coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

डाक्टरको ‘लापरबाही’ ले शिशुको मृत्यु

लहान - भगवानपुर गाउँपालिका–७ की मनिषा यादवलाई तल्लो पेट दुख्ने व्यथाले च्यापेपछि परिवारले रामकुमार सारडा उमाप्रसाद मुरारका (राउ) अस्पताल लगे। मनिषा पहिलोपटक आमा बन्दै थिइन्। त्यही भएर परिवारले उनको नियमित जाँच गराउँदै आएका थिए। गाउँमै अस्पताल भए पनि उनी राउ अस्पतालमै जाँचका लागि आउँथिन्।

तल्लो पेट दुखेपछि बुधबार पनि उनलाई राउ अस्पताल लगिएको हो। करिब साढे १० बजे उनलाई अस्पतालमा कार्यरत डा. सुशीला सिंहले अस्पतालसँगै टँसाएर खोलेको श्रेया पोलिक्लिनिकमा जान सुझाइन्। ‘त्यहाँ हिँड्नुस्, जाँचयन्त्र त्यहाँ छ, राम्रोसँग जाँचिदिन्छुु भन्नुभयो’, मनिषाले सुनाइन्। मनिषालाई लिएर गएकी उनकी दिदी रेखाका अनुसार श्रेया पोलिक्लिनिकमा डा. सिंहले भिडियो एक्सरे गरेर बच्चाको अवस्था ठीक छ भनिन्। राउ अस्पतालको ओपिडी पुर्जामै उनले आफ्नो निजी क्लिनिकमा औषधि लेखिदिइन्। ‘९ सय २० रुपैयाँको औषधि र ६ सय रुपैयाँको भिडियो एक्सरे खर्च बुझाएर डा. सिंहको सल्लाहअनुसार हामी घर फर्कियौं’, रेखाले भिनन्, ‘औषधि खाँदा पनि पेट दुखाइ बिसेक नभएपछि भोलिपल्ट राउ अस्पताल फर्कियौं र मनिषालाई भर्ना गर्‍यौं। तर उपचारमा हेलचक्र्याइँ भयो, डाक्टरले फर्केर हेरेनन्।’ नर्सले मनिषालाई प्रसूति कक्षमा लगेको केही बेरमै पेटभित्रै बच्चा मरिसकेको सुनाएको रेखाले बताइन्। ‘एक दिनअगाडि जाँच गराएर घर फर्केकी थिएँ’, मनिषाले भनिन्, ‘भोलिपल्ट मरेको बच्चा जन्मिएको सुन्दा विश्वासै लागेन।’ डाक्टरको लापरबाहीका कारण आफ्नो सन्तान खेर गएको उनको गुनासो छ।

प्रहरीले जाहेरी बुझेन, पीडितले हुलाकमार्फत पठाए

डाक्टरको हेलचक्र्याइँले आफूले झन्डै पत्नी पनि गुमाउनुपरेको मनिषाका पति वीरेन्द्रले बताए। ‘राम्रो उपचारको आस गरेर अस्पताल पुगेको थिएँ, ज्यानै लिन खोजे। यो अस्पताल सेवा केन्द्र भन्दा पनि व्यापारिक स्थल हो, जहाँ मानिसको ज्यानको व्यपार हुँदोरहेछ’, उनले भने। डा. सुशीला भने सम्पर्कमा आउन चाहिनन्। उनका पति एवं राउ अस्पतालका मेडिकल सुपरिटेन्डेट डा. सुनिल कुशवाहाले डाक्टरको लापरबाही वा हेलचक्र्याइँले नवजात शिशुको मृत्यु नभएको दाबी गरे। ‘मानिसको ज्यानको ग्यारेन्टी हामीले लिँदैनौं’, उनले भने, ‘श्रेया पोलिक्लिनिकमा भिडियो एक्सरे भएको हो, औषधि पनि खरिद गरेको होला। यस अस्पतालमा सञ्चालनमा नरहेको सेवा त्यहाँबाट दिएको हो।’ सरकारी अस्पतालमा अवैध काम गर्न नहुने तर बाहिर ‘जे गर्दा पनि मिल्ने’ उनले बताए। ‘सुशीलाले श्रेया पोलिक्लिनिकमा भिडियो एक्सरे गर्नु हुन्छ, सरकारीमा उहाँले गर्न मिल्दैन।’ भिडियो एक्सरे गर्न सोनोग्राफी वा रेडियोग्राफीसम्बन्धी पढाइ गरेको हुनुपर्छ। तर, डा. सुशीलाको पढाइ यससम्बन्धी नभएकाले उनले अस्पतालमा भिडियो एक्सरे नगर्ने तर आफ्नो क्लिनिकमा गर्ने डा. सुनिलले बताए।

सरकारी अस्पतालमा सेवा लिन आएकालाई अस्पतालकै डाक्टरले निजी क्लिनिकमा लगेर भिडियो एक्सरे गराइन्।

‘कानुनी रुपमा गर्नै नमिल्ने काम (भिडियो एक्सरे) डा. सुशीलाले कसरी आफ्नो निजी पोलिक्लिनिकमा लगेर गरिदिइन्,’ यो वीरेन्द्रको प्रश्न हो। यही विषयमा छानबिन माग गर्दै आफूहरु उजुरी गर्न प्रहरीकहाँ गएको तर प्रहरीले हप्काएर फर्काएको उनको गुनासो छ। वीरेन्द्रले भने, ‘हामीले शुक्रबार रीतपूर्वक जाहेरी लेखाएर इलाका प्रहरी कार्यालय लहानमा दर्ता गराउन जाँदा डिएसपी राजेश थापाले हप्काएर फर्काइदिए। कमसेकम जाहेरी लिएर घटनाको तथ्य अनुसन्धान गरिदिनुस्, हामीलाई निसाफ दिलाउन पहल गरिदिनुस् भन्दा बबाल गर्न आएको भन्दै भगाइदिए।’ प्रहरीले जाहेरी लिन अस्वीकार गरेपछि हुलाकमार्फत पठाएको उनले बताए। डिएसपी थापाले जाहेरी नलिएको स्वीकार गरे। उनले नागरिकसँग भने, ‘उहाँहरुले जाहेरी लिएर आउनुभएको थियो, हामीले लिएनौं। जाहेरी दिने माध्यम धेरै छन्। हुलाक छन्, अरु पनि छन्।’ सिरहाका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले घटनाबारे जानकारी पाएको र थप बुझ्दै गरेको बताए।

प्रकाशित: १२ माघ २०७५ ०२:२६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App