coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

प्याराग्लाइडिङ विश्वकप नियाल्दा

मिलन केसी, कक्षा – ६
बालज्योति कम्युनिटी एकेडेमी, स्याङ्जा

गाउँमा हजुरबुबाले महापुर मैदानको सौन्दर्यबारे कहानी सुनाइरहनुहुन्थ्यो। उहाँ त सानैमा धेरै पटक त्यस स्थानमा पुगिसक्नुभएको रहेछ। महापुर मैदानका बारेमा उहाँले भनेका कुरा सुन्दा मलाई अहिले भर्खरै त्यहाँ जाऊँजाऊँ लागिरहन्थ्यो। अरू बेला पनि त्यहाँ विभिन्न सांस्कृतिक उत्सव, हाटबजार, मेला आदि भइरहन्थे। त्यतिबेला पनि आफ्ना अभिभावकसँग साथीहरू त्यहाँ जाने कुरा सुन्दा मलाई पनि निकै रहर लाग्थ्यो। तर, हजुरबुबा अशक्त भएकाले उहाँसँग त्यहाँ पुग्न सम्भव थिएन। घरगाउँमा मेलापात र अन्य कामको चटारो भएकाले बुबाआमालाई फुर्सद नै हुँदैनथ्यो। एक्लै त्यहाँसम्म पुग्ने आँट थिएन। त्यसैले गाउँमै छँदा सानो भएका कारण म त्यहाँ पुग्न सकिरहेको थिइनँ। 

यसपालि भने अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता भएकाले महापुर मैदानको चर्चा अलि बढी नै भयो। स्वदेश तथा विदेशका हजारौँ मानिस प्याराग्लाडिङको मनमोहक दृश्य हेर्न एकहप्ता अघिदेखि नै महापुर मैदानमा आइपुगे। यसपालि त मलाई पनि आफ्ना अभिभावकसँग त्यहाँ जाने अवसर मिल्यो। कार्तिक १७ गते शनिबारका दिन उज्यालो नहुँदै खाजा खाएर हामी प्याराग्लाइडिङ स्थलतिर लाग्यौँ। झन्डै तीन घन्टाको पैदलयात्रामा हामी कार्यक्रम स्थलमा पुग्यौँ। हामीलाई बेस्सरी थकाइ लागेको थियो। त्यसैले एकछिन त्यहीँको शीतल छहारीमा आराम गर्दै फाँटतिर देखिएका सुन्दर दृश्यहरूको अवलोकन गर्न थाल्यौँ। राजधानीको स्वयम्भूबाट पूरै काठमाडौँ उपत्यका देखिएजस्तै त्यहाँबाट पनि पूरै बयरघारी बजार प्रस्ट देखिँदो रहेछ। 

एकछिन अघिसम्म रित्तो देखिएको आकाश एकैछिनमा प्याराग्लाइडरहरूले झकिझकाउ भयो। निलो र सफा आकाशमुनि रङ्गीचङ्गी प्याराग्लाइडरहरू उडिरहेको दृश्य साँच्चिकै मनमोहक देखिन्थ्यो।

पूर्वीक्षितिजमा भर्खरै सूर्य देखिएका थिए। बिहानपख सूर्यका सुनौला किरणहरू त्यहाँको धर्तीमा छरिँदाको दृश्य असाध्यै मनमोहक देखिँदोरहेछ। उत्तरतिर अन्नपूर्ण, माछापुच्छ्रे र धौलागिरि हिमाल चम्किलो अनुहारसहित हाँसिरहेझैँ प्रतीत हुन्थ्यो। त्यहाँबाट बयरघारी, भारथान, दहथुम, पकान, डौँवा, सिमलचौर र बगरेबजारका फाँटहरू स्पष्ट देखिन्थे। फाँटको बिचबाट निलो रङको आँधीखोला शान्त गतिमा बगिरहेको थियो। कात्तिक महिनाको मध्यसमय भएकाले फाँटैभरि धान पहेँलपुर भइसकेका थिए। कतैकतै कृषकहरू धान काट्न पनि व्यस्त देखिन्थे। कहीँकहीँ त एकाध खरै पनि हालिसकिएको रहेछ। त्यो दृश्य देखेर बुबाआमाले आफ्नो बाल्यकाल सम्झनुभयो। उहाँहरूले सानो छँदा त्यही फाँटमा मेलापात गर्न जाँदाका रमाइला प्रसङ्गहरू पनि सुनाउनुभयो। उहाँहरूका सङ्घर्षपूर्ण र रमाइला अतीत सुनेर म भावुक भएँ।

