५ वैशाख २०८१ बुधबार
शिक्षा

शिक्षा ‘भर्सेस’ राजनीति

फोर्ब्स पत्रिकाले ७ वर्षे रायनलाई २०१८ मा सबैभन्दा बढी कमाउने युट्युब स्टार घोषणा गर्यो। रायनले युटुबबाटै गत वर्ष २ करोड २० लाख अमेरिकी डलर कमाए। उनले खेलौनाको समीक्षा गरेर भिडियोहरू पोस्ट गर्ने गर्छन्। हामीले नदेखेको र नसोचेको बाटोमा आज ७ वर्षको बच्चा हिँड्दै छ। ‘धेरै पढ्छु, राम्रो जागिर खान्छु, ठुलो मान्छे बन्छु, घर बनाउछु, गाडी किन्छु’ भनेर सपना देख्दै गरुङ्गा ब्याग बोक्दै स्कुल धाउनुपर्ने जमानाको अन्त्य उहिल्यै भैसकेको हो। दुनियाँ बदलिएको छ। शिक्षाको परिभाषा बदलिएको छ। नीतिहरु फेरिएका छन्। बजार फैलिएको छ। विडम्बना, आज हाम्रा रायनहरु न हाम्रो बहुआयामिक शिक्षाको सिमारेखाभित्र अटेका छन् न राजनीतिको नीतिभित्र। केही दशक यता, हाम्रो राजनीति अनि शिक्षाले हाम्रो समाज उकास्न कुनै महत्वपूर्ण भूमिका खेलेको छैन। जे जति भएका छन् प्राकृतिक रूपले नै भएका छन्।

शिक्षा, समाज र राजनीति
शिक्षा अनि राजनीतिको सम्बन्धले नै कुनै पनि समाजको दिशा अनि गति निर्धारण गर्छ। तर, हाम्रोमा समाजलाई गति अनि दिशा दिने शिक्षा अनि राजनीतिको त्यो फलदायी मिलन हुनै सकेको छैन। कला, संस्कृति, ज्ञानको अपार धनी समाज आज शिक्षाको नाममा सर्टिफिकेट बटुल्नमै खुम्चिएको छ।  

राजनीतिले नागरिक अनि राज्यलाइ जोड्छ। राजनीति, नागरिकको जीवनलाइ सहज बनाउन समाजमा लुकेको शक्तिको खोज, सङ्कलन, प्रस्फुटन गर्ने विज्ञान हो। जहाँ नागरिकको आवश्यकता हुन्छन्, त्यहाँ राजनीति हुन्छ। शिक्षा, स्वास्थ्य, कृषि, जीवन सबमा राजनीति हुन्छ। अहिले हामी गलत राजनीतिका सिकार भएका छौं। यहि कारणले हामी राजनीतिप्रति नकारात्मक बनेका हौँ। तर हाम्रो जीवन स्तरलाइ उकास्ने अनि व्यवस्थित गर्ने विज्ञान नै राजनीति हो।

शिक्षा भनेको आफूभित्रको ऊर्जा अनि उत्सुकता निखार्न अनि तिखार्न मद्दत गर्ने प्रक्रिया हो। शिक्षाले मान्छेलाई सही वा गलत बीचको फरक छुट्ट्याउन मद्दत गर्छ। हामीमा भएको विवेकलाई उजागर गरिदिन्छ। हाम्रो योग्यता, क्षमता अनि दक्षतालाई बजार अनि समाजसम्म पुर्‍याउन ‘प्याकेजिङ’ गर्न मद्दत गर्छ। सिकेको कुरा उपयोग गराउन अनि उत्पादनशील र उद्यमशील बन्ने वातावरण बनाउन पनि शिक्षाकै भूमिका हुन्छ। समाजको आवश्यकता अनुरुप नेतृत्व विकासका निम्ति शिक्षा सबैभन्दा महत्वपूर्ण आधार हो। नागरिकलाइ नीति, नेतृत्व, दलहरू, सत्ता, व्यवस्था आदी बारे चेतना भर्ने माध्यम पनि शिक्षा हो। तसर्थ, राजनीतिको ‘स्टेरिङ’ नै शिक्षा हो।

