७ वैशाख २०८१ शुक्रबार
राजनीति

‘चिकित्सा विधेयक डा केसीकै योगदानले पास भयो, अनशन फिर्ता लिए गरिमा बढ्छ’

काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले डा गोविन्द केसीलाई तत्काल अनशन स्थगन गर्न आग्रह गरेका छन्। उनले विधेयक ऐन बनिसकेपछि चिकित्सा शिक्षाको क्षेत्रमा तात्विक परिवर्तन आउने विश्वास दिलाए। 

आइतबार रिपोर्टर्स क्लबद्वारा आयोजित साक्षात्कारमा मन्त्री पोखरेलले विधेयकले सबै विषयलाई समेटेको दाबी गरे। उनले भने, ‘संसदको एउटा प्रक्रियामा गएर विगतमा भएको सहमतिलाई कार्यान्वयन गर्ने भनिसकिएपछि उहाँले यही बेलामा अनशनको बाटो किन पक्रिनुभयो, अचम्म लागेको छ। म अनुरोध गर्न चाहन्छु जनप्रतिनिधि संस्थाको सर्वोच्चतालाई ध्यान दिँदै र सम्मान गर्दै उहाँले अनशन फिर्ता लिनुपर्छ।’ अनशन फिर्ता लिएपछि डा केसीकै गरिमा बढ्ने उनको भनाई छ। 

चिकित्सा विधेयक डा केसीको पनि योगदानको कारणले पास भएको बताउँदै मन्त्री पोखरेलले सहमतिलाई टेकेर विधेयक बनेको दाबी गरे। 

मन्त्री पोखरेलले चिकित्सा शिक्षा विद्येयक पारितलाई सर्वाधिक ठूलो उपलब्धिको रुपमा चित्रण गरे। विधेयकलाई राष्ट्रिय सभाबाट पारित गरेर ऐन बनाएर चाँडो कार्यान्वयनमा लैजानुपर्ने भन्दै वैशाखभित्र सबै आयोग, निर्देशनालयहरु गठन गरेर अनि साझा परीक्षा प्रणाली गर्नेगरी अघि बढ्नुपर्नेमा जोड दिए।

मन्त्री पोखरेलले विधेयक संसदबाट विधि र प्रक्रियाको आधारमा पारित भैसकेकोले यसबारेमा अन्य ढंगले यसको विरोध गर्न नहुने धारणा राखे। विधेयकमा कमीकमजोरी भए सच्याउन सकिने भन्दै उनले अहिले उपलब्धी रक्षा गर्नेगरी अगाडि बढ्न अनुरोध गरे।

उनले आफूहरु निर्वाचित भएर आएको र यो प्रजातान्त्रिक सरकार भएको सुनाउँदै सबैले कानुनको शासनलाई मान्नुपर्ने बताए। 

उनले नेपालकै इतिहासमा अहिलेसम्म गरिएका सहमति र सम्झौताको मूल मर्मलाई पक्रिएर यो विद्येयक बनेको दाबी गरे। उनले थपे, ‘चिकित्सा शिक्षा र स्वास्थ्य शिक्षामा सुधार र परिवर्तन चाहनेहरु सबैले यसको स्वामित्व लिनुपर्छ। अब कार्यान्वयनमा यसलाई सबैले ध्यान दिनुपर्छ। चाँडोभन्दा चाँडो आयोग गठन गरेर सुधारलाई जनताले व्यवहारमा देख्नेगरि अगाडि बढाउनुपर्छ।’

आफूले डाक्टर केसीलाई सम्मान गर्ने सुनाउँदै मन्त्री पोखरेलले भने, ‘चिकित्सा शिक्षाको सुधारको लागि उहाँले जसरी आवाज उठाउनुभयो त्यसलाई धेरैले साथ दियौं। तपाई हामी सबैले साथ दियौं। तर, अहिले आईपुग्दा उहाँ अरु राजनीतिक मुद्दापनि लिएर आउनुभएको छ। अचम्म लाग्यो–किन यो ढंगले पेश हुनुभयो? डाक्टर केसी अहिलेपनि अनशनमा हुनुहुन्छ। उहाँका वक्तव्यहरु सबै उहाँले नै तयार गर्न सक्नुहुन्छ जस्तो लाग्दैन्। जे÷जस्ता भाषाहरु प्रयोग भैरहेका छन्। त्यसले समझदारी बनाउँदैन्। बरु, द्वन्द्व चर्काउने काम गर्छ।’

लामो समयपछि ५ वर्षको लागि एउटा सरकार आएको सुनाउँदै उनले वर्तमान सरकारलाई काम गर्न दिनुपर्ने बताए। उनले भने, ‘आएकै बेलादेखि तपाई विरोध, तपाई चाहीँ अनशन, अनि त्यसपछि त्यसभित्रपनि अरुले खेल्नुपर्ने, यो स्थितिबाट मुक्त हुनुपर्छ। डाक्टर केसी हाम्रो पनि मान्छे हो। साझा मान्छे हो भनेर बुझ्नुपर्छ। उहाँले शान्ति प्रक्रियाको सन्दर्भमा कुरा उठाउनुभयो। नेपालले आफ्नै ढंगले शान्ति प्रक्रियालाई हल गर्दै यो ठाउँमा आएको छ। अलिकति केही कामहरु बाँकी छन्। त्यो कामपनि सकारात्मक ढंगले अघि बढिरहेका छन्।’

आफूले सदनबाट बाहिर निस्किँदा पहिलेपनि शिक्षासँग जोडिएका कुराको समस्या समाधानको लागि वार्ता तथा सम्वादको लागि अझै तयार रहेको भनेर बोलिसकेको पनि सुनाए। यद्यपी डाक्टर केसीले उठाएका अन्य मुद्दाहरु शिक्षासँग सम्बन्धित नभएको उनको जिकिर छ। 

संसदबाट विद्येयक पास गर्ने बेलामा डाक्टर केसीले गरेको ध्यान आकृष्टबाट आफूहरुको पर्याप्त ध्यान आकृष्ट भएको पनि उनले जिकिर गरे। उनले भने, ‘अब त्यो पक्षलाई ध्यान दिएर अहिले उहाँ स्वयमले पनि अनशन फिर्ता लिएर एउटा वातावरण नयाँ बनाइदिनुपर्यो। सरकारतिर मात्रै तेर्साएर हुँदैन्। उहाँको जीवनरक्षा गर्ने काम उहाँका वरिपरिका मान्छेहरुको पनि जिम्मेवारी हो। उहाँ स्वयमको पनि हो। उहाँ डाक्टर हो, प्राध्यापक हो। सबै कोणबाट उहाँहरुले पनि जवाफ दिनुपर्छ भन्ने लाग्छ।’

मन्त्री पोखरेलले डा.केसीको स्वास्थ्यबारे सरकार चिन्तित रहेको उल्लेख गरे। ०६९ सालदेखि चिकित्सा शिक्षा क्षेत्रमा आवाजहरु उठ्दै आएकोमा सक्रमणकालमा विकृति विसंगति पनि धेरै खालका आएको तर, त्यसलाई अहिलेको विधेयकले समेट्ने उनले स्पष्ट पारे। 

प्रकाशित: १३ माघ २०७५ १०:४५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App