७ वैशाख २०८१ शुक्रबार
विचार

अमेरिका र मेक्सिको

लि खिम्सी
गएको पुस ७ (डिसेम्बर २२) गतेदेखि संयुक्त राज्य (संरा) अमेरिकाको सरकार आंशिक रूपमा बन्द छ। बन्दका कारण गृह सुरक्षा विभाग र कृषि विभागलगायत नौवटा विभागहरूका काम प्रभावित बनेका छन्। आठ लाखभन्दा बढी संघीय सरकारका कर्मचारीको जीवन बन्दका कारण प्रभावित बनेको छ। संरा अमेरिकाको इतिहासमा यो पटकको सरकारी कार्यालय बन्द हालसम्मकै सबभन्दा लामो बन्द हो। यसअघि  बिल क्लिन्टन राष्ट्रपति रहँदा भएको बन्द २१ दिनसम्म चलेको थियो। सरकारी सेवामा कटौती गर्ने–नगर्ने विषयमा कुरा नमिल्दा त्यतिबेला पनि सरकारी कार्यालय बन्द भएका थिए। तर २१ दिनमा त्यसले निकास पाएको थियो भने अहिलेको बन्द भने अझै पनि टुंगिने छाँटकाँट छैन।

संरा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संरा अमेरिका र मेक्सिकोबीचको सिमानामा पर्खाल बनाउन त्यहाँको व्यवस्थापिका (कांग्रेस) समक्ष ५ अर्ब ७० करोड अमेरिकी डलरको माग गरेका थिए। तर कांग्रेसले सो प्रयोजनका लागि त्यति बजेट दिन अस्वीकार गरेपछि अहिलेको अवस्था निम्तिएको हो। संरा अमेरिकामा अवैधानिक आप्रवासीको प्रवेश रोक्न संरा अमेरिका र मेक्सिकोको सिमानामा पर्खाल बनाउनेमा ट्रम्प दृढ छन्। आफ्नो चुनावी प्रचार कार्यक्रममा मतदाताले मेक्सिकोसँगको सिमानामा पर्खाल बनाउने वाचा गरेका थिए। तर डेमोक्रेटिक पार्टीको बहुमत भएको कांग्रेसले भने उनको उक्त वाचालाई पूरा गर्न दिने अवस्था छैन। कांग्रेसका सभामुख नान्सी पलोसीले यो विषयमा ट्रम्पसँग वार्तामा बस्न अस्वीकार गरेकी छिन्। सिमाना सुरक्षाका लागि कांग्रेसले १ अर्ब ३० करोड अमेरिकी डलर विनियोजन गरिसकेकाले ट्रम्पसँग थप वार्ता नगर्ने उनको भनाइ छ।

सन् २०१७ को जनवरीमा डोनाल्ड ट्रम्प संरा अमेरिकाका राष्ट्रपति पदमा पदासीन भएका हुन्। राष्ट्रपति पदमा निर्वाचित भएदेखि नै उनले धेरै समस्या सामना गर्नुपरेको छ। आन्तरिक र वैदेशिक विषय समाधानका लागि उनले बारम्बार आफ्नो सरकार पुनर्गठन गर्नुपर्‍यो। कांग्रेससँग उनको द्वन्द्वमा पनि कुनै नयाँ कुरा छैन। शीतयुद्धको समाप्तिपश्चात् संरा अमेरिकाले धेरै पटक यस्ता सरकार बन्दको अनुभव गर्दै आएको छ। इलोक्टोरेटहरूलाई अनेकथरी वाचा गरेर आफ्नो पक्षमा संरा अमेरिकाका दुवै पार्टीले मत तान्न खोज्दा यस्तो अवस्था दोहोरिने गरेको छ। संरा अमेरिकाको दुई पार्टी बन्दोबस्त नै यसका लागि प्रमुख रूपमा जिम्मेवार छ।

