८ वैशाख २०८१ शनिबार
खेल

सिमरा गोल्डकप : उपाधिका लागि थ्री स्टार र आर्मी भिड्दै

बारा – दशौं सिमरा गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि शनिबार (आज) थ्री स्टार क्लब र त्रिभुवन आर्मीबीच प्रतिस्पर्धा हुँदैछ। खेल सिमरा रंगशालामा दिउँसो २ः३० बजे बाट सुरु हुनेछ।  ‘ए’ डिभिजनका दुई क्लबले शनिबार हुने रुस्लान उचाल्ने दाबी गरेका छन्।

‘ए’ डिभिजनका दुई क्लब त्रिभुवन आर्मी र थ्री स्टारले शनिबार हुने रुस्लान दशौं सिमरा गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका उचाल्ने दाबी गरेका छन्। शुक्रबार सिमरा रंगशालामा आयोजित प्रिम्याच कन्फ्रेन्समा दुवै टोलीका प्रशिक्षक र कप्तानले उपाधि जित्ने रणनीतिका साथ मैदानमा उत्रने दाबी गरेका छन्। आर्मीका प्रशिक्षक नवीन न्यौपाने र थ्री स्टारका प्रशिक्षक मेघराज केसी उपाधिको दाबेदारी प्रस्तुत गरेका हुन्।

दुई पटकको विजेता आर्मीले रुस्लान थ्री स्टार क्लबसँग सिमरा रंगशालामा दोस्रोपटक फाइनल खेल्दै छ । गत वर्ष पनि थ्री स्टारलाई हराउँदै आर्मीले उपाधि जितेको थियो। थ्री स्टारका प्रशिक्षक केसीले आफ्नो टोली फाइलन जित्दै सिमरा गोल्डकपको शिल्डमा नाम लेखाउने प्रयासमा रहने प्रिम्याच कन्फ्रेन्समा दाबी गरे।

‘हामीलाई फाइनल जितेर सिमरा गोल्डकपको विजेता सूचीमा नाम लेख्नुछ’ उनले भने ‘आर्मीविरुद्धको खेलमा विशेष तयारीका साथ मैदानमा उत्रिनेछौं।’ आर्मी र थ्री स्टार दुवै टिमका खेलाडीले सिमरामा स्तरअनुसारको प्रदर्शन गर्न नसकेको भन्दै प्रशिक्षक केसीले लगातारको प्रतियोगिताका कारण दुवै टिमको प्रदर्शन प्रभावित भएको बताएका छन्।

‘आर्मीमा पनि कतिपय देखिनुपर्ने राम्रा खेलाडी छैनन्। हाम्रो क्लब थ्री स्टारको पनि लिगपछि केही खेलाडी बाहिरिएका छन्। नयाँ खेलाडी पनि टिममा एडजस्ट हुन बाँकी छ। त्यसैले दुवैको प्रदर्शन लोभलाग्दा छैनन्। ’ –प्रशिक्षक केसी थ्री स्टार

‘आर्मीकै कुरा गर्दा कतिपय देखिनुपर्ने अनुहार टिममा छैनन्,’ थ्री स्टारका प्रशिक्षक केसीले भने,‘थ्री स्टारको पनि लिगपछि केही खेलाडी बाहिरिएका छन्। नयाँ आएकाहरु टिममा एडजस्ट हुन बाँकी छ। त्यसैले दुवैले खासै राम्रो गर्न सकिरहेका छैनन्।’ थ्री स्टारका कप्तान विक्रम लामाले आर्मीसँग खेल्नु आफूहरुका लागि अवसर समेत रहेको बताए। ‘उच्च फर्ममा रहेको आर्मीसँग खेल्दा हामीले केहि नयाँ कुरा सिक्ने अवसर समेत पाउँछौं’ उनले भने। 

आर्मीका प्रशिक्षक नवीन न्यौपानेले भने फाइनलका दुवै टोली राम्रो भएको कारण खेल ५०–५० हुने बताए। ‘मौकाको सदुपयोग गर्न सक्नेले उपाधि जित्नेछ,’ आर्मीका प्रशिक्षक न्यौपानले भने,‘ फाइनल पुग्ने टिम सशक्त हुन्छ। त्यसैले विशेष रणनीति र मेहनत गुर्नपर्नेछ।’ एक हप्ताअघि वीरगञ्जमा सम्पन्न विशाल मेमोरियल गोल्डकपको उपाधि जितेको आर्मीले त्यसको भोलिपल्टै सिमरा गोल्डकप खेलेको स्मरण गर्दै प्रशिक्षक न्यौपानेले टिमका केहि खेलाडीलाई मिस गरेको बताए।

‘नवयूग, दिनेश हेम्जन जस्ता खेलाडी टिममा छैनन्। उनिहरुलाई पक्कै मिस गरेका छौं,’ आर्मीका प्रशिक्षक न्यौपानेले भने,‘ तर, वीरगञ्जमा उनिहरुबिनाको टिमले उपाधि जितिसकेकाले अन्य खेलाडी पनि सक्षम छन् भन्ने साबित भइसकेको छ।’ वि.सं.२०७१ सालको छैटौं संस्करणको समेत विजेता रहेको आर्मी चौथोपटक सिमरा गोल्डकपको फाइनलमा पुगेको हो।

आठौं संस्करणको फाइनलमा संकटा क्लबसँग पराजित हुँदै आर्मीले उपविजेताका रूपमा चित्त बुझाएको थियो। यस वर्ष आर्मी तेस्रो पटक उपाधि जित्दै प्रतियोगिताको सर्वाधिक सफल टोली बन्ने प्रयासमा मैदानमा उत्रनेछ भने दोस्रोपटक फाइनल यात्रा तय गरेको थ्री स्टार आर्मीसँग गत वर्षको हारको बदला लिँदै उपाधि विजेताको सूचीमा सामेल हुने दाउँमा छ।

सशस्त्र प्रहरी बलको एपिएफलाई ४–२ ले हराउँदै सिमरा गोल्डकपको यात्रा सुरु गरेको आर्मीले सेमिफाइनलमा आयोजक नव जनजागृति युवा क्लब सिमरालाई १–० ले पराजित गरेको थियो। थ्री स्टारले फाइनलसम्मको यात्रा तय गर्ने क्रममा क्वार्टरफाइनलमा संकटालाई २–० र सेमिफाइनलमा हिमालयन शेर्पा क्लबलाई १–० ले हराएको थियो।

सिमरा गोल्डकपमा दुई खेल खेलेका थ्री स्टारका गोलकिपर एलन न्यौपानेको नाममा क्लिनसिट रहेको छ। आर्मीका टंक बस्नेत र थ्रीस्टारका फोफाना फोडे २–२ गोलका साथ सर्वाधिक गोलकर्ताको सूचीमा शीर्षमा छन्।

प्रकाशित: १२ माघ २०७५ ०५:१७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App