हाम्रा दलहरूको शिक्षा नीति अनि हाम्रो बुझाइलाई नै ‘रिसेट’ गर्ने बेला भएको छ। अहिलेको शिक्षा नीतिले विद्यार्थीलाई घरबाट स्कुलसम्म कसरी पुर्‍याउनमै सिमित छ। अब विद्यालय भित्र लगेर कसरी सक्षम बनाउने भन्ने नीति चाहिएको छ। हालसम्म, दलहरूले अनि शिक्षाविद्हरुले शिक्षामा भन्न बाँकी र लेख्न बाँकी केही छैन। अब गर्न बाँकी हो।
 

समाजलाई डोर्‍याउन शक्तिको आवश्यकता पर्छ। त्यो शक्तिलाई नतिजामा परिणत गर्न  दिशा आवश्यक हुन्छ। शक्तिको निर्माण शिक्षाले गर्छ भने, राजनीतिले दिशा दिन्छ। तसर्थ, चलायमान समाजका निम्ति शिक्षा अनि राजनीतिबीच सुमधुर सम्बन्ध आवश्यक हुन्छ। हजारौँ वर्ष अघि महाभारतकाल होस् वा रामायणकाल, प्लेटो हुन् वा आइन्स्टाइन, द्वापर युग होस् वा कलि युग, सबमा दुइओटै कुरा हाबी अनि निर्णायक रहँदै आएका छन्, शिक्षा अनि राजनीति। सधैँ शिक्षाले उत्पादन अनि राजनीतिले वितरण र व्यवस्थापनको काम गरेको छ।

शिक्षामा राजनैतिक छिर्के 
आज एउटा सरकारी क्याम्पसमा १ जना प्रफेसर चाहियो भने, ३ जनाको आव्हान गर्नु पर्ने अवस्था छ। दल अनुसार भाग पुर्‍याउन। एउटा कुनै सक्षम युवा योगदान दिन्छु भन्ने मनसायले विद्यालय जान्छ भने उसको योग्यता, क्षमता भन्दा पनि पार्टीको सिफारिस बुझाउनुपर्ने परिपाटी गाडिसकेको छ। फलस्वरूप, अब पढेर के हुन्छ र ? बरु दलमा लाग्ने हो, मान्छे चिन्ने हो, भनसुन गर्ने हो, घुस खुवाउने हो, भन्ने मानसिकता बढ्न थालेको छ। अहिले, शैक्षिक संस्थाहरू दलका लागि कार्यकर्ता उत्पादन गर्ने फ्याक्ट्री बनेका छन्। 

शिक्षामा दलियकरण दुई किसिमबाट छिर्‍यो। पहिलो, आफ्नो पेसा गरेर, प्रभाव जमाएर, मान पाएर, समय बचाएर राजनीति गर्न सकिने पेसा शिक्षण पेसा बन्दै गयो। धेरैले सुरुमा राजनीति गर्न शिक्षण पेसा अङ्गाल्न थाले। अहिलेका नेताहरू मध्ये धेरैले राजनैतिक जीवनको सुरुवातमा शिक्षक रहेर गरे। दलहरुले शिक्षकहरुलाई नै राजनीतिमा ल्याए। दोस्रो, पञ्चायतमा काँग्रेस अनि कम्युनिस्टले आफ्नो विचार फैलाउन विद्यार्थी सङ्गठन खडा गरे जुन अहिले दलीय सिन्डिकेटमा परिणत भयो।

मैले काठमाडौँको त्रिचन्द्र क्याम्पस अनि थापाथली इन्जिनियरिङ क्याम्पस पढेँ। विद्यार्थी, प्राध्यापक, कर्मचारीको शिक्षकका राजनीति नजिकबाट भोगेको छु। ३० रुपयाँको तालाले हाम्रो क्याम्पस ३० दिन बन्द भएको यही आँखाले देखेको हुँ। मैले आजसम्म कुनै पनि विद्यार्थी नेताले शिक्षा सुधारको मुद्दा लिएर आन्दोलन गरेको देखेको छैन। कुनै पनि प्राध्यापकले शिक्षकको बौद्धिक विकास अनि संस्थाको गुणस्तरका निम्ति आवाज उठाएको देखेको छैन। शिक्षालाई कसरी उकास्ने छलफल गर्ने कुनै पनि सङ्गठन क्याम्पसको हाताभित्र छैन।

