७ वैशाख २०८१ शुक्रबार
राजनीति

‘चीन–रुस धुरी’ मा नेकपा

फाइल तस्बिर

काठमाडौं - सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले भेनेजुएलाको पक्षमा विज्ञप्ति जारी गरी नेपाललाई चीन–रुस धुरीमा उभ्याएका छन्। दक्षिण अमेरिकी मुलुक भेनेजुएलाको राष्ट्रिय सभाका विपक्षी नेता हुवान गुवाइदोले बुधबार सरकारविरोधी प्रदर्शनका क्रममा आफूलाई राष्ट्रपति घोषणा गरेको केही घन्टामै शक्तिराष्ट्र अमेरिकाले वैधानिकता दिएको थियो। त्यसको विरोधमा नेकपा अध्यक्ष दाहालले भेनेजुएलाको आन्तरिक मामिलामा हस्तक्षेप भएको भन्दै विज्ञप्ति जारी गरेका हुन्।

दोस्रो कार्यकालका लागि निकोलस मादुरो निर्वाचित हुँदा विपक्षीलाई दमन गरेको आरोप लागेको छ। भेनेजुएलामा राजनीतिक संकट चुलिँदै गएका बेला अमेरिकासँगै ब्राजिल, कोलम्बिया, चिली, पेरु, इक्वेडर, अर्जेन्टिना र पाराग्वेसमेत मादुरोको विरुद्ध उभिएका छन्। यो मुद्दामा चीन र रुसले भने मादुरोलाई साथ दिएका छन्।दाहालले अमेरिकी हस्तक्षेपको विरोध गर्दै आफ्नो पार्टी भेनेजुएलाका जनताको पक्षमा रहेको जनाएका छन्। ‘नेकपाले भेनेजुएलाका जनता, देशको सार्वभौमसत्ता र प्रजातान्त्रिक रुपमा निर्वाचित संवैधानिक राष्ट्रपति निकोलस मादुरोको समर्थनमा यो विज्ञप्ति जारी गरेको छ,’ दाहालले हस्ताक्षर गरेको विज्ञप्तिमा भनिएको छ, ‘अमेरिका र यसका सहयोगीहरूले बोलिभियाली गणतन्त्र भेनेजुएलामाथि जनताबीच विभाजन ल्याई हिंसा बढाउने, प्रजातन्त्र, सार्वभौमसत्ता र शान्तिमाथि चुनौती दिने कार्यको सशक्त विरोध गर्छ।’ उनले प्रजातान्त्रिक तबरबाट चुनिएका राष्ट्रपति मादुरोलाई मान्यता दिनुपर्ने पक्षमा नेकपा रहेको पनि बताएका छन्।

‘भेनेजुएलाको कार्यवाहक राष्ट्रपतिका रुपमा हुवान गुआइदोको स्वघोषणालाई अमेरिका र क्षेत्रीय राष्ट्रहरुले तत्काल मान्यता दिनुले प्रस्टरुपमा निर्वाचित राष्ट्रपतिविरुद्ध ठूलो ग्रान्ड डिजाइन भएको देखिन्छ,’ विज्ञप्तिमा भनिएको छ, ‘यो अरुको आन्तरिक मामलामा घुसपेठ गर्ने प्रयासमात्र नभएर कुको प्रयास हो, जुन हामीलाई स्वीकार्य छैन’, उनले भनेका छन्।

दाहालले अमेरिकी हस्तक्षेपको विरोध गर्दै आफ्नो पार्टी भेनेजुएलाका जनताको पक्षमा रहेको जनाएका छन्।

अमेरिकाले एक दशकदेखि भेनेजुएलामा अमानवीय आर्थिक बन्देज लगाएर तथा सैनिक हस्क्षेपको त्राश देखाएर हिंसा मच्चाउन खोजेको उनले आरोप लगाएका छन्। ‘हामी अमेरिका र अन्य राष्ट्रहरुलाई अहस्तक्षेप, सार्वभौमिकता र शान्तिपूर्ण सहअस्तित्वको नीतिलाई सम्मान गर्न आग्रह गर्छौं,’ उनले विज्ञप्तिमा भनेका छन्।भेनेजुएलामा मे २०१८ मा विपक्षीद्वारा बहिष्कृत चुनावबाट राष्ट्रपति पदमा मदुरो पुनः निर्वाचित भएका थिए। उनले यसै महिना दोस्रो पदावधिका लागि शपथ ग्रहण गरेका हुन्। उनलाई मानवअधिकारविरोधी भएको र अर्थतन्त्र धराशयी बनाएको भन्दै आन्तरिक शक्ति र अन्तर्राष्ट्रिय समुदायले आलोचना गरेका छन्।

परराष्ट्रविद्ले भने दाहालको वक्तव्यले नेपाल–अमेरिका सम्बन्धमा असर पुर्‍याउने सक्ने बताएका छन्। परराष्ट्रविद डा. जयराज आचार्यले नेपाल र अमेरिकाको सम्बन्ध व्यापक भएकाले यस्ता विषयमा बोल्दा विचार पुर्‍याउनुपर्ने बताए। ‘अमेरिका र नेपालको सम्बन्ध ज्यादै गाढा छ, कुनै पनि सन्दर्भमा बोल्दा ध्यान नपुगे त्यो प्रत्युत्पादक हुन सक्छ,’ परराष्ट्रविद् आचार्यले भने। उनका अनुसार यो मामलामा भेनेजुएलाका जनता विभाजित छन् भने अन्तर्राष्ट्रिय समुदाय पनि विभाजित भएका बेला नेपाल सरकार वा सत्तारूढ दलकै नेताहरुले बोल्दा ध्यान दिनुपर्छ। ‘अमेरिका र नेपालबीचको सम्बन्ध ज्यादै महत्वपूर्ण र प्रगाढ भएकाले आफ्ना खालका धारणा सार्वजनिक गरेर सम्बन्धमा विरोधाभास उत्पन्न गराउनु हुँदैन, त्यसले नेपाललाई फाइदा गर्दैन’, उनले भने।

अमेरिकालगायत केही पश्चिमा मुलुक र संयुक्त राष्ट्रसंघले नेपालको संक्रमणकालीन न्यायबारे प्रस्ट हुन भन्दै बिहीबार विज्ञप्ति जारी गरेको भोलिपल्टै आएको नेकपा अध्यक्ष दाहालको वक्तव्यलाई अर्को एउटा संयोगका रुपमा समेत हेरिएको छ। अस्ट्रेलिया, जर्मनी, युरोपेली संघ, फिनल्यान्ड, फ्रान्स, नर्वे, स्विट्जरल्यान्ड, बेलायत, अमेरिका र संयुक्त राष्ट्रसंघले संयुक्त विज्ञप्ति जारी गरी संक्रमणकालीन न्याय टुंगोमा पुर्‍याउन भनेका थिए। यसमा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले प्रतिक्रिया दिँदै भनेका थिए, ‘नेपाललाई कसैले सम्झाउनु पर्दैन।’

प्रकाशित: १२ माघ २०७५ ०१:१७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App