८ वैशाख २०८१ शनिबार
खेल

ओसाकालाई वर्षको पहिलो ग्रान्ड स्लाम

मेलबर्न –  जापानकी नाओमी ओसाकाले चेक रिपब्लिककी पेत्रा केभितोभालाई स्तब्ध बनाउँदै वर्षको पहिलो ग्रान्ड स्लाम अस्ट्रेलियन ओपनको उपाधि जितेकी छन्।

२१ वर्षे ओसाकाले करियरको दोस्रो उपाधि जित्दै पहिलो पटक विश्व वरीयताको शीर्ष स्थानसमेत ओगटेकी छन्।  अब जारी हुने वरीयतामा ओसाकाले रोमानियाकी सिमोना हालेपलाई प्रतिस्थापन गर्दै विश्व नम्बर एकको पहिचान बनाउनेछिन्।  उनी विश्व नम्बर एक हुने पहिलो एसियाली खेलाडीसमेत हुनेछिन्।  साथै सबैभन्दा कम उमेरमा विश्व नम्बर एक हुने दोस्रो खेलाडी बन्नेछिन्। 

यसअघि डेनमार्ककी कारोलिन वज्नियस्की सन् २०१० मा २० वर्षकै उमेरमा विश्व नम्बर एक बनेकी थिइन्।  मेलबर्न पार्कस्थित रोड लाभेर एरिनामा ओसाकाले आठौं वरीयता प्राप्त चेककी केभितोभालाई २–१ को सेटमा स्तब्ध बनाएकी थिइन्।  त्यस क्रममा दोस्रो सेट गुमाए पनि ओसाकाले उत्कृष्ट पुनरागमन गर्दै जित रचेकी थिइन्।  

ओसाकाले २८ वर्षीया केभितोभामाथि ७–६(७–२), ५–७ र ६–४ को जित निकालेकी थिइन्।  ओसाकाले केभितोभालाई हराउन २ घण्टा २७ मिनेट समय खर्चिन्।  पहिलो सेटमा गुमाए पनि केभितोभाले दोस्रोमा ५–५ को स्थितिबाट सेट आफ्नो बनाउँदै पुनरागमन गरेकी थिइन्।  

ओसाका विश्व नम्बर एक हुने पहिलो एसियाली खेलाडी हुनेछिन्।  साथै सबैभन्दा कम उमेरमा विश्व नम्बर एक हुने दोस्रो खेलाडीसमेत बन्नेछिन्।  

तर, तेस्रो सेटमा पनि आफ्नो बनाउँदै ओसाकाले लगातार दोस्रो ग्रान्ड स्लाम आफ्नो बनाइन्।  गत वर्षको अन्तिम ग्रान्ड स्लाम युएस ओपनको फाइनलमा अमेरिकी स्टार सेरेना विलियम्सलाई स्तब्ध बनाउँदै ओसाकाले यादगार करियरको सुरुआत गरेकी थिइन्।  यस पटक वर्षको पहिलो उपाधि जितेपछि ओसाकाले घुँडा टेक्दै जितको उत्सव मनाएकी थिइन्।  

‘खेलको अन्तिम सटसँगै ट्रफी प्रदानको समयसम्म चकित भएँ,’ २१ वर्षीय ओसाकाले भनिन्, ‘खेलमा केही गल्ती गरे पनि पुनरागमन गरी खेलमा फर्किदै उपाधि आफ्नो बनाउन सफल भएँ।  अझै पनि अविश्वसनीय लागिरहेको छ।  मैदानमा अन्तिम समयसम्म सघंर्ष गर्दा जित प्राप्त भयो। ’

त्यसअघि अमेरिकी स्टार जेनिफर क्याप्रियाटीले पनि पहिलो दुई ग्रान्ड स्लाम लगातार जित्न सफल भएकी थिइन्।   यता, त्यो हारसँगै सन् २०१६ मा चोरको आक्रमणपछि उपाधि जित्ने केभितोभाको लक्ष्य पूरा हुन सकेन।  

दुई पटककी विम्बल्डन च्याम्पियन केभितोभा घरमा आएको चोरको आक्रमणबाट घाइते हुँदा करिब ५ महिना कोर्टबाहिर थिइन्।  त्यसपछि तेस्रो ग्रान्ड स्लाम जित्न संघर्षरत केभितोभा यस वर्ष उत्कृष्ट लयमा रहँदै फाइनल पुगे पनि उपाधि आफ्नो बनाउन भने सकिनन्।  ‘मेरा टिमलाई धन्यवाद दिन चाहन्छु,’ केभितोभाले भनिन्,‘ पुनः ग्रान्ड स्लामको फाइनलमा पुग्नु नै मेरा लागि ठूलो सफलता हो। ’

प्रकाशित: १३ माघ २०७५ ०४:३४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App