दलीयकरण कि राजनीतिकरण ?
समस्या राजनीतिकरणको होइन। समस्या दलीयकरणमा हो। राजनीतिले समाजलाई जोड्छ, दिशा दिन्छ। दलीयकरणले समाजलाई विभाजन गर्छ। शिक्षाको अनि विश्वविद्यालयको काम भनेको त बौद्धिक अनि विवेकशील जमात खडा गर्ने हो। तर, हालको दलीयकरणले हाम्रो विचारलाई अनावश्यक विभाजन गरेको छ। सङ्गठन अनि व्यक्तिको स्वार्थ अनुरूप शक्तिको दुरुपयोग गरेको छ। दलीयकरणमा जब स्वार्थ मिल्छ, त्यसको विकराल रूप प्रकट हुन्छ। अहिले त्यही हुँदै छ। हाम्रा शिक्षण संस्थाहरु दलीयकरणको सिकार बन्दै छन्। शिक्षा क्षेत्रलाई धमिराले खाएको छ। समाज खोक्रो बन्दै छ।

पूर्व शिक्षा सचिव किशोर थापा भन्नुहुन्छ, ‘हामीले स्कुलको शिक्षक अनि प्रोफेसरको फरक पनि बुझ्न सकेका छैनौँ। स्कुल शिक्षकले विद्यार्थीलाई मूल्यमान्यता सिकाउने हो। ज्ञान दिने हो। जीवनमा ऊ कस्तो व्यक्ति बन्न चाहन्छ भनेर उसलाई खोज्न मद्दत गर्ने हो। प्रफेसरले भने राष्ट्रिय मुद्दामा सोध गर्न लगाउने हो। विद्यार्थीको सिकाइलाइ समाज र राष्ट्रिय नीति अनि आवश्यकतासंग जोड्ने हो। यहि शोधले नै विधार्थीमा विज्ञता भर्छ। समाजलाइ दिशा दिन्छ। तर, हामीले प्रफेसरलाई पनि साधारण ‘मास्टर’ बनाइदिएका छौं। विषय विशेषज्ञ विद्यावारिधि गरेका प्रफेसरहरु आज आफ्नो कर्तब्य बिर्सिएर  अनुसन्धानमा लाग्न छाडेर राजनीति गर्छन्। फगत झोले कार्यकर्ता बनेर आफ्नो हैसियत गुमाउदै छन्। उनीहरुले राजनीतिलाइ विश्वविद्यालयबाटै धेरै योगदान दिन सक्छन्।

विश्वविद्यालयको बहस, छलफल, अध्ययन अनुसन्धान राजनीतिको सम्पत्ति बन्न सक्छ। तर हाम्रा प्रफेसरहरु विश्वविद्यालयमा आफ्नो समय राजनीतिको झोला बोकेर बिताउँछन्। अनि, बाहिर प्लस टुमा बढीभन्दा बढी समय बढीभन्दा बढी कक्षा लिएर कमाउनै व्यस्त हुनुपरेको छ। प्रफेसरले प्लस टुमा पढाउन भ्याउने भनेको अन्य मुलुकका लागि अनौठो कुरा हो। यसले प्रफेसरको सम्मानमा ठुलो चोट पुर्‍याएको छ। विद्यार्थीलाइ आचरण सिकाउने स्कुलका शिक्षकको आफ्नै आचरणमा प्रश्न खडा गरेको छ। आज आम नागरिकले विषय विज्ञ प्रफेसरको तथ्यगत विचारलाइ समेत विश्वास गर्दैनन्। आज हाम्रो देशमा ‘ओपिनियन मेकर’ को छ ? प्रफेसर छैनन्। त्यो हैसियत, हाम्रा प्रफेसरले कमाउन अनि बनाउन सकेका छैनन्।

