७ वैशाख २०८१ शुक्रबार
खेल

धनबहादुर र सरस्वती भलिबलको वर्ष खेलाडी

काठमाडौं – विभागीय टोलीका खेलाडीद्वय धनबहादुर भट्ट र सरस्वती चौधरी नेपाल भलिबल संघले प्रदान गरेको एनभिए अवार्डमा वर्ष उत्कृष्ट पुरुष र महिला खेलाडी घोषित भएका छन्।

भलिबल संघले आयोजना गरेको अवार्डमा त्रिभुवन आर्मी क्लबका धनबहादुर भट्ट पुरुषतर्फ उत्कृष्ट वर्ष खेलाडी चयन हुँदा विभागीय टोली सशस्त्र प्रहरी बल एपिएफकी सरस्वती चौधरी महिलातर्फ वर्ष खेलाडी चुनिएकी हुन्। गत वर्षको प्रतियोगितामा गरेको उत्कृष्ट प्रदर्शनलाई मूल्याङ्कन गर्दै संघले भट्ट र चौधरीलाई उत्कृष्ट खेलाडी घोषित गरेको हो।

उत्कृष्ट दुवैले जनही २५–२५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे। एपिएफकै विनोदबहादुर चन्द पुरुषमा उदीयमान खेलाडी घोषित हुँदा महिलातर्फ आर्मीकी ओपन स्पाइकर निरुता ठगुन्नाले सोही सफलता प्राप्त गरिन्। एपिएफको महिला टोलीलाई प्रशिक्षण गर्दै आएका ज्ञानेन्द्र बिष्टले उत्कृष्ट प्रशिक्षक अवार्ड प्राप्त गर्दा पुरुषतर्फ भने कपिलकिशोर श्रेष्ठले सफलता हात पारे। उत्कृष्ट सबैले २५–२५ हजार रुपैयाँ हात पारे।

एपिएफ क्लब उत्कृष्ट महिला टिम घोषित हुँदा आर्मी पुरुषतर्फ उत्कृष्ट टोली घोषित भयो। उत्कृष्ट दुबै टोलीले नगद एक–एक लाख पुरस्कार हात पारे। सोही कार्यक्रममा भलिबलका पूर्वकप्तानद्वय भरत शाह र अञ्जु श्रेष्ठलाई पनि सम्मान गरिएको थियो। दुबैलाई भलिबल खेलमा योगदान पुर्याएको भन्दै संघले नगदसहित सम्मानपत्र प्रदान गर्यो। कप्तानद्वय भरत र अञ्जु नगद २५–२५ हजार रुपैयाँबाट सम्मानित भए।

प्रकाशित: १२ माघ २०७५ ०५:१० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App