कात्तिक १५ गतेदेखि प्रारम्भ भएको प्रतियोगिता ५ दिनसम्म चल्दै थियो। हामी तेस्रो दिन त्यहाँ पुगेका थियौँ। हामी पुग्दा त्यसदिनको खेलका लागि अन्तिम तयारी गरिँदैथियो। महापुर मैदानभरि प्याराग्लाइडिङप्रेमी खेलाडी र दर्शक खचाखच भरिएका थिए। नेपाल प्याराग्लाइडिङ तथा ह्यान्डग्लाइडिङ सङ्घ, नेपाल हवाई खेलकुद सङ्घ र बाबु एडभेन्चर क्लबले प्रतियोगिताको आयोजना गरेका रहेछन्। ‘प्रथम प्याराग्लाइडिङ एक्युरेसी विश्वकप प्रतियोगिता’ नाम दिइएको उक्त खेलमा नेपालसहित पच्चीस मुलुकका तीन सय खेलाडीको उपस्थिति रहेछ।

अमेरिका, बेलायत, जापान, फ्रान्स, चीन, क्यानाडा, नेदरल्यान्ड, स्पेन, स्वीट्जरल्यान्ड, सिङ्गापुर, मङ्गोलिया, मलेसिया, थाइल्यान्ड, टर्की, सोल्भानिया, कोरिया, इन्डोनेसिया, साउदी अरब, भारत, बङ्गलादेश, पाकिस्तान, इरान र नेपालका झन्डै तीन सयभन्दा बढी खेलाडीले प्रतियोगितामा भाग लिएका रहेछन्। एकल तथा समूहगत गरी दुई चरणमा प्रतियोगिता हुँदैथियो। महापुर मैदानबाट उडान भरेका खेलाडीहरूलाई आँधीखोलाको किनारमा अवस्थित डौँवामा अवतरणको व्यवस्था मिलाइएको रहेछ।

सन् २०२० मा आयोजित नेपाल भ्रमण वर्षमा साहसिक हवाई पर्यटकको सङ्ख्यामा वृद्धि गर्न, हवाई खेलहरूमा भएका सम्भावनाहरूलाई प्रचारप्रसार गर्न, नेपाली हवाई खेलाडीहरूलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवद्र्धन गर्न, यसलाई व्यावसायिक पर्यटनका रूपमा विकास गर्न तथा स्याङ्जाको आँधीखोला उपत्यकालाई नेपालको हवाई खेलकुद उडान क्षेत्रका रूपमा विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको कुरा पनि मैले त्यहाँ पुगेर थाहा पाएँ।

हामी त्यहाँ पुगेका झन्डै दुई घन्टापछि प्रतियोगिता सुरु भयो। प्रतियोगीहरू आआफ्ना प्याराग्लाइडरमा पालैपालो आकाशमा उड्न थाले। एकछिन अघिसम्म रित्तो देखिएको आकाश एकैछिनमा प्याराग्लाइडरहरूले झकिझकाउ भयो। निलो र सफा आकाशमुनि रङ्गीचङ्गी प्याराग्लाइडरहरू उडिरहेको दृश्य साँच्चिकै मनमोहक देखिन्थ्यो। ठाउँठाउँमा दर्शकहरू गुरुम्म भएर हुटिङ गरिरहेका थिए। गाउँका मानिसहरू आआफ्ना जातीय पोसाकमा सजिएर आएको दृश्यले वातावरण थप आकर्षक बनाइदिएको थियो। बुबाआमासँग पोखरा जाँदा मैले त्यहाँको आकाशमा पहिलोचोटि प्याराग्लाइडर देखेको थिएँ। पोखराको आकाशभरि प्याराग्लाइडरहरू देख्दा म छक्कै परेको थिएँ। त्यसको दुई वर्षपछि आफ्नै घरमाथिको आकाशमा पनि मैले प्याराग्लाइडिङको दृश्य देखेँ। तर, त्यसमा मानिसहरू कहाँबाट कसरी उड्छन् र कहाँ गएर ओर्लन्छन् भन्ने कुराचाहिँ मलाई थाहा थिएन। महापुर मैदानमा पुगेपछि मैले प्याराग्लाइडिङका सबै प्रक्रिया देख्ने अवसर पाएँ। त्यहाँ सयौँ प्याराग्लाइडरहरू आन्तरिक अभ्यासमा व्यस्त देखिन्थे। 

