६ वैशाख २०८१ बिहीबार
समाज

बाल्टिया गाउँ शोकमा डुब्यो

सबैला (धनुषा) - शुक्रबार साँझ विद्युत् प्रवाह भई जन्ती बस दुर्घटना हुँदा ६ जनाको निधन भएपछि सबैला नगरपालिका–४ बल्टिया गाउँ शोकमा डुबेको छ। दिनभर वैवाहिक कार्यक्रममा रमाइरहेका स्थानीय साँझ भएको सो दुर्घटनापछि विक्षिप्त बनेका छन्। दिनभर छिमेकी गाउँबाट घटनाबारे बुझ्न आउनेहरूको भीड लागिरहेको छ। प्रहरीले चालकको लापरबाहीको कारण घटना भएको जनाएको छ। घटनालगत्तै फरार भएका चालकको खोजी भइरहेको धनुषा प्रहरीले जनाएको छ। विद्युत् प्राधिकरणको कमजोरी पनि दुर्घटनाको कारण रहेको प्रहरीको भनाइ छ। ‘चालक भेटिएपछि थप कुरा खुल्ने हो। तर प्रारम्भिक अनुसन्धानअनुसार यो घटनामा विद्युत् प्राधिकरण र बसचालक दुवै दोषी देखिन्छन्,’ धनुषा प्रहरी प्रमुख एसपी गोविन्द थपलियाले भने।

घटनास्थलमा बिजुलीको तार अलिकति झोलिएको अवस्थामा रहेको र पोखरीको डिल हुँदै बस लगिएपछि छतमा राखिएको ठूलो बाकसले तार छुँदा विद्युत् प्रवाह भई दुर्घटना भएको एसपी थपलियाको भनाइ छ। विद्युत् प्राधिकरणको स्थानीय (महेन्द्रनगर) शाखाले भने चालककै लापरबाहीले दुर्घटना भएको प्रतिक्रिया दिएका छन्। ‘घटना हुनुअगाडि दुईवटा बस सोही बाटो हुँदै गएका थिए। छतमा ठूलो बाकस राखिकाले बिजुलीको तारमा छोइएको हो,’ विद्युत् प्राधिकरण महेन्द्रनगर शाखाका इन्चार्ज राजकुमार रमणले भने।

सिन्धुली दुधौली नगरपालिका–९ जितपुरबाट जन्ती लिएर आएको लालिमा डिलक्सको ना५ख १७५२ नम्बरको बस ११ हजार भोल्टेजको बिजुलीको तार छुँदा भएको दुर्घटनामा ६ जनाको मृत्यु भएको थियो भने आठ जना घाइते भएका थिए।

शव आफन्तलाई बुझाइयो
दुर्घटनामा मृत्यु हुनेको शव पोस्टमार्टमपछि शनिबार आफन्तको जिम्मा लगाइएको छ। दुर्घटनामा स्थानीय एक महिलासहित ६ जनाको घटनास्थलमै मृत्यु भएको थियो। मृत्यु हुनेमा सिन्धुली दुधौली नगरपालिका–९ जितपुरका नौ वर्षीय आक्रोशकुमार अधिकारी, २० वर्षीया पूजा अधिकारी, १७ वर्षीया लीला अधिकारी, १० वर्षीय सुरज अधिकारी, ४५ वर्षीय रामबाबु अधिकारी र धनुषा सबैला–४ बाल्टियाकी ६० वर्षीया केशमदेवी कुमर छन्।

घटनामा गम्भीर घाइते भएका बसका कन्डक्टर पवन परियारलाई जनकपुर अञ्चल अस्पतालमा उपचार सम्भव नभएपछि विराटनगर लगिएको छ भने अन्य घाइतेहरू जितपुरकी ३० वर्षीया फुलकुमारी कुमर, ३१ वर्षीय बद्री कुमर, तीन वर्षीय हरवन कुमर, ६ वर्षीय कुञ्जन कुमर, १८ वर्षीया सरस्वती अधिकारी, १३ वर्षीय लीलप्रसाद अधिकारी र ४५ वर्षीय महेन्द्र अधिकारीको जनकपुर अञ्चल अस्पतालमै उपचार भइरहेको धनुषा प्रहरी प्रमुख एसपी थपलियाले जानकारी दिए।

सिन्धुली जितपुरबाट जन्ती बोकेर शुक्रबार बिहान सबैला बल्टियास्थित थारू बस्तीमा आएको थियो। साँझ घर फर्किन लागेको सोही बसमा अचानक विद्युत् प्रवाह भएपछि जनधनको क्षति हुन पुगेको थियो। विवाहमा बेहुली पक्षले कोसेलीका रूपमा घरेलु प्रयोगका सरसमानसहित जस्ताको ठूलो बाकस (ट्रंक) दिएको थियो। बसको क्षतमाथि राखिएको सोही बाकसले ११ हजार भोल्टेजको करेन्ट प्रवाह गरिरहेको बिजुलीको तारलाई छोएपछि बस दुर्घटनामा परेको प्रहरीले जनाएको छ।

सहयोग र उपचारको प्रतिबद्धता
प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले पनि बल्टिया घटनाको छानबिन गर्न जिल्ला प्रहरी कार्यालयलाई निर्देशन दिएका छन्। शनिबार प्रेस विज्ञप्ति जारी गर्दै उनले मृतकहरूप्रति शोक प्रकट गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेका छन्। मुख्यमन्त्री राउतले मृतकका परिवारलाई उचित सहयोग र घाइतेहरूलाई उपचारको व्यवस्था गराउने प्रतिबद्धतासमेत जाहेर गरेका छन्।

घटनापछि शनिबार जनकपुर अञ्चल अस्पताल पुगेका उद्योगमन्त्री मातृका यादवले मृतक केशमदेवी कुमरको परिवारलाई किरिया खर्चबापत २५ हजार रुपैयाँ उपलब्ध गराएका थिए। उनले एसपी थपलियालाई घटनाको निष्पक्ष छानबीन गरी दोषीलाई कारबाही गर्न निर्देशन दिए। प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवले पनि घटनाको निष्पक्ष छानबिन भइरहेको सपष्ट पारेका छन्।

प्रकाशित: १३ माघ २०७५ ०२:१२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App