८ वैशाख २०८१ शनिबार
राजनीति

डा. केसीाका पक्षमा सामूहिक अनशन

काठमाडौंं - चिकित्सा शिक्षा सुधारको माग गर्दै विगत १९ दिनदेखि अनशन बसिरहेका डा. गोविन्द केसीको माग पूरा गराउन सरकारलाई दबाब दिने उद्देश्यले नेपाल चिकित्सक संघको नेतृत्वमा सोमबारदेखि चिकित्सकहरूले सामूहिक अनशन सुरु गर्ने भएका छन्। डा. केसीसँग भएको सहमतिविपरीत प्रतिनिधिसभाबाट राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित भएपछि चिकित्सकहरूले उनको माग पूरा नभएसम्म अनशन जारी राख्ने भएका हुन्। चिकित्सकहरूले त्रिवि शिक्षण अस्पतालमा दैनिक बिहान १० बजेदेखि बेलुका पाँच बजेसम्म अनशन बस्ने कार्यक्रम छ।
सरकारले डा. केसीका माग पूरा नगरेसम्म अनशन जारी रहने चिकित्सक संघका अध्यक्ष डा. मुक्तिराम क्षेष्ठले बताए। ‘सरकार आफैँले गरेको सहमति मसी सुक्न नपाउँदै उल्लंघन गरेको छ। सरकारले संशोधनमार्फत डा. केसीसँग भएको सहमतिविपरीत विधेयकमा राखिएका प्रावधान तत्काल सच्याउनुपर्छ’, डा. क्षेष्ठले भने, ‘सहमति कार्यान्वयन गरेर प्रधानमन्त्री पदको गरिमा राख्नुपर्छ। प्रधानमन्त्रीले बेइमानी गरेर पदको गरिमा घटाउने काम गर्नु हुन्न।’ डा. केसीले तीन करोड नेपालीको भावना बोकेर हिँडेकाले सरकार उनको मागप्रति गम्भीर हुनुपर्ने उनले बताए।

सरकारले डा. केसीसँग गरेको सम्झौताविपरीत ऐन ल्याएपछि संघले उनको जीवनरक्षा गर्न र माग पूरा गराउन सरकारलाई दबाब दिने उद्देश्यले आन्दोलन गर्न आइतबार बृहत् भेला आयोजना गरेको थियो। चिकित्सा शिक्षाका अभियन्ता डा. केसीको जीवनरक्षाका लागि उपत्यकाका चिकित्सकले आइतबार शिक्षण अस्पताल महाराजगन्जमा भेला भएर अनशनलगायतका आन्दोलनमा जाने निर्णय गरेका हुन्। संघका अध्यक्ष डा. क्षेष्ठले केदारभक्त माथेमा आयोगको प्रतिवेदन, डा. केसीको पटक–पटकको अनशन र सरकारले डा. केसीसँग गरेका प्रतिबद्धताविपरीत राष्ट्रिय चिकित्सा शिक्षा विधेयक संसद्बाट दुई तिहाइको हुर्मत दिँदै पास गरेको आरोप लगाए। उनले नेपाल चिकित्सक संघ कुनै पार्टीको झन्डा बोक्ने भ्रातृ संगठन नभएको स्पष्ट पार्दै आवश्यक परे डा. केसीको जीवनरक्षा र माग पूरा गराउन कडा आन्दोलनका लागि तयार रहेको बताए।

‘सरकार आफैँले गरेको सहमति मसी सुक्न नपाउँदै उल्लंघन गरेको छ। सरकारले संशोधनमार्फत डा. केसीसँग भएको सहमतिविपरीत विधेयकमा राखिएका प्रावधान तत्काल सच्याउनुपर्छ।’

चिकित्सा शिक्षामा कांग्रेस र कम्युनिस्ट दुवैले राजनीति गरेको आरोप चिकित्सकहरूले लगाएका छन्। सांसदहरू जनतामुखी नभएर पैसामुखी भएको आरोप लगाउँदै उनीहरूले यसलाई केही हदसम्म रोक्न डा. केसीको अनशनले मद्दत गरेको बताए।

भेलामा सहभागी डाक्टरहरूले केसीको समर्थनमा कडा आन्दोलन चाल्न परे पनि आफूहरू तयार रहेको बताएका छन्। भेलामा सम्बोधन गर्दै अध्यक्ष डा. क्षेष्ठले भने, ‘सबै उर्लेर आउँछौं। डा. केसीको माग पूरा नभए सत्ता ढालेर छाड्छौं। चिकित्सा शिक्षा विधेयक संशोधन गर्नुपर्छ।’
संघले संघका सम्पूर्ण शाखा कार्यालयहरूलाई आन्दोलनका कार्यक्रमबारे छलफल गर्न र केन्दीय कार्यलयले गरेको निर्णयलाई यथोचित कार्यान्वयन गर्नसमेत आग्रह गरेको छ। चिकित्सकहरूले अस्पतालको सेवा सञ्चालनमा भने अवरोध नपु¥याउने भएका छन्।

