७ वैशाख २०८१ शुक्रबार
अन्य

जीर्ण बने टुँडिखेल आसपासका आकासे पुल

काठमाडौंको रत्नपार्क चोकनजिकै रहेको आकासे पुल ।

काठमाडौं उपत्यकामा बटुवालाई मुख्य सडक पार गर्न बनाइएका टुँडिखेल आसपासका आकासे पुल जीर्ण र फोहर बनेका छन्। सरसफाई र मर्मत गर्ने गर्ने निकायले ध्यान नदिँदा ट्राफिक जाम घटाउन र सडक दुर्घटना न्यून गर्न बनाइएका आकासे पुल फोहर बनेका हुन्।

अहिले रत्नपार्क, सुन्धारा, जमल, सहिदगेट क्षेत्रका पुलमा मलमूत्र र फोहर थुप्रिएको देखिन्छ। यसमा बटुवा र  फुटपाथ व्यापारीको लापरबाही पनि देखिएको छ। फुटपाथ व्यापारी र बटुवाले जथाभावी फोहर गर्दा नाक थुनेर पुल पार गर्न बाध्य हुनपर्ने स्थिति छ।

पुलमाथि फुुटपाथ व्यापारीले सामान फिँजाएर झन् अस्तव्यस्त पारेका छन्। महानगरपालिका अन्र्तगतको नगर प्रहरी, पुल सफा गर्ने जिम्म पाएको  इनोभेटिभ कम्पनी प्राली, फुटपाथ व्यापारी र बटुवाको लापरबाहीले पुल फोहार बनेका हुन्।

महानगपालिकाले सम्झौता गरेर पुल हेरचाह तथा मर्मत गर्ने जिम्मा ५ वर्ष अघिदेखि इनोभेटिभ कम्पनी प्रालिलाई दिएको थियो। तर, कम्पनीले पुलबाट आर्थिक फाइदा मात्र उठाएको छ। पुलको हेरचाह र संरक्षणमा भने बेवास्ता गरेको देखिन्छ। पुल संरक्षण र सरसफाइमा ध्यान नदिएको कम्पनीले विज्ञापन राखी पुललाई कमाइखाने भाँडो बनाएको पैदलयात्रुको आरोप छ। ‘पुलमा उभिन पनि डर लाग्छ, फोहर पनि उस्तै हुन्छ, नयाँवानेश्वरस्थित थापागाउँ बस्ने कपिल घिमिरेले भने, ‘सरकारी निकायले थोरै जनशक्ति र रकम खर्च गरेर गर्न सक्ने काम पनि गरेको छैन।’

यसबारे काठमाडौं महानगरपालिकाले कुनै चासो देखाएको छैन। महानगरका अनुसार यस क्षेत्रका पुल करिब १० वर्ष पुराना हुन्। पुराना आकासे पुल जीर्ण भइसकेका कारण जोखिमपूर्ण अवस्थामा पनि छन्। १० पुराना आकासे पुल रत्नपार्क क्षेत्रमा नै ९ वटा छन्। १० वर्षअघि निर्मित पुल जीर्ण भए पनि ती पुलको साटो नयाँ पुल निर्माण गर्न कामपासँग कुनै योजना छैन।

एउटा पुलमा ५ भन्दा बढी फुटपाथ पसल र होर्डिङ बोर्ड टाँसिएका छन्। ती पसलहरुबाट एक महिनामा प्रतिपसल २० हजारका दरले इनोभेटिभले रकम उठाउने गरेको फुटपाथ व्यापारी महेश थापाले बताए। उनका अनुसार कम्पनीले रकम असुल्ने गरेपछि पुल सरसफाइमा चासो देखाएको छैन। ‘हामीले साझँको बेला बटुवालाई बाटो छाडेर व्यवसाय गर्छौं, अर्को दिन आउँदा पुलको दिसाबपिसाब हुन्छ,’ उनले भने, ‘यसलाई कस्ले हेर्ने ?’

काठमाडौं महानगरपालिकाले पुलको मर्मत तथा वरपर सरसफाइ गर्ने सर्तमा इनोभेटिभलाई जिम्मा लगाएको थियो। पुलको रेखदेख र मर्मतसम्भार सम्झौताअनुसार महानगरले दिएको जिम्मेवारी पन्छाएर कम्पनीले कमाउने थलोका रुपमा लिँदै आएको छ। कम्पनीले एक वर्षमा कामपालाई २२ लाख रुपैयाँ राजस्व बुझाउँछ। पुलमा राखिएका होर्डिङ बोर्ड र पसलबाट पर्याप्त राजस्व उठे पनि कम्पनीले पुल मर्मतसम्भार र सरसफाइ गरेको छैन। महानगरले अनुगमन नगरेका कारण पुल वरपर फुटपाथ व्यापारी बटुवा हिँड्नै नमिल्ने गरी सामान फिजाउँछन्।

इनोभेटिभ कम्पनी प्रालिका प्रमुख मनोज भेटुवालले पुल मर्मतसम्भार र सरसफाइ कम्पनीले गर्ने भए पनि कामको अनुगमन महानगरले नै गर्नुपर्ने बताए। उनका अनुसार पुल मर्मतसम्भारको दायित्व कम्पनीको भए पनि पुलमा फुटपाथ व्यापारी हटाउने र अनुगमन महानगरपालिकाको हो तर महानगरले पनि आफ्नो दायित्व पूरा नगरेको भेटुवालको आरोप छ। ‘हामीले सकेसम्म सफा गरिदिएका छौं तर महानगरको अनुगमन राम्ररी भएन, हामीले गरेको आम्दानीको आधारमा पुल सफा राख्ने काम गरिरहेका छौं, यसमा महानगरअन्र्तगतको प्रहरीले पनि साथ दिनुपर्छ,’ उनले भने।

काठमाडौं महानगपालिकाका प्रवक्ता इश्वरमान डंगोलले पुल सफा गर्न कम्पनीलाई निर्देशन दिइएको जानकारी दिए। उनले पुराना पुल मर्मत गर्ने र फोहर हटाउने काम केही दिनमै हुने बताए। ‘पुल धेरै नै फोहर र अस्तव्यवस्त बनेपछि महानगरले त्यसतर्फ चासो देखाएको छ,’ उनले भने, ‘फुटपाथ हटाउने तथा रत्नपार्क र टुँडिखेलको आसपासमा सफा गरेर चिटिक्क पार्न निर्देशन नगरप्रहरी र पुल सफा गर्ने जिम्मा पाएको कम्पनीलाई दिएका छौं।’ उनका अनुसार रत्नपार्क क्षेत्रका पुल अत्यन्तै जीर्ण बनेकाले केही ठाउँमा मर्मतको काम पनि भइरहेको छ। उनका अुसार यस क्षेत्रमा नयाँ पुल थप्ने योजना महानगरसँग छैन।

सामान्य तरिकाले मर्मतसम्भार गर्ने योजना मात्रै तय भएको प्रवक्ता डंगोलले जानकारी दिए। यस क्षेत्रका पुल बनाउँदा १० वर्ष अघि २ करोड रुपैयाँ खर्च भएको थियो। अहिले त्यस्तै ढंगले नयाँ पुल थप्न त्यसको दोब्बर रकम लाग्छ। तर महानगरले नयाँ पुल थप्नका निम्ति बजेट विनियोजन गरेको छैन। कम्पनीलाई नै सामान्य ढंगले टालटुल पार्न निर्देशन दिएको छ।

प्रकाशित: १२ माघ २०७५ ०८:०२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App