coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

हिमपातले जनजीवन कष्टकर

तस्बिर:नागरिक

पोखरा/मुस्ताङ - हिमपात नरोकिएपछि हिमाली जिल्लाको जनजीवन अझै सामान्य बन्न सकेको छैन। कतिपय गाउँ अझै विद्युत् र सञ्चार सेवाबाट प्रभावित छन्। स्थलमार्ग र हवाई सेवा पूर्णतया अवरुद्ध छन्। सडक, विद्युत् र सञ्चार सेवा नियमित गर्ने प्रयास भइरहे पनि हिउँ पर्न नरोकिएकाले झनै चुनौती थपिएको प्रशासनले बताएको छ।

जिल्ला प्रहरी कार्यालय मुस्ताङका डीएसपी महेन्द्र खड्काका अनुसार पोखराबाट हुने हवाई सेवा तीन दिनदेखि अवरुद्ध छ। तारा एयरलाइन्सले मात्र पोखरा–जोमसोम दैनिक दुई उडान भर्दै आएको थियो। धावनमार्ग हिउँले ढाकिएकाले हवाई सेवा प्रभावित भएको हो। त्यस्तै स्थल यातायात पनि रोकिएको छ। तीन दिनपछि आइतबार बल्ल तीनवटा सवारीसाधन जोमसोमबाट म्याग्दीका लागि छुटेको डिएसपी खड्काले जानकारी दिए।

‘यहाँको दैनिकी झनै कष्टकर बन्दै गएको छ,’ खड्काले भने, ‘स्थानीयवासी घरबाहिर निस्कन सकेका छैनन्।’ उनले सदरमुकाम जोमसोम पुरै सुनसान बनेको जानकारी दिए। स्थानीयवासीले यसपालि नौ वर्षपछि बाक्लो हिमपात भएको बताएका छन्। उनीहरूका अनुसार अधिक चिसो र हावाका कारण अझै हिउँ पर्ने सम्भावना छ। अरू हिउँ नथपिएको अवस्थामा न्यानो हुनेगरी घाम लागेको खण्डमा अहिलेको हिउँ पग्लिन अझै तीनदिन लाग्नेछ। डिएसपी खड्काले भने ‘चारैतिर सुनसान छ। जताततै सेताम्य हिउँ मात्रै देखिन्छ।’ यही अवस्था केही दिन कायम रहे जिल्लामा दैनिक उपभोग्य वस्तुको समेत अभाव हुने सम्भावना रहेको उनले बताए। ‘पानी जमेर दिउँसो नभई धारा चुहिँदैन। मान्छेको चहलपहल शून्य छ,’ उनले भने, ‘हिउँ पर्दा केहीबेर रमाउनेका लागि रमाइलो अनुभव भए पनि स्थानीयवासीको बसाइ भने सहज छैन।’

उनका अनुसार कोवाङ, टुकुचे, घाँसा, लेतेमा टेलिफोन र बिजुली छैन। स्थानीय चोखोपानीको दुई सय ४० किलोवाटको क्षमताको विद्युत्गृहमा पनि हिउँ जमेर उत्पादन नियमित हुन सकेको छैन। शुक्रबारको भारी हिमपातका कारण थासाङ गाउँपालिकाको अधिकांश गाउँ विद्युत् र सञ्चार सेवाबाट पूर्ण विच्छेद छन्। अघिल्लो सातादेखि नै थासाङ गाउँपालिकामा हिउँ पर्न सुरु भएको थियो। बाक्लो हिउँ पर्दा बिजुलीका तारमा समेत हिउँ जम्ने, तार लत्रेर रूखबिरुवामा छुने हुँदा विद्युत् प्रवाहमा समस्या भएको नेपाल विद्युत् प्राधिकरण मुस्ताङका कार्यालय प्रमुख सनप्रसाद थकालीले जानकारी दिए। ‘तारमा समेत हिउँ जमेका कारण विद्युत् सेवा सुचारु गर्न समस्या परेको हो,’ उनले भने, ‘हामीले जोखिम मोल्न चाहेनौं। जबर्जस्ती विद्युत् प्रवाह गर्न मिल्दैन।’

उनका अनुसार हिमपातपछि प्राविधिक समस्याकै कारण गाउँमा विद्युत् प्रवाह रोकिएको हो। कोवाङबाट माथिल्लो भागमा भने विद्युत् सेवा प्रवाह भइरहेको उनले जानकारी दिएका छन्। थासाङका लेते र कुञ्जोमा म्याग्दीको कार्यालयले विद्युत् सेवा प्रदान गरिरहेको हुँदा ती स्थानमा मुस्ताङ कार्यालयले केही दिन अझै समस्या समाधान गर्न नसक्ने बताएको उनले जानकारी दिए। हिउँ पर्दा होस् या पानी पर्दा, मुस्ताङका अधिकांश स्थानमा विद्युत् समस्या हुने सधैंको समस्या हो। मुस्ताङमा हावा बढी चल्ने हुँदा पनि बिजुली तारमा बेलाबेलामा समस्या आइरहन्छ। भौगोलिक कठिनाइले पनि समयमै मर्मत गर्न नसकिनु अर्काे कारण रहेको उनको भनाइ छ। हिउँ परिरहेकाले पनि मर्मत नसकेको हो। मुस्ताङमा सञ्चार सेवा पनि निकै दुःख दिने गर्दछ।

थासाङ गाउँपालिकामा शुक्रबारदेखि नै नेपाल टेलिकमको सेवा प्रभावित थियो। नेपाल टेलिकम मुस्ताङ कार्यालयका प्रमुख हुमबहादुर भुजेलले विद्युत् सेवा प्रभावित हुँदा सञ्चारमा पनि समस्या आएको बताए। हिउँ जमेका टावरहरूको पनि सरसफाइको काम भइरहेको उनले जानकारी दिए। विद्युत्का वैकल्पिक स्रोतहरू राख्दा पनि प्रभावकारी नभएको भुजेलले बताए। ब्याट्री राख्दाको अवस्थामा पनि विद्युत् सेवा धेरै दिनसम्म रोकिँदा चार्ज सकिएर र सोलार राख्दा पनि हिउँ परे वा वर्षा भएर काम नदिने समस्या भएको हो। भुजेलले भने, ‘अझै केही दिन पूर्ण रूपमा सेवा सञ्चालन गर्न सकिने अवस्था छैन।’ थासाङसँगै वारागुँ–मुक्तिक्षेत्र गाउँपालिकाका केही वडामा पनि टेलिकम सेवा प्रभावित भएको भुजेलले जनाए।

थासाङ गाउँपालिकाका अध्यक्ष बुद्धिप्रसाद शेरचनले दैनिकी कष्टकर बन्दै गएको बताए। ‘देश नै लोडसेडिङ हुँदा पनि यहाँ विद्युत नियमित थियो। तर यसपालि तीनदिनदेखि अँध्यारो छ,’ उनले भने, ‘यस्तै अवस्था रहिरहे यहाँ विकराल समस्या आउन सक्छ। आइतबार दिउँसो पनि माथिल्लो क्षेत्रमा हिमपात भएका कारण समस्या भएको छ।’
हिमपातले सेताम्य भएको मुस्ताङ सदरमुकाम जोमसोम क्षेत्र।

प्रकाशित: १४ माघ २०७५ ०३:२२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App