८ वैशाख २०८१ शनिबार
राजनीति

डा. केसीको समर्थनमा ओपिडी सेवा बहिष्कार

डा. गोविन्द केसीका मागप्रति ऐक्यबता जनाउँदै आन्दोलनमा उत्रिएका बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका आवाशीय चिकित्सक। तस्बिर : रोहित राई/नागरिक

धरान – बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका आवाशीय चिकित्सकहरुले डा. गोविन्द केसीका मागप्रति ऐक्यबद्धता जनाउँदै शुक्रबार ओपिडी सेवा बहिष्कार गरेका छन्। डा. केसीका माग सम्बोधन गर्न सरकारलाई दबाब दिन उनीहरुले ओपिडी सेवा नदिएका हुन्। केसीका मागप्रति सरकार थप कठोर बन्दै गएपछि जुनियर रेसिडेन्ट वेल्फेयर सोसाइटीको अगुवाइमा शुक्रबारदेखि प्रतिष्ठानका आवाशीय चिकित्सकले ओपिडी सेवा बन्द गरेका हुन्। आन्दोलनमा उत्रिएका आवाशीय चिकित्सकहरुले दिउँसो १ बजेसम्म जिओपिडी भवनअघि धर्ना पनि दिए।

ओपिडी सेवा बहिष्कार गरे पनि आकस्मिक सेवा भने सञ्चालन गरिएको सोसाइटीका अध्यक्ष डा. कविराज पौडेलले बताए। उनका अनुसार प्रतिष्ठान, वीर अस्पताल र त्रिवि शिक्षण अस्पताल काठमाडौंका आवाशीय चिकित्सक डा. केसीका मागप्रति ऐक्यबद्धता जनाउँदै चरणवद्ध आन्दोलनमा छन्। माघ ६ र ७ गते कालोपट्टी हातमा बाँधेर काम गरेका उनीहरुले ८ र ९ गते बिहान ८ बजेदेखि ११ बजेसम्म कार्यरत अस्पतालमा धर्ना दिएका थिए। चिकित्सा शिक्षा सुधारको मुद्दा उठाएर १६औं पटक अनशनमा बसेका डा. केसीका माग सम्बोधन गर्न सरकारले आलटाल गरेपछि शुक्रबार ओपिडी सेवा बहिष्कार गरिएको डा. पौडेलको भनाइ छ।

डा. केसीका माग पुरा नभएसम्म निरन्तर ओपिडी सेवा बहिष्कार भइरहने उनले बताए। ‘हामीले आकस्मिक सेवा बहिष्कार गरेका छैनौं, ओपिडी मात्र बहिष्कार हो,’ पौडेलले भने, ‘डा. केसीका माग सम्बोधन नभए थप सशक्त आन्दोलन पनि गर्छौं।’ प्रतिष्ठानमा ३ सय ५० हाराहारीमा आवाशीय चिकित्सक छन्। आवाशीय चिकित्सकले ओपिडी सेवा बहिष्कार गरे पनि सिनियर तथा फ्याकल्टी चिकित्सकले सेवा दिइरहेका छन्। तर, सिनियर तथा फ्याकल्टी चिकित्सक थोरै भएकाले ओपिडी सेवा प्रभावित भएको छ।‘ओपिडी सेवा ठप्पै त भएको छैन। सिनियर फ्याकल्टीहरुले सेवा दिइरहेका छौं तर जेआरहरु नहँदा धेरै नै प्रभाव पर्छ,’ प्रतिष्ठानका सहप्रवक्ता डा. अशोक ऐरले भने। विगतमा भएको सम्झौता र माथेमा आयोगको प्रतिवेदनअनुसार चिकित्सा शिक्षा विधेयक बन्नुपर्ने माग राखेर डा.केसी १६ आंै पटक आमरण अनशनमा बसेका हुन्।

प्रकाशित: १२ माघ २०७५ ०२:०३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App