coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

'असन्तुष्टिलाई बढाइचढाइ गर्नु अनावश्यक'

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको विकासका प्राथमिकता, नेपाली समाजको आर्थिक–सामाजिक अवस्थाबारे विश्व आर्थिक मञ्चको बैठकमा जानकारी गराएको बताएका छन्। मुलुुकको आर्थिक रुपान्तरणका लक्ष्य र विदेशी लगानी भित्र्याउन वर्तमान सरकारको नीतिबारे विश्व समुदायलाई जानकारी गराएको पनि उनले बताएका छन्।

स्विट्जरल्यान्डको डाभोसमा आयोजित विश्व आर्थिक मञ्चको ४९औं बैठकमा सहभागी भई स्वदेश फर्केका प्रधानमन्त्री ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँगको कुराकानीमा राजनीतिक विकासक्रम, शान्तिप्रक्रिया, संविधान जारी भएपछिका परिवर्तन र उपलब्धिबारे विभिन्न मुलुकका नेतालाई जानकारी गराएको बताएका हुन्। दक्षिण एसियाको राजनीतिक परिदृश्य र प्रजातन्त्रको भविष्य निर्धारण विषयक बेग्लाबेग्लै छलफलमा उद्यमशीलताको विकास, गरिब र धनीबीचको खाडल पुर्दै समतामूलक समाज निर्माणमा अग्रसर हुने, लोकतन्त्र र प्रेस स्वतन्त्रताको रक्षा, आर्थिक उन्नयनका निम्ति सम्पर्क सञ्जाल विस्तार, क्षेत्रीयता प्रवद्र्धनलगायतका विषयमा नेपालको धारणा राखेको छु’, प्रधानमन्त्री ओलीले भने, ‘लोकतन्त्र सुदृढीकरण, राजनीतिक, आर्थिक र सामाजिक क्षेत्रमा जनताका अधिकारको सुनिश्चितता, सार्वभौमसत्ता सम्पन्न जनताको सुरक्षा र सम्मान, प्रेसको अपरिहार्यता र त्यसको जिम्मेवारीबारे अभिमत प्रकट गरें।’

प्रधानमन्त्रीले मञ्चमा भाग लिन आएका विभिन्न राष्ट्रका राष्ट्राध्यक्ष, सरकार प्रमुख, आर्थिक क्षेत्रका विज्ञ, विद्वत् समुदाय, बहुराष्ट्रिय कम्पनीका प्रमुख कार्यकारी अधिकृतलगायत विशिष्ट व्यक्तिसँग अनौपचारिक विचारविमर्श गरेको बताए। ‘ती सबै छलफलमा समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्य साकार पार्न वर्तमान सरकार दत्तचित्त भएर लागेको जानकारी दिएको छु’, उनले भने।

‘तीन करोड मान्छे भएका ठाउँमा केही मानिसमा असन्तुष्टि अलिअलि हुन सक्छन्, केही चित्त नबुझेको हुन सक्छ । यस्तै कुराहरुलाई हामीले केके न असन्तुष्टि भयो भन्नु आवश्यक छैन ।

सञ्चारकर्मीले डा. गोविन्द केसीको अनशन र संसद्बाट पारित चिकित्सा शिक्षा विधेयकबारे जिज्ञासा राख्दा प्रधानमन्त्रीले भने , ‘कुनै पनि चिजको प्रक्रिया हुन्छ, सरकारले गर्ने कामको पनि प्रक्रिया हुन्छ, अरुको पनि प्रक्रिया हुन्छ। तपाईंहरुले जस्तो एउटा चिन्ता जाहेर गरिराख्नुभएको छ नि, त्यो चिन्ता जाहेर गरिरहनुपर्ने स्थिति छैन्। तीन करोड मान्छे भएका ठाउँमा केही मानिसमा असन्तुष्टि अलिअलि हुन सक्छन्, केही चित्त नबुझेको हुन सक्छ। यस्तै कुराहरुलाई हामीले केके न असन्तुष्टि भयो भन्नु आवश्यक छैन। अब लोकतन्त्रमा पक्ष–विपक्ष, अलिकति मतमतान्तर जस्ता कुराहरु साधारण हुन्। त्यसलाई त्यस्तै ढंगले, ठीकै ढंगले बुझ्नुपर्छ भन्ने मलाई लाग्छ।’ उनले संविधान र कानुनभन्दा माथि कोही पनि नहुने बताउँदै संवादबाट समस्या समाधान गर्ने र तर्क तथ्यमा आधारित हुनुपर्ने स्पष्ट पारे। उनले डा. केसीको अनशनबारे आफ्नो धारणा प्रस्ट गरेनन्।

