८ वैशाख २०८१ शनिबार
राजनीति

'अब आर्थिक क्रान्ति आवश्यक'

एम्नेष्टी इन्टरनेसनल नेपाल समूह ६७ हेटौंडाको १९ औं वार्षिक साधारणसभामा सहभागी प्रदेश ३ का सभामुख सानुकुमार श्रेष्ठलगायत। तस्बिर : अशोकसुजन/नागरिक

मकवानपुर - प्रदेश ३ का सभामुख सानुकुमार श्रेष्ठले राजनीतिक क्रान्तिको कुरा छाडेर आर्थिक क्रान्ति गर्नुपर्नेमा जोड दिएका छन्। एम्नेष्टी इन्टरनेसनल नेपाल समूह ६७ हेटौंडाको शनिबार १९ औं वार्षिक साधारण सभामा बोल्दै उनले भर्खरै फेरिएको शासन प्रणाली संस्थागत गर्नुपर्ने बताए।

‘पार्टीहरूले अब आर्थिक क्रान्तिको कुरा गर्नुपर्छ,’ उनले भने, ‘अब पनि राजनीतक क्रान्तिको कुरा गर्नु देशलाई एक सय वर्ष पछाडि लैजानु हो।’ शिक्षा र सहकारी क्षेत्रमा आमुल सुधार गर्नुपर्नेमा जोड दिँदै उनले ती क्षेत्रलाई उत्पादनसँग जोड्न ढिला गर्न नहुने तर्क गरे। ‘शिक्षा नीति उत्पादनसँग नजोडेकाले शैक्षिक बेरोजगार उत्पादन भइरहेका छन्, त्यसैले अब शिक्षालाई उत्पादनसँग जोडेर नीति बनाउँनुपर्छ,’ उनले भने। स–सानो रोजगारीका लागि युवा शक्ति बैदेशिक रोजगारीमा गइरहेको बताउँदै उनले बचत तथा ऋणमा सीमित नराखी सहकारीलाई उत्पादनमुखी नीति बनाउने तयारी भइरहेको बताए।

संघीय सरकारले एक सय ३८ ऐन बनाउन बाँकी भए पनि करिब सय वटा कानुन बनाउनुपर्ने प्रदेशले २५ वटा बनाइसकेको उनको भनाइ छ। प्रदेशका नागरिकको प्रतिव्यक्ति आय एक हजार सात सयबाट वृद्धि गरी चार हजार अमेरिकी डलर बनाउने लक्ष्य प्रदेश सरकारले लिएको बताउँदै उनले सुनौलो भविष्य र सपना बोकेर अघि बढेको दाबी गरे। कार्यक्रममा एम्नेष्टी इन्टरनेसनल नेपालका अध्यक्ष विक्रम ढुकुछु, पूर्व केन्द्रीय अध्यक्ष प्रदिप पोखरेल, पूर्व जिल्ला संयोजक ह्यग्रीव आचार्य लगायतले मानव अधिकार संरक्षण र प्रबद्र्धनमा सरकार, राजनीतिक दलहरु, नागरिक समाज, मीडियालगायत सबै पक्ष जिम्मेवार हुनुपर्नेमा जोड दिएका थिए।

यसैबिच, इन्द्रबहादुर श्रेष्ठ स्मृती मानव अधिकार सम्मान २०७५ बाट बद्रीप्रसाद खतिवडालाई सम्मान गरिएको छ। उनलाई सभामुख श्रेष्ठले नगद सात हजार पाँच सय सहित दोसल्ला ओढाएर सम्मान गरेका थिए। तर सापकोटाले उक्त रकम एम्नेष्टी इन्टरनेसनल हेटौंडालाई प्रदान गरे। हरेक वर्ष प्रदान गरिने उक्त पुरस्कारबाट यसअघि अधिवक्ता रामकृष्ण देउला र तीर्थदेवी सिल्वाललाई सम्मान गरिसकेको छ।

प्रकाशित: १३ माघ २०७५ ०१:३५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App