६ वैशाख २०८१ बिहीबार
खेल

क्रिकेटमा रोहितको विश्व कीर्तिमान

युएईविरुद्ध पवेलियन फर्कंदै युवा ब्याट्सम्यान रोहितकुमार पौडेल। तस्बिर सौजन्य : रमन शिवाकोटी

काठमाडौं – राष्ट्रिय टोलीबाट डेब्यु गरेको एक वर्ष नबित्दै नेपालका युवा ब्याट्सम्यान रोहितकुमार पौडेल विश्व क्रिकेट जगतमा पुरुषतर्फ अर्धशतक पूरा गर्ने सबैभन्दा कान्छो खेलाडी बनेका छन्।

रोहितले शनिबार दुबईस्थित आइसिसी एकेडेमीको मैदानमा भएको युएईविरुद्धको दोस्रो एकदिवसीय खेलमा अर्धशतक पूरा गर्दै भारतका ब्याट्सम्यान सचिन तेन्दुल्कर र पाकिस्तानका पूर्वकप्तान साहिद अफ्रिदीलाई पछि पारेका हुन्।  रोहितले १६ वर्ष एक सय ४६ दिन उमेरमा यो कीर्तिमान तोडेका छन्।

यसअघि यो कीर्तिमान टेस्टतर्फ तेन्दुल्करको र एकदिवसीयतर्फ अफ्रिदीको नाममा थियो।  तेन्दुल्करले १६ वर्ष दुई सय १३ दिनमा पाकिस्तानविरुद्धको टेस्टमा ५९ रन जोड्दै कीर्तिमान बनाएका थिए। अफ्रिदीले सन् १९९६ अक्टोबर ४ मा १६ वर्ष दुई सय १७ दिनमा श्रीलंकाविरुद्ध डेब्युमै उक्त कीर्तिमान बनाएका थिए।

यद्यपि, अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा कम उमेरमा अर्धशतक पूरा गर्ने कीर्तिमान भने दक्षिण अफ्रिकाकी जोमारी लोतेन्बर्गको नाममा छ। लोतेन्बर्गले १४ वर्षमै टेस्ट र एकदिवसीयमा अर्धशतक प्रहार गरेकी थिइन्।

रोहितले युएईविरुद्ध ५८ बलमा ७ चौका मद्दतमा ५५ रनको योगदान गरेका थिए।  शुक्रबारको पहिलो खेलमा अवसर नपाएका रोहित शनिबार वसन्त रेग्मीको स्थानमा मैदान उत्रिएका थिए।  जुन अवसर सदुपयोग गर्दै रोहित अर्धशतकका साथै विश्व कीर्तिमान पनि रच्न सफल भए।  रोहितले खेलअघि कीर्तिमानको बारेमा अनविज्ञ रहेको प्रतिक्रिया दिँदै आगामी खेलमा स्वाभाविक लयलाई निरन्तरता दिन विश्वास व्यक्त गरे। उनले यो कीर्तिमान अझै पनि सपनाजस्तो लागेको बताएका छन्।

‘ब्याटिङका लागि मैदानमा प्रवेश गर्दा ३४ ओभरको खेल चलिरहेको थियो,’ रोहितले भने, ‘४० ओभरसम्म खेलेपछि नयाँ रणनीतिमा खेल्ने योजना बुनेको थिएँ।  त्यसपछि थप पाँच ओभरमा ३५ रन रन जति बनाउने योजना बनाएका थियौं।  त्यसरी अगाडि बढायौं। राम्रो अवसरको खोजीमा थिएँ।  आज पाएको अवसर सदुपयोग गर्न सफल भएँ। ’

नेपालले युइएविरुद्ध निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै दुई सय ४३ रनको योगफल तयार पारेको थियो।  सोमपाल कामी र सन्दीप लामिछानेले एकआपसमा ९ विकेट बाँडेपछि नेपालले एक सय ४५ रनले जित्दै तीन खेलको एकदिवसीय शृंखला १–१ को बराबरीमा ल्याएको थियो।

रोहितले गत वर्ष नामिबियामा सम्पन्न आइसिसी विश्व क्रिकेट लिग डिभिजन–२ सँगै राष्ट्रिय टोलीका लागि डेब्यु गरेका थिए। रोहित एकदिवसीय क्रिकेटमा कम उमेरमा डेब्यु गर्ने चौथो कान्छो खेलाडीसमेत हुन्।  उनले २०१८ अगस्टमा १५ वर्ष तीन सय ३५ दिनमा डेब्यु गरेका थिए। एकदिवसीय क्रिकेटमा सबैभन्दा कम उमेरमा डेब्यु गर्ने कीर्तिमान भने पाकिस्तानमा हसन राजाको नाममा छ।

राजाले सन् १९९६ अक्टोबर ३० मा जिम्बाब्वेविरुद्ध १४ वर्ष दुई सय ३३ दिन पुग्दा एकदिवसीय क्रिकेटमा डेब्यु गरेका थिए।  २०१६ मा यु–१९ एसिया कपमा भारतका कमलेश नगरकोटीको एकै ओभरमा २४ रन प्रहार गरेसँगै रोहितलाई नेपाली क्रिकेटको भविष्यका रूपमा हेरिएको थियो।  उनी ट्यालेन्ट हन्टबाट यु–१९ राष्ट्रिय टोलीमा छनोट भएका थिए। गत वर्ष सम्पन्न एभरेस्ट प्रिमियर लिग (इपिएल) मा आक्रामक ब्याट्सम्यानको छवि बनाउँदै रोहितले राष्ट्रिय टोलीको ढोका खोलेका थिए।

गत वर्ष जिम्बाब्वेमा सम्पन्न विश्वकप छनोट खेलमा नेपालले पपुवा न्युगिनीविरुद्ध जित हात पार्दै आइसिसी एकदिवसीय क्रिकेट टोलीको मान्यता पाउँदासमेत रोहितले आफ्नो दरिलो उपस्थिति प्रमाणित गरेका थिए।

प्रकाशित: १३ माघ २०७५ ०४:१३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App