फेरी पनि, शिक्षाको गुणस्तरका निम्ति राजनीतिकै भूमिका महत्त्वपूर्ण हुन्छ। हाम्रो नीतिले शिक्षालाई कुन स्थानमा राखेको छ भन्ने पनि महत्त्वपूर्ण छ। आज नेपालको मर्यादाक्रममा हाम्रा शिक्षक कति नम्बरमा छन् ? छैनन्। नम्बर त परै जाओस्, सुचीमा पनि छैनन्। शिक्षा क्षेत्र राम्रो भएका मुलुकमा शिक्षकलाई राज्यले गर्ने व्यवहार निकै फरक हुन्छ। तलब–सुविधा पनि मन्त्री सरह नै हुन्छ। जिन्दगीमा केही गर्न सकिन भने, मास्टर बनौँला भन्ने हुन्न। शिक्षक अनि प्रफेसर बन्ने त युवाको सपना हुन्छ। शिक्षण सबैभन्दा सम्मानजनक पेसा हुन्छ। तर हाम्रोमा यो बुझ्ने सङ्गठन खोइ ? बोल्ने नेतृत्व को छ ? दलहरूको नीति कहाँ छ ?

सिकाइको बुझाइ
अहिले त शिक्षाको उद्देश्य पनि साँघुरिएको छ। सर्टिफिकेट प्राप्तिमै सीमित हुँदैछ। अहिले त झन् सर्टिफिकेटको पनि धन्दा सुरु भएको छ। स्कुलहरूले नै परीक्षा सेन्टर किनेका कुराहरू त हामीले सुन्दैरदेख्दै आएका छौँ। यस्ता शैक्षिक दलालहरूको संरक्षणमा दलहरू नै उभिँदा, शिक्षा क्षेत्र झन् धराशायी बन्दै छ। शिक्षा त ज्ञान, सीप, जीवन जिउने कला, मूल्य मान्यताको सिलसिला हुन पर्ने हो। शिक्षाले व्यक्ति अनि समाजलाई आत्मनिर्भर अनि जिम्मेवार बनाउन नेतृत्व गर्नुपर्ने हो। केही समय यता शिक्षालाई जागिर खाने माध्यमको रूपमा मात्रै बुझ्न थालिएको छ। जागिरै त लाहुर गएर होस् वा हिमालमा यार्सा टिपेर खाएकै थियौँ। सके देशमै नसके विदेश मै गएर पनि जागिर त खान्छौँ नै होला। तर, अहिलेको शिक्षाले त्यो भन्दा माथी उठेर सम्भावनाका ढोका खोल्न सकेको छैन।

आज एकजना युवा विश्वविद्यालयको पढाइ सक्दै गर्दा उसले सामाजिक कुरिती अनि समस्या चिर्न सक्ने हिम्मत गर्दैन। आफ्नो पढाइलाई व्यवहारमा बदल्न सक्दैन। उसले त संभावनाहरु आफ्नो लागि अनि अरुको लागि उजागर गर्न सक्नुपर्ने हो। तर, आज हाम्रा दिक्षित विद्यार्थीहरु समाजलाई निकास दिने होइन झन् समाजका निम्ति बोझ बनेका छन्। किनकी, हाम्रो शिक्षाले क्षमतावान होइन कि ‘सर्र्टि्फिकेटवान’ विद्यार्थी जन्माउदै छ।

अब के गर्ने ?

शिक्षाले राजनीतिलाई मार्ग निर्देश गर्न सक्नुपर्छ। जहाँ राजनीतिले शिक्षालाई पुरै दवाउँछ अनि आफ्नो स्वार्थ अनुकूल चलाउँछ, त्यो समाज अघि बढ्न सक्दैन। यस्ता अनावश्यक दलीयकरणले समाजमै अविश्वास अनि निराशा ल्याउँछ। तसर्थ, राजनीतिले शिक्षालाई प्राथमिकतामा राख्नुपर्छ। शिक्षासँग स्वास्थ्य, अर्थतन्त्र, राजनीति, सु–शासन आदी प्रत्यक्ष जोडिएका विषय हुन्। शिक्षाको सुधारले अन्य क्षेत्रमा स्वतः सुधार ल्याउँछ।

