१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

एकदिवसीय क्रिकेट : नेपालद्वारा युएईसामु २४३ रनको लक्ष्य प्रस्तुत, राेहितकाे अर्धशतक

काठमाडौं – युएईसँगको एकदिवसीय क्रिकेटको दोस्रो खेलमा नेपालले सुधारिएको ब्याटिङ गरेको छ। दुबईस्थित आइसीसी क्रिकेट एकेडेमीमा जारी खेलमा नेपालले युएईलाई जितका लागि २ सय ४३ रनको लक्ष्य दिएको छ।

टस जितेर पहिला ब्याटिङ गरेको नेपालले पूरै ५० ओभर खेल्दै ९ विकेटको क्षतिमा २ सय ४२ रन बनाएपछि युएईले जितका लागि २ सय ४३ रनको लक्ष्य पाएको हो। एकदिवसीय क्रिकेटमा नेपालले बनाएको यो सर्वाधिक ठूलो स्कोर हो।

नेपालका लागि रोहितकुमार पौडेलले ५५ रनको अर्धशतकिय पारी खेले।  उनले ५८ बलमा ७ चौंका प्रहार गरे। युवा ब्याट्सम्यान रोहितको यो एकदिवसीय क्रिकेटको पहिलो अर्धशतक हो। रोहितले छैटौं विकेटका रुपमा आरिफ शेखसंग मिलेर ८२ रनको साझेदारी गरे। आरिफ ४९ बलमा २९ रन जाेड्दै पवेलियन फर्किए।

ओपनर ज्ञानेन्द्र मल्ल र बिनोद भण्डारीले पहिलो विकेटका रुपमा ६१ रनको राम्रो साझेदारी गर्दै नेपाललाई बलियो सुरुवात दिलाएका थिए। १६ औं ओभरमा आउट हुनुअघि बिनोदले ४६ बलमा २ चौकाको मद्धतमा २१ रन जोड्दा अर्का ओपनर मल्लले पनि ६१ बलमा ४ चौंकाकाे सहायतामा ४४ रनको योगदान दिए। एकदिवसीय क्रिकेटमा नेपालका ओपनरले गरेको यो सर्वाधिक ठूलो साझेदारी हो।

त्यस्तै कप्तान पारस खड्काले २१, करण केसीले ११ बलमा १ चौंका र २ छक्काको सहायतामा १८, सन्दीप लामिछानेले नटआउट १४ र दिपेन्द्रसिंह ऐरीले १० रनको योगदान दिए। पवन सर्राफ ८ र सोमपाल कामीले २ रनको योगदान दिँदा ललित राजवंशी ३ रनमा नटआउट रहे।

युएईका लागि अमिर हयात र इमरान हेइदरले समान ३–३ तथा मोहम्मद नाभिद, जाहोर खान र अस्फाक अहमदले एक–एक विकेट लिए।

तीन खेलको एकदिवसीय र तीन खेलको टी–२० सिरिज खेल्न युएई पुगेको नेपाल शुक्रबार भएको पहिलो एकदिवसीय खेलमा ३ विकेटले पराजित भएको थियो। सिरीज जित्ने आसा कायमै राख्न नेपाललार्इ आजको खेलमा जित्नै पर्ने दबाब छ।

प्रकाशित: १२ माघ २०७५ ०९:२५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App