४ वैशाख २०८१ मंगलबार
खेल

आर्मीलाई हराउँदै थ्री स्टारले उचाल्याे सिमरा गाेल्डकपकाे उपाधि

उपाधिका साथमा थ्री स्टारका खेलाडी। तस्बिर : उपेन्द्र/नागरिक

बारा - साबिक विजेता त्रिभुवन आर्मी क्लबलाई सडन डेथमा स्तब्ध पार्दै रुस्लान थ्री स्टार क्लबले रुस्लान दशौं सिमरा गोल्डकपको उपाधि उचालेको छ।  सिमरा रंगशालामा शनिबार भएको फाइनलमा विभागीय टोली आर्मीलाई पराजित गर्दै थ्री स्टारले पहिलो पटक सिमरा गोल्डकपको उपाधि उचालेको हो।

थ्री स्टारलाई उपाधि दिलाउने क्रममा सडन डेथमा रञ्जन विष्टले गोल गरेका थिए।  आर्मीका सुमन अर्यालको प्रहारलाई थ्री स्टारका गोलरक्षक एलन न्यौपानेले बचाए। रञ्जनको प्रहारलाई भने आर्माीका गोलरक्षकले रोक्न सकेनन्।

यसअघि सडन डेथमा थ्री स्टारका फोफना फोडे, सुशील राईले गोल गर्दा दिनेश राजवंशीको प्रहार आर्मीका गोलरक्षक विकेश कुथुले बचाएका थिए।  सडन डेथमै आर्मीका विकेश तामाङ र विकाश खवासले गोल गर्दा दीपक गुरुङको प्रहार एलनले बचाउ गरेपछि अन्तिम भिडन्त थप रोमाञ्चक बन्न पुगेको थियो।  

यसअघि निर्धारित समयमा दुवै टोलीले गोलरहित बराबरी खेलेपछि फाइनल टाइब्रेकरमा धकेलिएको थियो।  टाइब्रेकरमा दुवै टोलीले ४–४ को बराबरी खेलेपछि नतिजा सडन डेथबाट निस्किएको हो।  टाइब्रेकरमा थ्री स्टारका कप्तान विक्रम लामा, अनन्त तामाङ, रञ्जित धिमाल र रूपेश केसीले गोल गरे भने सुनील बलको प्रहार विकेश कुथुले बचाएका थिए।  टाइब्रेकरमै आर्मीका कप्तान भरत खवास, दीप लामा, विवेक बस्नेत र सन्तोष तामाङले गोल गर्दा गोलरक्षक विकेश कुथुको प्रहार थ्री स्टारका एलन न्यौपानेले बचाउ गरेका थिए। 

सिमरा गोल्डकपको विजेताको सूचीमा नाम लेखाउन सफल थ्री स्टारले ट्रफीसहित ६ लाख रुपियाँ नगद हात पारेको छ।  उपविजेता आर्मीले तीन लाख प्राप्त गरेको छ।  विजेता तथा उपविजेता खेलाडीलाई प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थ, पूर्व युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेल र जितपुरसिमरा उपमहानगरपालिकाका मेयर डा. कृष्ण पौडेलले पुरस्कार वितरण गरेका थिए।

प्रतियाेगितामा उपाधि जित्न सफल खेलाडी
सर्वोत्कृष्ट खेलाडी : सुशिल राई, थ्रीस्टार (यामाहा सेलुटो बाइक)
उत्कृष्ट गोलरक्षक : एलन न्यौपाने, थ्रीस्टार ( रु २०,०००)
उत्कृष्ट डिफेन्स : अडामा डाम्बिया, थ्रीस्टार (रु २०,०००)
उत्कृष्ट फरवार्ड : टंक बस्नेत, आर्मी (रु २०,०००)
उत्कृष्ट मिडफिल्डर : सन्तोष तामाङ, आर्मी (रु २०,०००)
उत्कृष्ट प्रशिक्षक : मेघराज केसी, थ्रीस्टार (रु २०,०००)
प्रतिभावान खेलाडी : निकेश थापा, नवजनजागृति यूवा क्लब सिमरा ( रु १५,०००)

प्रकाशित: १२ माघ २०७५ १४:३४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App