हरेक ग्लाइडरमा ठूलो झोलाजस्तो बस्ने सिट हुँदोरहेछ। त्यसमा थुप्रै मसिना तर बलिया डोरीहरू लगेर ठुलो बेलुनजस्तो सामानमा जोडिएको हुँदोरहेछ। प्याराग्लाइडिङ गर्ने मान्छे त्यही झोलामा बसेर भिरालो ठाउँमा माथिबाट तल कुदेपछि बेलुनजस्तो सामानमा हावा भरिँदोरहेछ र त्यसैको सहारामा मानिस मज्जाले आकाशमा उड्न सक्दोरहेछ। मलाई उक्त दृश्य देख्दा सुरुमा त अत्यन्त रमाइलो लाग्यो तर आकाशमा त्यति माथि पुगेर तलको दृश्य सम्झँदा आङै सिरिङ्ङ भयो। आजभोलि एउटा गाइडको सहायतामा जो पनि प्याराग्लाइडरमा चढेर उड्न सक्दोरहेछ। तर चालक हुन भने विशेष तालिम नै लिनुपर्ने कुरा मलाई बुबाले बताउनुभयो।

महापुरमा उडानको क्रम सकिएपछि त्यहाँ उपस्थित साधन भएका अधिकांश दर्शक हतारहतार अवतरणको दृश्य हेर्न डौँवाफाँटतिर ओर्लिए। हामीसँग साधन थिएन। भोकले निकै सताइसकेको थियो। त्यसैले स्थानीय गाउँलेले तयार पारेको स्वादिष्ट भोजन खाएर हामी पनि पैदलयात्रामा बिस्तारै ओरालो झर्‍यौँ। फर्कँदा बाटामा मैले बुबासँग प्रतियोगितामा विजयी हुनेहरूले प्राप्त गर्ने पुरस्कारका बारेमा जिज्ञासा राखेँ। उहाँले प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान हासिल गर्नेले स्वर्णपदकसहित क्रमशः पन्ध्र, बाह, सात र पाँच सय युरो प्राप्त गर्ने बताउनुभयो। 

ती पुरस्कारको नेपाली राशि सुन्दा त म झनै आश्चर्यचकित भएँ। घरमा पुगेपछि म नतिजा आउने समयको प्रतीक्षा गरेर बसिरहेँ। दुई दिनपछि साँझपख स्थानीय सञ्चारमाध्यमबाट विजेताहरूको घोषणा गरियो। प्रतियोगितामा पुरुष समूहतर्फ कोरियाका स्याङ्गुई लिम प्रथम, कोरियाकै जिहुन यू द्वितीय, कोरियाकै किम कि ह्योनले तृतीय र स्लोभानियाका एडमले सान्त्वना स्थान हासिल गरेछन्। खेलमा नेपालका चर्चित प्याराग्लाइडर युकेश गुरुङ आठौँ स्थानमा परेछन्। १७ वर्षको कलिलो उमेरमा उनले प्राप्त गरेको यो सफलता देखेर मेरो पनि हौसला बढ्यो।

त्यस्तै महिलातर्फ कोरियाकी हेयुन हि किम प्रथम, कोरियाकै इउन इयोङ चो द्वितीय र इन्डोनेसियाकी गीता रेज्की गुन्टरी तृतीय भएका रहेछन्। महिला खेलमा नेपालकी सविता तामाङले छैटौँ स्थान प्राप्त गरेको खबर सुन्दा अवसर पाए नेपाली महिलाहरूले पनि गरेर देखाउन सक्दारहेछन् भन्ने कुरा प्रमाणित भयो। यसरी नेपालकै इतिहासमा विश्वकप प्याराग्लाइडिङ प्रतियोगिता आफ्नो जन्मभूमिमा हुँदा मलाई अत्यन्त गौरवानुभूति भयो। विश्वकै ध्यान आकर्षण गर्दै भव्यताका साथ विश्वस्तरीय यो प्रतियोगिता सकियो। तर मेरा मनमा भने प्रतियोगिताका विजेताहरूले प्राप्त गरेजति रकमराशिको पुरस्कार जित्ने आफ्ना दिन कहिले आउलान् भन्ने कुतूहलता खेलिरह्यो। 

प्रकाशित: १२ माघ २०७५ ०६:२९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App