coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
खेल

मदन भण्डारी गोल्डकप : आयोजकलाई हराउँदै मनाङ सेमिफाइनलमा

मनाङविरुद्ध बल अघि बढाउँदै आयोजकका खेलाडी (सेतो जर्सी) । तस्बिर : नागरिक

इटहरी – आयोजक राष्ट्रिय जागृति क्लबलाई २–१ ले पराजित गर्दै मनाङ मर्स्याङ्दी क्लब काठमाडौं, इटहरीमा जारी दोस्रो मदन भण्डारी स्मृति अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।

आइतबार इटहरी रंगशालामा भएको दोस्रो क्वार्टरफाइनलअन्तर्गत मनाङको जितमा सुजल श्रेष्ठ र कमल श्रेष्ठले गोल १÷१ गोल गरे। सुजलले खेलको ३४आैं मिनेटमा गोल गर्दै आफ्नो टोलीलाई अग्रता दिलाए। प्रतिस्पर्धात्मक खेल खेल्दै आयोजक राष्ट्रिय जागृतिका उमेश राईले ६३औं मिनेटमा गोल फर्काएर खेल बराबरीमा ल्याए।  लिग च्याम्पियन मनाङका कमलले ७५आंै मिनेटमा गोल गर्दै टोलीलाई सेमिफाइनल प्रवेश गराए।

खेलको म्यान अफ दी म्याच मनाङका कमल श्रेष्ठ भए। उनलाई नगद दस हजार प्रदान गरियो। मनाङले अब सेमिफाइनलमा मंगलबार हुने पुलिस र सिएफसी भुटानबीचको विजेतासँग बिहीबार प्रतिस्पर्धा गर्नेछ।

मनाङका प्रशिक्षक फुजा टोपेले खेलाडीको तालमेलका कारण जित निकाल्न सफल भएको बताए। ‘नेपाली राष्ट्रिय टोलीका खेलाडीबीच तालमेल मिलाएर खेल्दा जित निस्कियोे,’ उनले भने, ‘ग्राउन्डले साथ दिएको भए अरू गोल हुने थियो।’

आयोजक राष्ट्रिय जागृति क्लबका म्यानेजर कोविदजंग कार्कीले लिग च्याम्पियनसँग हार्नु स्वाभाविक भएको बताए। ‘जित्नुपर्ने हो, तर खेलमा हार–जित अवश्य हुन्छ। राम्रो खेल्दाखेल्दै पनि हामीले हार बेहोर्नुपर्यो,’ उनले भने।

मदन भण्डारी गोल्डकपको अघिल्लो संस्करणमा मनाङलाई १–० ले हराउँदै थ्री स्टारले उपाधि जितेको थियो। प्रतियोगिताअन्तर्गत सोमबार थ्री स्टार र त्रिभुवन आर्मीबीच खेल हुनेछ।

प्रकाशित: १४ माघ २०७५ ०३:२५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App