७ वैशाख २०८१ शुक्रबार
समाज

मार्तडी–कोल्टी सडक अवरुद्ध

बाजुरा - लगातारको हिमपातका कारण बाजुराको मार्तडी–कोल्टी सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। बडिमालिका र बूढीनन्दा नगरपालिकाको सिमाना पोरखे लेकमा बाक्लो हिउँ परेपछि सडक बन्द भएपछि बाजुरा ‘क’ र ‘ख’ क्षेत्रको सम्बन्ध टुटेको छ। चार÷पाँच फिट हिउँ जमेकाले हिँडडुलमा समस्या भएको स्थानीय छक्क मल्लले बताए। मार्तडीबाट कोल्टीका लागि जाने सवारीसाधन बीचैमा रोकिएको प्रहरी नायब उपरीक्षक उद्धव सिंह भाटले बताएका छन्।

हिमपातका कारण ग्रामीण भेगका कच्ची सडकहरू हिलाम्मे भएकाले यात्राका लागि समस्या भएको यातायात व्यवसायीले बताएका छन्। सदरमुकाम मार्तडीबाट जिल्लाको गौमुल र कोल्टीसम्मको सडकमा हिमपात बढी हुँदा जिप सञ्चालन हुन नसकेको भाटको भनाइ छ।

हवाई सेवा अवरुद्ध
हिमपातका कारण कोल्टी विमानस्थल पनि बन्द भएको बाजुरा नागरिक उड्डयन शाखा कार्यालयले जानकारी दिएको छ। तीन दिनको हिमपात र वर्षापछि बिहीबार घाम लागे पनि शुक्रबार दिउँसो फेरि हिमपात भएको छ। सोमबारदेखि बुधबारसम्म घाम नलाग्दा चिसोले अस्तव्यस्त बनेको जनजीवन हिमपातसँगै पुनः कष्टकर बनेको छ। हिउँ मार्तडी बजारमा पनि पर्न थालेको छ। हवाई सेवा अवरुद्ध भएपछि नेपालगन्ज र सुर्खेतबाट दैनिक कोल्टी आउने र जाने यात्रु अलपत्र परेका छन्। कोल्टी एयरपोर्टबाट बाजुराका बूढीनन्दा नगरपालिका, जगनाथ, स्वामीकार्तिक खापर र हिमाली गाउँपालिकासहित हुम्ला, मुगु, कालिकोटका स्थानीयले सेवा लिँदै आएका छन्।

कोल्टी क्षेत्र सञ्चारविहीन
कोल्टी क्षेत्र सञ्चार विहीन बनेको छ। जिल्लाका नौमध्ये चार स्थानीय तह रहेको कोल्टी क्षेत्र टेलिफोन र इन्टरनेट सेवाबाट विच्छेद बनेको प्रहरीले बताएको छ। कोल्टीका बूढीनन्दा नगरपालिका तथा जगन्नाथ, स्वामिकार्तिक खापर र हिमाली गाउँपालिका सञ्चार सुविधाबाट वञ्चित भएका हुन्। सो क्षेत्र घाम लाग्दा मात्रै मोबाइलमा टावर आउने र बादल लाग्दा सञ्चारविहीन हुने गरेको छ।

फोन नहुँदा स्थानीय तहका काम प्रभावित बनेका छन्। ‘कुनै विपत्ति आउँदा, घटना, दुर्घटना हुँदा प्रहरी प्रशासनमा खबर गर्न पनि समस्या हुने गरेको स्थानीयको गुनासो छ। लगातार हिमपात भइरहेपछि सेवा अनियमित बनेको उनीहरू बताउँछन्। उत्तरी क्षेत्रका बूढीनन्दा नगरको कोल्टी घोडाकोट, हिमाली–६ गुम्लु र हिमाली–२ कोटमा दुई वर्षअघि रिपिटर टावर निर्माण भएका थिए। ती सबै टावर विद्युत् सेवा नहुँदा सोलार प्रविधिबाट जडान गरिएका छन्। टेलिकम कार्यालय बाजुराका मानबहादुर रोकायाले त्यस क्षेत्रमा बिजुली नभएकाले सोलारको विकल्प नभएको बताए। उनले कोल्टीमा विद्युत् भए पनि नियमित नहुँदा समस्या आएको उनको भनाइ छ। चिसोले अस्तव्यस्त बनेको जनजीवन फोन सेवासमेत नहुँदा थप सास्ती भोग्न बाध्य छ।

प्रकाशित: १२ माघ २०७५ ०२:१३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App