आज धेरै आमा–बुवा विदेश जानुको कारण छोराछोरीका लागि राम्रो शिक्षा दिन सकौँ भनेर पनि हो। व्यावहारिक शिक्षा नहुनाकै कारण बेजोगारी बढेको छ। विदेशिने समस्या बढेको छ। यो शिक्षाको मात्र असफलता होइन, यो राजनीति कै असफलता पनि हो। वास्तवमा सामाजिक अनि आर्थिक खाडल पुर्ने कारक तत्त्व नै शिक्षा हो। तर, हालको अवस्थामा हामी जुन शिक्षाको अभ्यास गर्दै छौँ, त्यो नै सामाजिक अनि आर्थिक खाडल बढाउन उद्धत देखिएको छ। सरकारी अनि निजी विद्यालयको असन्तुलनले समाजमा शैक्षिक वर्ग निर्माण गर्दैछ। जुन भोलिको दिनमा सामाजिक खाडलकै रूपमा देखापर्ने सङ्केत देखिँदै छ।

सुरुवात गर्न ढिलो भैसकेको छ। अब स्पष्ट नीति सहित सरकार अघि बढ्न जरुरी छ। अब शिक्षालाई बहुआयामिक बनाउने उदेश्य अनि मार्गचित्र सहित नीति तथा कार्यक्रम ल्याउनुपर्छ। ‘शिक्षामा व्यापारीकारणको अन्त्य गर्दै शिक्षा राज्यको दायित्व हो’ भन्न सक्ने नीति अनि व्यवहारमा उतार्ने नेतृत्व चाहिएको छ। फेरी, एकैचोटी शैक्षिक गुणस्तरलाई केही हदसम्म भए पनि उकास्दै गरेको निजी विद्यालयलाई हतोत्साहित पार्ने नीति पनि चाहिएको छैन। सन्तुलित नीति सहित शिक्षामा संरचनात्मक र व्यावहारिक दुई पक्षमा व्यापक सुधार आवश्यक देखिएको छ। 

अहिलेको स्थिर सरकार भएको बेलामा नयाँ शिक्षा नीति लागु गर्ने अनि शिक्षालाई दलीयकरणबाट अलग्याउने राम्रो अवसर छ। सार्वजनिक शिक्षामा सुधार नगरी, कुनै पनि देश समृद्ध बन्न सक्दैन। सार्वजनिक शिक्षा सुधारका निम्ति शिक्षक व्यवस्थापनमै कुरा अड्किन्छ। दलका नेता, कार्यकर्ता बनेर बसेका शिक्षक नै बाधक बनेर बसेका छन्। अब, क्याम्पसमा राजनीति गर्न होइन। पढाउन जाने शिक्षक चाहिएको छ। अब, दलको कार्यकर्ता उत्पादन गर्ने क्याम्पस होइन, दक्ष जनशक्ति अनि जिम्मेवार नागरिक उत्पादन गर्ने क्याम्पस चाहिएको छ। बदलिएको राजनैतिक परिस्थितिमा राजनैतिक दलहरूले आफ्ना विद्यार्थी, शिक्षक अनि कर्मचारीको भ्रातृसंगठन बन्द गरेर आफ्नो प्रतिबद्धता देखाउनै पर्छ। नयाँ पुस्तालाई शिक्षणमा आकर्षित गर्न ठोस नीति अख्तियार गर्नै पर्छ। पुरानोलाई अवकाश वा वृत्ति विकासका लागि नीति ल्याउनै पर्छ। जसका लागि, अब दूरगामी नयाँ शिक्षा नीति लागु गर्न सम्पूर्ण दलहरू अनि सरोकारवालाहरू एक ठाउँमा आएर साझा अवधारणा बनाउन जरुरी छ। अब शिक्षालाई राजनीतिको हतियार होइन की राजनीतिको सहयात्री बनाउन जरुरी छ। 

