८ वैशाख २०८१ शनिबार
समाज

सन्तानकै कारण पुनर्विवाह रोज्दैनन् ‘एकल महिला’

ओखलढुंगा - मानेभन्ज्याङ गाउँपालिका–३ उबुँकी पुतलीमाया राईको १६ वर्षको उमेरमा विवाह भयो। २५ वर्षकी उनी अहिले ‘एकल महिला’ हुन्। चार वर्षअघि उनका पतिको निधन भएको थियो। पतिको निधन हुँदा उनको छोरो १६ महिनाको थियो। अहिले साढे पाँच वर्षीय छोराको हेरचाह र घरको काम गरेर दिनचर्या बिताउँदै आइरहेकी उनलाई परिवारजनको माया र साथ छ। तर उनलाई एक्लोपनको महसुस हुन्छ, हरक्षण जीवनसाथीको अभाव खड्किरहन्छ।

‘पुनर्विवाह गर्नु ठीकै हो जस्तो लाग्छ,’ पुतली भन्छिन्, ‘तर छोराको भविष्य सोच्छु अनि विवाहको कुरा हराएर जान्छ।’ पहिला आफ्नो मृत्यु भएको भए अर्को विवाहका लागि आउने दबाब थेग्न नसकेर पतिको विवाह भइसक्थ्यो भन्ने उनलाई लाग्छ। तर महिलाको हकमा त्यस्तो अवस्था नभएको उनको बुझाइ छ। ‘मलाई परिवारका कसैले पनि बिहे गर पनि भनेका छैनन्, नगर पनि भनेका छैनन्,’ उनी सुनाउँछिन्। पुतलीलाई थाहा छ, समाजले एकल महिलाको पुनर्विवाहलाई नकारात्मक दृष्टिले हेर्छ। समाज परिवर्तन गर्ने आफंैले हो भन्ने पनि उनले नबुझेकी होइनन्। तर त्यसो गर्ने आँट पनि छैन उनमा। आफूले काम गर्ने गाउँकै सहकारीका सहकर्मी र अन्य साथीले पनि अर्को विवाहका लागि सुझाइरहन्छन्। ‘छोरालाई आफ्नैजस्तो गरी माया गर्ने कोही पाए विवाहबारे सोच्न पनि सकिन्छ होला,’ उनी भन्छिन्।

खिजीदेम्बा गाउँपालका–५ की पेमडोमा शेर्पा विवाह हुँदा १८ वर्ष थिइन्। सशस्त्र द्वन्द्वको समयमा २०६२ वैशाख २६ गते उनका पतिको हत्या भयो। त्यतिबेला २४ वर्षकी उनी अहिले ३७ वर्षकी भइन्। जिल्लामा अहिले पेमडोमा सामाजिक सेवामा सक्रिय महिला भनेर गनिन्छिन्। सन्तान नभएकी उनले दोस्रो विवाह पनि गरेकी छैनन्।

पति गुमेपछि उनले घरमा बस्ने वातावरण पाइनन्। सदरमुकाममा बस्न थालेपछि सामाजिक सेवामा जुट्न थालेको उनी बताउँछिन्। पुनर्विवाह नरोजेकी पेमाडोमा सन्तान भइनसकेका एकल महिलाले पुनर्विवाह गर्नुपर्ने पक्षमा उभिन्छिन्। उनी अरू एकल महिलालाई पुनर्विवाहका लागि प्रोत्साहन गर्ने गर्छिन्। भन्छिन्, ‘कम उमेरमा एकल बनेका र सन्तान भइनसकेका महिलाहरूले पुनर्विवाह गर्नुपर्छ।’ तर पुनर्विवाहपछि आउने समस्याबारे भने अगाडि नै सोच्नुपर्ने उनको तर्क छ। ‘विवाह संयोग हो। आफूले बुझेको र आफूलाई बुझ्ने मानिससँग सम्बन्ध जोड्नुपर्छ,’ उनी सुनाउँछिन्, ‘विचार मिलेन भने पुनर्विवाहले झनै समस्या ल्याउँछ।’ आफूले भने पुनर्विवाहबारे सोच्ने फुर्सदै नपाएको पेमाडोमा बताउँछिन्। ‘सामाजिक काम गर्दागर्दै आफ्नोबारे सोच्नै भ्याइनँ,’ उनी भन्छिन्। सन्तान भइसकेका एकल महिलाले फेरि विवाह गरे बच्चा टुहुरो भई भविष्य अन्योलमा पर्ने सोचाइ राख्छिन्। एकल महिला संघ ओखलढुंगाकी अध्यक्षसमेत रहेकी उनी महिलालाई असमान व्यवहार गर्ने समाजमा एकल महिलालाई त झनै गलत नजरले हेर्ने गरेको अनुभव सुनाउँछिन्।

