coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
खेल

आर्मीलाई महिला हक्कीको उपाधि

उपाधिका साथ नेपाल आर्मीका खेलाडीहरु। तस्बिरः अशोकसुजन/नागरिक

मकवानपुर – हेटौंडामा सम्पन्न सहाना प्रधान स्मृति प्रथम महिला राष्ट्रिय हक्की प्रतियोगिताको उपाधि विभागीय टिम त्रिभुवन आर्मीले हात पारेको छ। शुक्रबार भएको फाइनलमा प्रदेश नम्बर–३ लाई पेनाल्टी स्ट्रोकमा ३–० गोलअन्तरले पराजित गर्दै आर्मीले उपाधिमाथि कब्जा गरेको हो।

खेलको १७औं मिनेटमा प्रदेश–३ की निलिमा पाण्डेयले गोल गर्दै टिमलाई अग्रता दिलाएकी थिइन्। तर खेलको ३३औं मिनेटमा आर्मीकी सीताकुमारी चौधरीले १ गोल गर्दै बराबरीमा ल्याउन सफल भइन्। निर्धारित ७० मिनेटको खेलमा १–१ गोलको बराबरीमा सकिएपछि उपाधि विजेताको चयन पेनाल्टी स्ट्रोकबाट गरिएको थियो।

खेलमा पहिलो गोल गरे पनि प्रदेश–३ लाई आर्मीले दबावमा राखेको थियो। पेनाल्टी स्ट्रोकमा आर्मीकी अमा गुरुङ, सीताकुमारी चौधरी र सीतामाया बलले गोल पोस्टको जाली चुमाउन सफल भए। तर, प्रदेश–३ की गोलकिपर पुनम क्षेत्रीले आर्मीकै अञ्जना चन्दको प्रहार भने रोक्न असफल भइन्। प्रदेश–३ का तर्फबाट अञ्जु गुरुङ र स्मृति खत्रीको प्रहार आर्मीका गोलकिपर कुष्मा रानामगरले बिफल पारिन् भने निलिमा पाण्डेयको बल पोस्टबाहिर प्रहार भयो।

तेस्रो स्थानको लागि शुक्रबारै भएको खेलमा गण्डकी प्रदेशले जित हात पारेको छ। गण्डकी प्रदेशले सुदूरपश्चिम प्रदेशलाई सडेनडेथमा पराजित गर्न सफल भएको हो। निर्धारित ७० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि खेल टाइब्रेकर खेलाइएको थियो।

टाइब्रेकरमा पनि खेल २–२ गोलको बराबरी भएपछि सडेनडेथबाट खेलको विजेता घोषणा गरिएको थियो। सडेनडेथमा गण्डकीकी कमला पुनले गोल गर्दै टिमलाई जित दिलाइन्। टाई ब्रेकरमा भने गण्डकीबाट कमला पुन र सविना पुनले गोल गरेकी थिइन् भने सुदूरपश्चिमबाट सुनीता नेगी र सञ्जु चौधरीले गोल गरेकी थिइन्। प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो टिमले शिल्ड प्राप्त गरे।

प्रतियोगिताको उत्कृष्ट खेलाडी प्रदेश–३ की निलिमा पाण्डेय, उत्कृष्ट गोलकिपर आर्मीकी कुष्मा रानामगर, सर्वाधिक गोलकर्ता आर्मीकै सरिता मेचे (५ गोल) र उदीयमान खेलाडी गण्डकीकी कमला पुन घोषित भए। चारैले जनही पाँच हजार रुपैयाँ प्राप्त गरे। नेपाल हक्की संघको आयोजनामा भएको प्रतियोगिताका विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार बिष्ट, नेपाल हक्की संघका उपाध्यक्ष मनिष झा र सचिव रञ्जन थापा लगायतले पुरस्कृत गरे।

राखेपका सदस्यसचिव विष्टले सहाना प्रधानको व्यक्तित्वको वर्णन गर्दै प्रत्येक वर्ष प्रतियोगितालाई निरन्तर रूपमा आयोजना गरिने बताउँदैे झापामा केही समयपछि गिरिजाप्रसाद कोइराला स्मृति पुरुष राष्ट्रिय हक्की प्रतियोगिता हुने उल्लेख गरे।

प्रकाशित: १२ माघ २०७५ ०५:०७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App