निष्कर्ष
अहिले राजनीतिलाई शिक्षाले डोर्‍याउन सकेको छैन अनि शिक्षालाई राजनीतिले दिशा दिन सकेको छैन। त्रिभुवन विश्वविद्यालयलाई संसारको राम्रो विश्वविद्यालयको स्तरमा पुर्‍याउन सकिन्छ। तर, हाम्रो भिजन खोइ ? सरकारको अनि राजनैतिक दलहरूको सक्रियता खोइ ? कसले गर्ने ? नेतृत्व कसले लिने ? विद्यालय सुधारका लागि सरकारले अबको ३ वर्षमा प्रत्येक प्रदेशमा २–२ वटा बुढानीलकण्ठ शैलीका स्कुल खोल्न सक्छ की नाइँ ? सुरुवात गर्ने कि नगर्ने ? समाजवाद उन्मुख देशको समाजवादी झल्को दिने शिक्षा नीति अनि योजना खोइ ? राणाकालदेखि हिजोसम्म पनि शिक्षा र राजनीतिको सम्बन्ध शिक्षालाई कसरी माथि लाने होइन की दललाई कसरी चुनाव जिताउने भन्ने मै सीमित रह्यो। तसर्थ, फेरी दोहोर्‍याउँछु, समस्या शिक्षामा राजनीतिकरणको होइन, दलीयकरणको हो। शिक्षाले राजनीतिको मार्गचित्र तयार गर्नसक्नुपथ्र्यो। दुर्भाग्य, राजनीतिले शिक्षालाई डोर्‍याएको छ। 

देशले समय समयमा पाएको राजनैतिक उपलब्धिहरू संस्थागत हुन सकेको छैन। परिवर्तनको जग संस्थागत गर्ने काम शिक्षाले गर्छ। तर, शिक्षालाई समाज अनि राजनीतिसँग जोड्न नसक्दा आज, शिक्षा, राजनीति अनि समाजबाट टाढा छ। शिक्षा अनि राजनीतिलाई अलग राख्नुपर्छ की पर्दैन ? स्कुलमा राजनीति हुनुपर्छ की नाइँ ? सधैँ प्रश्न उठ्ने गरेको छ। धेरै छलफल अनि घोत्लिएपछि, मेरो बुझाइ, शिक्षामा राजनीति चाहिन्छ। राजनीति अनि शिक्षा अलग राख्ने विषय नै होइन। तर, शिक्षालाई दलीयकरणबाट भने टाढा नै राख्नुपर्छ। शिक्षक अनि विद्यार्थीले स्कुल र कलेज भित्र पार्टीको झन्डा बोक्नुहुन्न। तर, शिक्षक अनि विद्यार्थीलाई राजनैतिक चेत भने शिक्षाले नै निष्पक्ष रूपमा दिन सक्नुपर्छ। साथै, पढे लेखेका नेता चाहिन्छ की चाहिँदैन भन्नेमा पनि लामै बहस हुने गरेको छ। राजनीतिमा आधारभूत ज्ञान भएकै नेता चाहिन्छ। शङ्का नै छैन, तर ज्ञानको मापन सर्टिफिकेट मात्र बनाइनु हुँदैन।

राजनीतिले देखिएको सपना शिक्षाले पुरा गर्ने हो। अनि शिक्षाले नै अर्को पुस्ताको नेतृत्व जन्माउने हो। तसर्थ, हालको हाम्रा दलहरूको शिक्षा नीति अनि हाम्रो बुझाइलाई नै ‘रिसेट’ गर्ने बेला भएको छ। अहिलेको शिक्षा नीतिले विद्यार्थीलाई घरबाट स्कुलसम्म कसरी पुर्‍याउनमै सिमित छ। अब विद्यालय भित्र लगेर कसरी सक्षम बनाउने भन्ने नीति चाहिएको छ। हालसम्म, दलहरूले अनि शिक्षाविद्हरुले शिक्षामा भन्न बाँकी र लेख्न बाँकी केही छैन। अब गर्न बाँकी हो। अब राजनीतिले राजनीति बचाउन पनि शिक्षासँग सहकार्य गर्न जरुरी छ। 

प्रकाशित: १२ माघ २०७५ ०३:४२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App