सुनकोसी गाउँपालिकाकी अरुणा राई ३२ वर्षकी भइन्। उनी पनि एकल महिला हुन्। चार वर्षअघि उनका पतिले आत्महत्या गरे। त्यसयता अनेक आरोप सहँदै दुई सन्तानको रेखदेखमै उनका दिनहरू बितिरहेका छन्। पति थिरबहादुर राईले मृत्युलाई रोज्दा उनी २७ वर्षकी थिइन्। पतिको मृत्युपछि उनले परिवारजनबाटै हिंसा बेहोर्नुपर्‍यो। एकातिर पतिको मृत्युले निम्त्यिाएको पीडा, अर्कातिर छोराछोरी हुर्काउनुपर्ने जिम्मेवारी, त्यसमाथि थपियो अनावश्यक आरोप। भन्छिन्, ‘एक्लै कतै जाँदा कसैको पति वा कोही दाजुभाइसँग बोल्यो भने पनि कुरा काटिहाल्छन्। पति नभएपछि बिनासित्तिमा आरोप खेप्नुपर्ने रहेछ।’ एकल भएकै कारण हिजोसम्म आफ्नाले गर्ने व्यवहारमा पनि व्यापक परिवर्तन आएको देख्दा उनलाई पुनर्विवाह गरूँझैं लाग्छ तर अबोध सन्तानको भविष्य सम्झेर पछि हट्न बाध्य हुन्छिन्। भन्छिन्, ‘मन सम्हाल्छु, बच्चाको बिच्चली पारेर गई भन्ने पार्नु छैन। आखिर भाग्य नै नराम्रो छ भने अर्को विवाह गरेर राम्रो हुन्छ भन्ने पनि लाग्दैन।’ आफूले अर्को विवाह गरे छोराछोरीले अरूको काम गर्नुपर्छ, दुःख पाउँछन् भन्ने पिरलो भइरहने हुँदा उनी पुनर्विवाहबाट हच्किने गरेकी छन्।

सिद्धिचरण नगरपालिका–११ की खोमा तामाङको कथा भने फरक छ। पाँच वर्षअघि विवाह हुँदा उनी २१ वर्षकी थिइन्। दुई छोराकी आमा रहेकी पहिली पत्नी बितिसकेका व्यक्तिसँग उनको विवाह भयो। दुई छोराको रेखदेख गर्नुपर्छ भन्ने जानेरै दोस्री पत्नीका रूपमा आफूलाई भिœयाएको खोमा बताउँछिन्। पतिको दोस्री विवाह भए पनि उनको भने पहिलो विवाह थियो। ‘उहाँले मलाई झुक्याएर विवाह गर्नुभएको होइन। पहिलो पत्नी बितेको र छोराछोरी हुर्काउन गाह्रो भएको भनेर दुःख देखाउनुभयो। मन मिलेजस्तो लाग्यो अनि गर्‍यौं विवाह।’ खोमासँग विवाह गरेको ६ महिनापछि पति बिदेसिए। छोरा पनि जन्माइन्। केही समयपछि बिरामी भएर फर्किएका पतिको उपचारका क्रममा निधन भयो। अहिले तीन छोराको लालनपालन पढाउने जिम्मेवारी उनकै काँधमा आएको छ। उनी एकल भएपछि अरूले हेर्ने दृष्टिकोण फेरिएको छ। कसैसँग बोल्दा पनि छरछिमेकले कुरा काट्ने गरेको उनले बताइन्। उनलाई पुनर्विवाह गर्न मन नभएको पनि होइन। तर आफ्ना छोरा र पतिको पहिलो पत्नीतर्फका दुई छोराको जिम्मेवारीले पुनर्विवाहबारे सोच्न नदिएको उनको भनाइ छ।

यी चार एकल महिलालाई आधार बनाएर हेर्दा समाज र सन्तानकै कारण एकल महिलाले पुनर्विवाहबारे सोच्न नसकेको देखिन्छ। कुनै समय रातो पहिरनका लागि आवाज उठाउने एकल महिला अहिले आफ्नो शरीरमा आफ्नो अधिकारको सवाल उठाइरहेका छन्। एकल भइसकेपछि पुनर्विवाह गर्न पाउनु अधिकारको हो भन्ने यस क्षेत्रका अभियन्ताहरू बताउँछन्। २०६८ सालको जनगणनाअनुसार नेपालमा एकल महिलाको संख्या चार लाख ९८ हजार ६ सय ६ रहेको छ।

प्रकाशित: १३ माघ २०७५ ०३:३० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App