प्रधानमन्त्रीले डाभोसमा सेपिङ द फ्युचर अफ डेमोक्रेसी अर्थात् भविष्यमा लोकतन्त्रलाई कस्तो आकारमा लग्ने भन्ने चर्चा भएको बताउँदै भने, ‘निर्वाचनमार्फत जनताले आफ्ना प्रतिनिधि निर्बाध ढंगले छान्ने प्रणालीलाई लोकतान्त्रिक प्रणाली भनिन्छ। तर लोकतान्त्रिक प्रणाली त्यतिमा मात्रै सीमित हुँदैन। आआफ्ना प्रतिनिधि छान्ने, सार्वभौमसत्ता सम्पन्न जनताको सार्वभौम अधिकारको सीमितता होइन, व्यापकता हुन्छ, सार्वभौमिकता हुन्छ। सार्वभौम जनता भनेको भोट दिने अधिकार राख्ने सार्वभौम जनतामात्रै होइन। सम्पूर्ण अधिकार, अवसर, सुरक्षा, सम्मानको उत्तिकै हकदार हुन्छ र सार्वभौमसत्ता सम्पन्न हुन्छ।’

‘बैंकखाता हेर्न गएको होइन’
नेपालीले विदेशी बैंकमा पैसा राखेको भन्ने जिज्ञासामा प्रधानमन्त्री ओलीले आफू स्विट्जरल्यान्ड बैंकका खाता हेर्न नगएको बताए। ‘म स्विट्जरल्यान्डमा बैंकको खाता हेर्न गएको थिइनँ, अन्तर्राष्ट्रिय आर्थिक मञ्चको कार्यक्रममा सहभागी हुन गएको थिएँ’, उनले भने, ‘बाहिर आएका हल्लाका सम्बन्धमा कति सही ढंगले, कति गलत ढंगले, कति के कारणले उठाइएका छन्। त्यसमा सत्यता कति छ, त्यो समयक्रममा अगाडि आउँछ।’

नेकपा अध्यक्ष पुष्पकमल दाहालले भेनेजुयलाका सम्बन्धमा निकालेको विज्ञप्तिबारे सोधिएको प्रश्नमा ओलीले आफू भर्खरमात्र आइपुगेकाले त्यसबारेमा बुझ्न बाँकी रहेको बताए।

कालो झन्डा देखाउने पक्राउ
प्रधानमन्त्री केपी ओली स्वदेश फर्कने क्रममा विवमानस्थलमा कालो झन्डा देखाउन पुगेका प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघका नेतालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेकामा सुशील भट्ट, सुवास घिमिरे, निरञ्जन थापा र सुदीप अधिकारी छन्। उनीहरुलाई बेलुका रिहा गरिएका छ। उनीहरु पार्टी नेताका नाममा स्थापित दुई अस्पताल खारेजी र गोविन्द केसीसँगको सम्झौताविपरीत चिकित्सा शिक्षा विधेयक पारितको विरोधमा प्रधानमन्त्रीलाई कालो झन्डा देखाउन विमानस्थल पुगेका थिए।

प्रकाशित: १३ माघ २०७५ ०१:१९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App