coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
स्वास्थ्य

यसरी फेरियो अनुहार

रामेछापको रामेछाप नगरपालिका–३ का २७ वर्षीय मानबहादुर प्रधानको यतिबेला अनुहारै बदलिएको छ। च्यापु चटक्क परेको छ भने दाँत टम्म मिलेका छन्। नेपालमै पहिलोपटक वीर अस्पतालमा सफलतापूर्वक सम्पन्न डिजिटल्ली प्लान्ड अर्थोग्नेथिक(कम्प्युटर सफ्टवेयरबाट गरिने शल्यक्रिया) सर्जरीबाट उनको जीवनमा यो खुसी ल्याउन संभव भएको हो। वीर अस्पतालको दाँत विभागले गत कात्तिकमा उक्त प्रविधिबाट शल्यक्रिया गरी प्रधानको अनुहार सुन्दर बनाइदिएको हो। 

यसअघि यो सर्जरी म्यानुअल्ली अर्थात् हातैले गरिन्थ्यो। जुन जोखिमपूर्ण र कष्टकर मानिन्थ्यो। यो प्रविधिमा कम्प्युटरको सफ्टवेयरले नै कुन भागमा कति काट्ने र मिलाउने भन्ने तयारी गरिसकेको हुन्छ। लगातार पाँच घन्टा लगाएर उनको शल्यक्रिया गरिएको थियो।  शल्यक्रियापछि घर पुग्दा छिमेकीले आफूलाई तुरुन्तै नचिनेको प्रधानले नागरिकलाई सुनाए। शल्यक्रिया हुनुअघिको आफ्नो अनुहार पूरै परिवर्तन भएकाले छिमेकीले झट्ट चिन्न नसकेको उनले बताए। 

पहिले उनका माथिल्ला र तल्ला दाँत जोडिँदैनथे। खाना खाँदा तल्लो च्यापु बाहिर निस्कन्थ्यो भने अघिल्ला दाँतले खानेकुरा टोक्न मिल्दैनथ्यो। ‘मासु र मकै टोक्दा च्यापु नै बाहिर निस्कन्थ्यो,’ उनी सुनाउँछन्, ‘माथिका दाँतले भित्री भाग टोकिन्थ्यो।’  सुरुमा दाँत मात्र नजोडिने समस्या भएका प्रधानको ठूलो हुँदै जाँदा च्यापु नै बाहिर निस्कन थाल्यो। यसपछि प्रधान उपचारको खोजीमा भौतारिन थाले। ‘बूढो भएपछि झनै अप्ठेरो होला भनेर उमेरमै शल्यक्रिया गरेको हुँ,’ प्रधानले भने। शल्यक्रिया सक्दासम्म दुई लाख रुपैयाँजति खर्च भएको प्रधानले सुनाए। अब माथिल्लो भागका दाँतहरू मिलाएर राख्ने काम बाँकी छ। 

उपचार खोजीका क्रममा उनी सिभिल अस्पताल, नेपाल अर्थोपेडिक अस्पताल हुँदै वीर अस्पताल पुगेका थिए। निरन्तर दुई वर्षको प्रयासपछि प्रधानको उपचार संभव भएको हो। शल्यक्रियाअघि उनका तल्ला र माथिल्ला दाँत तारले बाँधिएको थियो। शल्यक्रियाका क्रममा उनका पाँच ठाउँका हड्डीहरू काटेर जोडिएका छन्।

दाँत तथा अनुहारको हड्डीमा आएको समस्याले बिग्रिएको अनुहारलाई उपचार गरी सुन्दर बनाउने शल्यक्रिया नै अर्थोग्नेथिक शल्यक्रिया हो। धेरैलाई यस्तो समस्याको उपचार हुन्छ भन्ने जानकारी नहुँदा चिन्ता लिएर बसिरहेका छन्। 

उक्त शल्यक्रियाका लागि वीर अस्पतालका अर्थोडेन्टिस्ट डा. मनिष बज्राचार्य र ओरल तथा म्याक्जिलोफेसल सर्जन डा. किशोर भण्डारीको नेतृत्वमा उक्त शल्यक्रिया सफल भएको हो। जसमा एनेसथेसियातर्फ डा. अभय पोख्रेल सहभागी थिए। यसैगरी उक्त शल्यक्रियामा डा.अभिलाषा, डा. निशा श्रेष्ठ डा. बन्दना खनाल, डा. इश्फा बानु, डा.सन्ध्या जोशी, डा.कृष्ण रेग्मी आदिको संलग्नता थियो। शल्यक्रियाको डेढ महिनासम्म प्रधानले झोल कुरा र जाउलो मात्र खाएर बसे। दालभात खान थालेको केही समय मात्र भएको छ। ‘अहिले पनि खाजाका लागि कार्यालयमै जाउलो लिएर आउँछु,’ उनले भने। शल्यक्रिया गरिएका उनका दाँतहरूको अहिले पुनर्संरचना गर्ने काम भइरहेको चिकित्सकले बताएका छन्। प्रधानको शल्यक्रियाको गरिएको भाग पूरै सामान्य अवस्थामा पर्किन अझै करिब एक वर्ष लाग्ने उपचारमा संलग्न डाक्टरले बताएका छन्। 

उपचारमा संलग्न चिकित्सक डा. मनिष बज्राचार्यका अनुसार यो प्रविधिबाट गरिने ‘एप्स’ चीनले केही समयका लागि सहयोग गरेको थियो। यसकारण अब यो एप्स अस्पताल आफैंले किन्नु पर्नेछ। यसका लागि अस्पताल प्रशासनसँग अनुरोध गरिएको छ।  चिकित्सकका अनुसार दाँत तथा अनुहारको हड्डीमा आएको समस्याले बिग्रिएको अनुहारलाई उपचार गरी सुन्दर बनाउने शल्यक्रिया नै अर्थोग्नेथिक शल्यक्रिया हो। अर्थात् अनुहारको नमिलेको संरचनालाई शल्यक्रियामार्फत मिलाउने उपचार नै अर्थोग्नेथिक शल्यक्रिया हो। चिकित्सकका अनुसार धेरैलाई यस्तो समस्याको उपचार हुन्छ भन्ने जानकारी छैन। जसले गर्दा मानिसहरू चिन्ता लिएर बसिरहेका छन्। 

प्रकाशित: १२ माघ २०७५ ०३:२५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App