्।

प्रकाशित: १४ माघ २०७५ ०५:०२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App