४ वैशाख २०८१ मंगलबार
समाज

डोल्पामा तेस्रो पटक हिमपात, हवाईदेखि संचार सेवा अवरुद्ध

डोल्पा - पश्चिम हिमाली जिल्ला डोल्पामा शुक्रवार राति पुनः भारी हिमपात भएको छ। तेस्रो पटक भएको हिमपातले डोल्पा सेताम्य भएको छ भने जनजीवन कष्टकर बनेको छ। डोल्पाको सदरमुकाम दुनैमै २ देखि ५ इन्च सम्म हिउँ जमेको छ भने जुफाल विमानस्थलमा ९ देखि १२ इन्चसम्म हिउँ जमेको छ।

शुक्रवार मात्र खुलेको जुफाल विमानस्थलमा हिउँ जमेपछि शनिवार विहान हवाई उडान अवरुद्द हुँदा जुफाल तथा नेपालगन्ज विमानस्थलमा यात्रुहरु अलपत्र परेका छन्। उपल्लो डोल्पाका डोल्पो बुद्ध, छार्काताङसोङ्ग र शे फोक्सुण्डो गाउँपालिकाहरुमा भने २ देखि ४ फुटसम्म हिउँ जमेको जिल्ला प्रशासन कार्यालय डोल्पाले जनाएको छ ।

जगदुल्ला गाउँपालिकाको मौरेलेकमा रहेको नेपाल टेलिकमको टावर तथा सोलारसेटहरुमा समेत हिउँ जमेकाले मुड्केचुला, जगदुला र त्रिपुरासुन्दरी नगरपालिका र डोल्पोबुद्ध गाउँपालिकामा संचार सेवा झण्डै एक सातादेखि अवरुद्द छ। भारी हिमपात भएपछि कार्यालय कामकाज प्रभावित भएको प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले बताए। थापाले भने,‘कार्यालयमा बसेर कामकाज गर्ने अवस्था छैन कसरी काम गर्ने’

कृषकहरु उत्साहित
आकाशे पानीको भरमा खेती गरेका कृषकहरु भने लगातारको हिमपातले अन्नबाली सप्रने आशाले हर्षित भएका छन्। बर्खेबाली जौँ,उवा,केराउँ,गहुँ र आलु हिमपातले सप्रने भएपछि कृषक उत्साहित बनेका हुन्।

पुस र माघ महिनामा परेको हिमपातले डोल्पालीको आम्दानीको माध्यम मानिएको बहुमुल्य जडिबुटी यार्सागुम्बा उत्पादनमा राम्रो हुने स्थानीय चन्द्रबहादुर लामाले बताए।

सडक यातायात पनि अवरुद्ध
लगातारको हिमपातले जाजरकोट–डोल्पा सडक  पनि अवरुद्ध बनेको छ।हिमपात र वर्षाले बनपाखा भिजाएको कारण सडक माथिबाट ढुँगा तथा पहिरो खस्ने गरेकोले रुकुमको छरेमगर देखि डोल्पाको छलगाड सडक खण्ड सम्ममा चल्ने यातायात बन्द भएका छन।

यसै गरि हिमपातकै कारण जुम्ला र डोल्पा सिमा प्रबेश नाका मौरे र भरभरे पासमा भारि हिमपात भएपछि आवतजावत ठप्प भएको छ।बाग्लो हिमपात कठाङ्गग्रिदो जाडो भएपनि बिहानै हिउँमा सेल्फी लिने र रमाउनेहरु हिउँमा खेलिरहेका देखिन्थे।राष्ट्रिय अनुसन्धान डोल्पाका प्रमुख सुमनकुमार भण्डारी जतिसुकै जाडो भएपनि रमाइलोले सबैकुरा बिर्साउने बताउदै बाग्लो हिउँमा सुतेर आफुलाई हिउँसंगै क्यामरामा कैद गर्न ब्यस्त थिए।

प्रकाशित: १२ माघ २०७५ ०४:२२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App