coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

सबै उमेरको ऐना

महेश पौड्याल

प्रेमलाई किनारमा हुत्याएर

किन बुद्ध भयौ — 

सिद्धार्थ? 

यो प्रश्न गरेका हुन् कवि बद्री भिखारीले। लाग्छ, चालिस बर्षको कविता साधनापछि उनी यो अहं प्रश्नमा पुगेर ठोक्किएका छुन्, जुन प्रश्नले आम मान्छेको दिनचर्या र पराभौतिक सिद्धान्तबीचको अनावश्यक दूरीमाथि प्रहार गरेको छ। मान्छेभित्रका स्वाभाविक तर पवित्र भावनाको विपक्षमा उभिएका सिद्धान्तहरूको औचित्य कहाँ लगेर पुष्टि गर्न सकिएला ? सामान्य मान्छे र साङ्ख्य दर्शनबीच समुद्रजस्तै विस्तारित खाडल देखेपछि पारम्परिक बौद्ध धर्मभित्र पनि जेनको आविष्कार गरियो, जसले गृहस्थको काम गर्दागर्दै र हिँड्दाहिँड्दै पनि मान्छेले मुक्तिको बाटो समाउन सक्छ भन्ने अवधारणा अगाडि सार्‍यो, र लोकप्रिय पनि भयो। 

यो मानवीय सरोकारको प्रश्न हो। मान्छेबाट भाग्ने कुनै पनि दर्शन वा सिद्धान्तको व्यवहारिक पक्ष कमजोर हुन्छ। भिखारीको कविता सङ्ग्रह ‘समुद्र साउती’को एउटा बलियो निचोड हो यो। कवि भित्रको कवि मान्छेको आत्मिक शान्ति र स्वतन्त्रताकै पक्षमा कविताको हतियार लिएर उभिएको देखिन्छ। उनका लागि ईश्वर भन्नु पनि काम हो, जो मान्छेको सन्निकट छ, र मान्छेको कल्याणमा समर्पित छ। ईश्वरको खोजीमा सारा संसार भौँतारिएको उनीभित्रको चेतना भन्छ, ‘अनन्तः बाटोलाई अन्त्य गरेँ/फर्किएर बस्ती टेक्ता/उत्सव मनाउँदै रमाएका मानिस देखेँ।’ 

छोटा हरफ, श्रुतिमधुर शब्दहरूको प्रयोग, र गामबेंसीका बिम्ब र प्रतीकका माध्यमबाट उनले आम मान्छेसँग सम्वादको एउटा सुन्दर पुल बनाएका छन्।

जम्मा ४१ कविता छन् सङ्ग्रहमा जसलाई आमा र देश, विचार र चिन्तन, समय र स्वतन्त्रता, प्रेम र प्रकृति, तथा प्रकृति र जीवन गरी पाँच खण्डमा बर्गीकृत गरिएको छ। भिखारीले कवितालाई कर्कश चित्याहट र असन्तुष्टिको चित्कार बनाउनबाट जोगाएका छन्। कलापक्षलाई झ्याप्पै अँगालो हालेका उनले कवितालाई गीतको सन्निकट पुर्‍याएका छन्। छोटा हरफ, श्रुतिमधुर शब्दहरूको प्रयोग, र गामबेंसीका बिम्ब र प्रतीकका माध्यमबाट उनले आम मान्छेसँग सम्वादको एउटा सुन्दर पुल बनाएका छन्। 

कथ्यको फैलावटमा भन्दा अनुभूतिको गहिराइमा बढी केन्द्रित देखिन्छन् कविता। यसमा समेटिएका विषयवस्तुमा आस्थाको विघटन, बालमस्तिष्कमा देश, गाउँको सम्झना, मायाप्रेम, ग्रामीण नेपालको अवनतिको प्रश्न, शरणार्थीको पीडा, प्रणेताहरूको योगदान, नक्कली राजनीति, देशद्रोह, प्रगतिशीलता, खस्कँदो सामाजिक सद्भाव, स्वतन्त्रता र अस्तित्वबोध, महिला–पुरुषको सहअस्तित्व, विछोड, बूढेसकालको कहर तथा मान्छे र प्रकृतिको अन्तरसम्बन्धहरू छन्। बालक, तरुण, वयस्क र वृद्ध– सबैको जीवनका मोडहरूलाई स्पर्श गरेका छन् उनका कविताले, र जीवनको गोधुलीमा पुगेर ध्यानमग्न भएका छन्। 

मृत्यु अवश्यम्भावी हो भन्ने उनले स्वीकारेका छन्, तर निरर्थक मृत्युको पक्षमा उनी छैनन्। भन्छन्, ‘सम्झन लायक कुनै योद्धाले झैँ /हिँड्दा शिर उठाएर पो हिँड्नुपर्छ कि?’  जन्मदेखि मृत्युसम्मका मृदुल सम्झनाको लश्कर छ सङ्ग्रहमा। सूक्तिजस्ता लाग्ने प्रिय आहान छन् यत्रतत्र। अनुभव र जीवन भोगाइले पाकेका कथ्य समयभन्दा निकै माथि लाग्छन्। 

