coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

चोरीका गहना बिक्री गर्न खोज्दा...

खोटाङ– चोरीका गहना बेच्ने क्रममा खोटाङको मात्तिम–३ का १८ वर्षीय रोशिष ढकाल प्रहरीको फन्दामा परेका छन्। चोरी गरेको गरगहना बिक्री गर्नेक्रममा काठमाडौं मैतीदेबीस्थित दक्षिणकाली सुनचाँदी पसलका सञ्चालक ईन्द्रबहादुर बिश्वकर्माकै सहयोगमा ढकाल प्रहरीको फन्दामा परेका हुन्।

ढकाल बिना बिलका सुनका गहना बिक्रीकालागि पसलमा पुगेपछि व्यवसायीलाई शंका लागेर प्रहरीलाई खबर गरेका थिए। उनी दिक्तेल नगरपालिका–२ का होटल व्यवसायी सुवास आचार्यको चोरी भएको गरहना लिएर बिक्री गर्न मैतीदेबीस्थित सुनचाँदी पसल पुगेका थिए। व्यवसायीले बिल ल्याएपछि मात्र सुन बन्धकी राख्ने बताएपछि ढकालले सुवासकी श्रीमती पबित्रालाई एनसेलको नम्बरबाट गत बिहीबार ‘सुन चोर्ने मान्छे भेटिएको तर सुन फिर्ताकालागि बिल चाहिएकाले तत्काल बिल फ्याक्स गर्न’ लगाएका थिए।

बिल फ्याक्सबाट आएपछि तिनै बिलको प्रतिलिपी लिएर पुग्दा पनि दक्षिणकाली सुनचाँदी पशलका व्यवसायीले उनलाई शंकाको घेरामा राखेर १५ हजार पैसा दिएर बाँकी रकम लिनकालागि दिउँसो १ बजे बोलाए। दिउँसो भनेकै समयमा बाँकी रकम लिन पुगेका ढकाललाई व्यवसायीले २ हजार ५ सय दिएर रकम जम्मा नभएकाले बाँकी रकम लिन दिउँसो ४ बजे आउन आग्रह गरे। दक्षिणकाली सुनचाँदी पसलमा पुर्‍याइएका गहनामध्ये जन्तर, औंठी र कानमा लगाउने झुम्का सदरमुकाम दिक्तेलस्थित गौरब ज्वेलर्समा बनाइएको बिलमा उल्लेख थियो।

संयोगवस दक्षिणकाली सुनचाँदी पसलका सञ्चालक र गौरब ज्वेलर्सका सञ्चालक गोपाल बिश्वकर्माबीच चिनजान थियो। दक्षिणकाली सुनचाँदी पसलका सञ्चालकले दिक्तेलमा गौरब ज्वेलर्सलाई फोन सम्पर्क गरे। बिक्री गर्न लगिएको गहनाका बिषयमा उनीहरुबीच कुरा भएपछि गोपालले पनि सुन मालिक सुवासलाई खबर गरेका थिए। उता गहनाका बिल फ्याक्स गरेपछि भने ढकाल सम्पर्क बिहीन बने। उनले सम्पर्क गरेको फोन नम्बर पनि एक हेयर कटिङ सञ्चालकको रहेको खुल्यो। चिनजानका साथीहरुमार्फत फोन गर्दा उनले आफुलाई उदयपुरको कटारीमा रहेको बताएका थिए। त्यस बेला सम्ममा ढकाललाई पक्राउ गर्ने योजना खोटाङका डिएसपी नबिनकिशोर प्रधानमार्फत काठमाडौं प्रहरीसम्म पुर्‍याई सकिएको थियो। ढकाल शुक्रबार दिउँसो ४ बजे पैसा लिन दक्षिणकाली सुनचाँदी पसल पुग्नु अगावै पुगेका प्रहरीको फन्दामा परेका हुन्। उनको साथबाट १ थान सुनको चुरा, १ थान सुनको जन्तर, १ जोर कानमा लगाउने झुम्का फेला परेको प्रहरीले जनाएको छ।

राखेको ठाउँबाट बाला, बेरुवा औंठी, जन्तर, झुम्की लगायतका ४ तोला सुन र २५ हजार नगद चोरी भएको आचार्यले बताए। आचार्य परिवारलाई तीज आउनुभन्दा हप्ता दिनअघि मात्र गरगहना र नगद चोरी भएको विषयमा थाहा भएको थियो। आरोपित ढकाल सुवासकै होटलमा बसेर प्राबिधिक विषय अध्ययनरत थिए। गहना हराएको पत्ता लागेसँगै आचार्य परिवारले ढकालमाथि आशंका गरेर निगरानी गरेका थिए। ढकालको बयानका आधारमा दिक्तेलका एक युवालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रकाशित: १८ आश्विन २०७३ ०८:५३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App