अझै वार्ता टोली गठन भएन
डा. केसीले सत्याग्रह थालेको १९ दिन पुगिसक्दा पनि सरकारले उनको अनशन तोडाउन कुनै पहल गरेको छैन। सत्तारूढ दलका सांसदहरु डा. केसी आफ्नै इच्छाले अनशन बसेकाले आफंैले अनशन तोड्नुपर्ने भनेर गैरजिम्मेवार अभिव्यक्ति दिन थालेका छन्। यसअघि जुस खुवाएर अनशन तोडाउन सक्रिय सत्तारूढ दलका शीर्ष नेताले पनि उनको जीवनरक्षाका लागि खासै चासो दिएका छैनन्। सरकार गैरजिम्मेवार बन्दै गएको डा. केसीका सहयोगी प्रीतम सुवेदीले बताए। उनका अनुसार यसअघिका अनशनमा गठन भएका वार्ता टोलीको रकेर्डसमेत यो अनशनले तोडेको छ। यसअघि पन्ध्रांै अनशनका क्रममा सरकारले अनशनको १७ औं दिनपछि वार्ता समिति गठन गरेको थियो। यसले पनि सरकार डा. केसीको स्वास्थ्य अवस्थाप्रति संवेदनशील छैन भन्ने देखिएको सुवेदीको आरोप छ।

डा. केसीको अवस्था गम्भीर

डा. केसीको स्वास्थ्य अवस्था निरन्तर खस्किँदै गएको छ। उनको शरीरमा सेतो रगतको मात्रा कम रहेको उपचारमा संलग्न डा. सुवास आचार्यले बताए। डा. केसीको पेट खाली भएका कारणले सेतो रगतको मात्रा कम हुँदै गएको उनको भनाइ छ। डा. केसीलाई संक्रमणको उच्च जोखिम रहेकाले चिकित्सकहरूले निरन्तर निगरानीमा राखेको डा. आचार्यले बताए। पुस २५ देखि इलामबाट अनशन सुरु गरेका डा. केसीको स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि हेलिकप्टरबाट काठमाडौं ल्याएर उनलाई त्रिवि शिक्षण अस्पतालको आइसियूमा भर्ना गरिएको थियो। उनको स्वास्थ्यमा केही सुधार आएपछि विगतमा अनशन बस्दै आएको गणेशमानसिंह भवनको साधारण श­ड्ढयामा सारिएको थियो। आफूले अघि सारेका माग पूरा नभएसम्म अनशन जारी राख्ने डा. केसीको अडान छ।
डा. केसीको पक्षमा प्रदर्शन

अनशनरत डा. केसीको जीवनरक्षाको माग गर्दै नेपाल चिकित्सक संघ, नेपाल रेजिडेन्टस् एसोसिएसन अफ न्याम्स सोलिडारिटी फर डक्टर केसी एलायन्स, विवेकशील नेपाली दललगायतले आइतबार पनि प्रदर्शन जारी राखेका छन्। उनीहरूले काठमाडौंको माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गरेका हुन्। प्रदर्शनकारीहरुले प्रधानमन्त्रीले नैतिकताका आधारमा राजीनामा दिर्नुपर्ने माग गरेका छन्।

नागरिक अपिल

नागरिक अगुवाहरुले राष्ट्रिय सभा बैठकमा उक्त विधेयक पेस हुँदा डा. केसीसँग राज्यले गरेको सम्झौताबमोजिम सुधार गरेर पारित गर्न सम्बन्धित सबै पक्षलाई अपिल गरेका छन्। आइतबार विज्ञप्ति जारी गर्दै नागरिक अगुवाहरुले डा. केसीसँग भएको सहमतिबमोजिम राष्ट्रियसभाबाट विधेयक पारित गर्न सम्बन्धित सबै पक्षमा अपिल गरेका हुन्। सरकारले डा. केसीसँग गरेको सम्झौता उल्लंघन गरेकोमा आफूहरुको गम्भीर ध्यानाकर्षण भएको अपिलमा उल्लेख छ। यसले राज्यको विश्वसनीयतामाथि नै प्रश्न उठेको उनीहरुको भनाइ छ।
अपिल जारी गर्नेमा नागरिक समाजका अगुवाहरु केदारभक्त माथेमा, सुशीला कार्की, महावीर पुन, अभि सुवेदी, भोजराज पोखरेल, स्वर्णिम वाग्ले, विजय लामा, कृष्ण धरावासी, जयराज आचार्य, दुर्गा सुवेदी, कपिल श्रेष्ठ, मनप्रसाद वाग्ले, भैरव रिसाल, रामेश कोइराला, वीरेन्द्रकुमार मिश्र र रवीन्द्रसिंह बानियाँ रहेका छन्। यस्तै यादव खरेल, गोविन्दराज पोखरेल, प्रत्युष वन्त, शेखर खरेल, रामकुमार भण्डारी, फडिन्द्र लुइँटेल, दिनेश प्रसाइँ, सावित्री श्रेष्ठ, गीता रसाइली, देवी सुनुवार र गोपाल साहलगायतले अपिलमा हस्ताक्षर गरेका छन्। ्

प्रकाशित: १४ माघ २०७५ ०१:३६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App