सामान्यतः कुनै पनि देशको सामाजिक कल्याणकारी सेवा आर्थिक वृद्धिमा निर्भर हुने गर्छ। संरा अमेरिका भने अझै पनि सन् २००८ को विश्वव्यापी वित्तीय संकटबाट तङ्ग्रिसकेको छैन। पूर्वराष्ट्रपति बाराक ओबामाले आफ्नो कार्यकालमा चार चरणका परिमाणात्मक सामाजिक सेवा घोषणा गरेका थिए। तर तिनको भूमिका त्यहाँको अर्थतन्त्रमा हानि पुर्‍याउनेसम्ममै मात्र सीमित रह्यो। ट्रम्पले संरा अमेरिकी अर्थतन्त्रलाई सही बाटोमा हिंडाउने वाचासहित राष्ट्रपति पदको निर्वाचनमा विजय हासिल गरे। तर उनले पनि आफ्नो प्रतिबद्धता पूरा गर्न सकेका छैनन्।
अहिलेको सरकार बन्दको दुष्प्रभावलाई कम आँकलन गर्न मिल्दैन। उदाहरणका लागि, संरा अमेरिकी वित्तीय सेवा कम्पनी स्ट्यान्र्डड एन्ड पोर्सका प्रमुख अर्थशास्त्री ब्याथ आन बोभिनोले सरकार बन्दले कुल गार्हस्थ उत्पादन (जिडिपी) मा नकारात्मक असर पार्ने बताए। कर्मचारीले आफ्नो पूरा तलब नपाउँदा अहिले नै उनीहरूको दैनिक जीवन प्रभावित बनिसकेको छ। मानिसहरू विरोधमा सडकमा आउन थालिसके। वासिङ्टन डिसीमा यसै साता यस्तै एउटा विरोध प्रदर्शन भएको थियो। बन्दले संरा अमेरिकाको विदेश नीतिलाई पनि प्रभावित बनाएको छ। स्वीट्जरल्यान्डको डाभोसमा हुने विश्व आर्थिक मञ्चमा पनि ट्रम्प सहभागी बन्नेछैनन्। यसको अर्थ विश्व अर्थतन्त्रमा संरा अमेरिकाको भूमिकालाई खुम्च्याइँदै छ।

संरा अमेरिकाका सबै समस्याको मूल जरा दक्षिणको खुकुलो सिमाना भएको ट्रम्पको विश्वास हुनसक्छ। पर्खाल बनाएपछि यो समस्या समाधान हुने उनको धारणा हुनसक्छ। तर पर्खालसम्बन्धी राजनीतिक मतभेदले राजनीतिक ध्रुवीकरणलाई संकेत गरेको कुरा ट्रम्पले बुझेका छैनन्। यसले रिपब्लिकन र डेमोक्रेटिक पार्टीबीचको बढ्दो अन्तर्विरोधतर्फ संकेत गरेको छ। एकप्रकारले पर्खाल बनाउने ट्रम्पको वचनबद्धता उनको लोकप्रियतावादी (पपुलिस्ट) राजनीति मात्र हो। पर्खाल बनाउने योजना कांग्रेसबाट पारित नहुनुको कारण उक्त योजनाप्रति डेमोक्रेटिक पार्टीको असहमति हो र त्यो भन्दा पनि सरोकार समूहहरूबीच नाफाको असमान वितरण नै यसको कारण हो।

संरा अमेरिकामा प्रजातन्त्रले काम गरिरहेको देखिनुको कारण उसको विश्वव्यापी प्रभुत्व नै हो। विश्वव्यापी प्रभुत्वका कारण संरा अमेरिकाले विदेशी देशहरूमा युद्ध थोपर्ने गरेको छ। खाडी युद्ध, इराक युद्ध, अफगानिस्तानमाथिको हमला, लिबिया र सिरियाका गृहयुद्ध यसका केही उदाहरण हुन्। आफ्ना साना स्वार्थ पूरा गर्न उसले यस्ता युद्ध थोपर्दै आएको छ। संरा अमेरिकाले सन् १९९७–९८ को एसियाली वित्तीय संकट र अर्जेन्टिना तथा टर्कीको वित्तीय संकटलाई समेत आफ्नो हितमा उपयोग गरेको थियो।

संरा अमेरिकाले आफ्ना आन्तरिक समस्या समाधानका लागि सधैँ अन्य निर्दोष देशलाई बलि चढाउने गर्दै अँएको छ। इतिहासले यही कुरा देखाएको छ। संरा अमेरिकाका राजनीतिक शासक वर्ग जब आफ्ना आन्तरिक समस्या समाधान गर्न सक्दैन तब उनीहरू अमेरिकी जनताको ध्यान विदेशी विषयमा भुलाउन खोज्छन्। संरा अमेरिका र मेक्सिकोबीचको पर्खाल निर्माण पनि आज संरा अमेरिकाले सामना गरिरहेका गम्भीर आन्तरिक समस्याबाट ध्यान अन्यत्र तान्न बुनिएको चालबाजी मात्र देखापर्छ। त्यस्ता आन्तरिक समस्या समाधान गर्न ट्रम्प सरकार असफल भएपछि उसले यस्तो चालबाजी बुनेको देखिन्छ। (लेखक चीनको रेनमिन विश्वविद्यालयको अन्तर्राष्ट्रिय अध्ययनका प्राध्यापक हुन्। स्रोतः चाइना डेली नेपाली अनुवाद : नीरज लवजू)

प्रकाशित: १३ माघ २०७५ ०४:४० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App