‘ऐना’ शीर्षक कवितामा आमाले हेर्ने गरेको ऐना फुटेको वर्णन छ, र आमाले हेर्ने ऐना फुटेपछि आमा आफैँ अरुले दुःख हेर्ने ऐना हुनु भएको छ। प्रतीकात्मकताको उत्कर्षको कविता हो यो। आस्था र विश्वास टुट्नु, र त्यसपछि जीवनमा तुषारापात जसरी झर्ने विषाद दुःखको अवतरण हुनुको प्रतिविम्बन हो यो। देश र आमाबीच साम्य देख्छन् भिखारी। जसरी अनेक तर्कहरूमा अल्झँदै देश अवनतिको सिकार बनिरह्यो, त्यसै गरी दुःखै दुःखमा अल्झिएर आमाको जूनी पनि कष्टमै बित्यो भन्ने उनको ठहर छ।  

पुरातन विचार र यथास्थितिको शालिन विरोध भिखारीको अर्को पक्ष हो। उनलाई चलनचल्तीको शिक्षामा पनि विश्वास छैन, जसले न देशप्रेम सिकाउँछ, न मानवीय मूल्य। पुराना किताबका मृत पानाले भन्दा खुला प्रकृतिले बढी जीवन सिकाउँछ भन्ने उनको ठहर छ। भन्छन्, ‘हेर, तिमीहरू उभिएको वरिपरि हेर र पढ÷काँडाबीच पनि कति कोमल फुलिरहन्छ गुलाफ !’ 

उनलाई अन्यायपूर्ण नामाकरण र वर्गीकरणमा पनि विश्वास छैन। चोर खोलाको नाम राख्नेप्रति उनलाई गुनासो छ। सोध्छन्, ‘यो कस्तो विभेद– एउटै पानी कालीगण्डकीमा जल बग्छ÷ म पानी बग्छु ?’ सिराहा र चरिगुहाजस्ता दुर्गम ठाउँको विकास नहुनुमा उनी रुष्ठ देखिन्छन्। देशको अविकसित पाटोको प्रतिनिधित्व गर्ने सिराहा, उनका शब्दमा ‘लेख्न थालेर पूरा गर्न बाँकी कविता जस्तो’ लाग्छ। तल्लो तप्काका गरिब र शरणार्थीहरूप्रति उनको सहानुभूति स्पष्टै बुझिन्छ। उनी सबै प्रकारको अतिवादका विरोधी हुन्। भानुभक्तजस्ता प्रणेताको योगदान अन्देखी गर्ने उग्रविचार होस् वा जन आवाजलाई हल्ला भन्ने यथास्थितिवादी सत्ता होस्–उनको समर्थनका दावेदार होइनन्। विचारमा शालिन ढङ्गले प्रगतिका पक्षधर लाग्छन् उनी। 

जीवन, प्रकृति, प्रेम र आजको धरातलीय यथार्थ बोकेका भिखारीका कविता हरेक पाठकको मर्म बोल्न सक्षम छन्। उल्लेखित विषयका अतिरिक्त प्रेममा प्रोत्साहनको भूमिका, वाल्यकालको रुमानी पूर्वदीप्ति, मातृ र देशप्रेम, नारी र पुरुषको पूरक अस्तित्वजस्ता सार्विक विषय पनि उनको कविताका जग हुन्। 

सङ्ग्रहमा सुधार गर्नुपर्ने केही पक्ष देखिन्छन्। ‘गाउँ सम्झेर’ कविताको आधा भाग गाउँको सुमधुर सम्झनामा केन्द्रित छ, जसले पाठकलाई एउटा मनस्थिति र भावभूमिमा उभ्याउँछ, जबकि त्यसै कविताको उत्तरार्ध भने गाउँको विषाद चित्र कोर्छ, जसले पाठकको मनस्थिति अर्कै भावभूमितिर झड्कारिदिन्छ। ‘चरिहुगा’ शीर्षक कवितामा उक्त स्थानको दारुण चित्रणबाट भव्य प्रभाव छाडेपछि कविले एउटा सस्तो भविष्यवाणी गरेर कवितालाई फितलो समाप्ति दिएका छन्। ‘शरणार्थी’ कविताको सुरुमा शरणार्थीलाई सबै सोध्नू देश नसोध्नू भनिसकेपछि किन र कसरी भनेर धेरै लामो व्याख्याजस्तो गरिएको पाइन्छ, जो जरुरी छैन। 

‘आवाज’ जस्तो प्रगतिशील कवितामा ‘हामी युग बदल्छौँ, समाजलाई मानक मानेर’ भनिरहँदा समाज अधिकांश समयमा यथास्थितिवादी हुन्छ भन्ने कविले भुलेका छन्। यसै कवितामा ‘भविष्य सुन्दर छ, अत्यत्न सुन्दर छ/अस्तायो भनिएको घाम उदाउँदै छ’ भनिरहँदा, कुरो सकारात्मक भए पनि यथार्थ होइन। यो फगत माक्र्सवादी आदर्शवाद हो। ‘बुख्याँचा’ कविता कल्पनाशीलताको उपल्लो अभिव्यक्ति हो, तर यसको अव्यवहारिकताको हेक्का कविलाई भएकै हुनुपर्ने। ‘जस्तोजस्तो’ जस्तो कमजोर कथ्य भएको तथा पीबी सेलीको ‘क्लाउड’को कथ्यसँग नजिक रहेको ‘बादलसँग’जस्तो कविता नराखेको भए पनि हुने। 

प्रकाशित: १२ माघ २०७५ ०४:१९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App