८ वैशाख २०८१ शनिबार
राजनीति

‘चिकित्सा शिक्षा क्षेत्रमा ठूलो विजय भयो, अब डा केसीले कहिल्यै आन्दोलन गर्नुपर्दैन’

तस्बिर : दिनेश लुइटेल/नागरिक

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य योगेश भट्टराईले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित भएसँगै चिकित्सा शिक्षा क्षेत्रमा ठूलो विजय भएको प्रतिक्रिया दिएका छन्। 

विधेयक पारित भएपछि संसद भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले अब चिकित्सा शिक्षालाई लिएर डा गोविन्द केसीले कहिल्यै कठोर आन्दोलन गर्नुनपर्ने बताए। ‘अब डा केसीको आन्दोलनमाथि राजनीति गर्नेका दिन गए’, उनले भने।  

विधेयक पारित भएसँगै चिकित्सा शिक्षा सुधारका लागि आन्दोलन गर्ने विद्यार्थी संगठन, शैक्षिक अगुवा, पटक पटक अनसन बस्दै आएका डा गोविन्द केसीको मागलाई सम्बोधन गरेको उनको दाबी छ। 

‘चिकित्सा शिक्षा क्षेत्रमा ठूलो विजय भएको छ। विकृतिलाई सदाका लागि अन्त्य गरेको छ। यो विधेयक नेपालको चिकित्सा शिक्षा क्षेत्रमा क्रान्तिकारी फड्को हुनेछ’, उनले भने। 

उनले डा केसीको सत्याग्रहको जित भएको टिप्पणी गर्दै सत्याग्रहबाट निस्कन आग्रह गरे। ‘जनता, विद्यार्थी, व्यापारीलाई नाफा भएको छ, सबै नेपालीको जित छ’, उनले भने, ‘तर यो विधेयक पास हुँदा विदेशी व्यापारीलाई घाटा भयो।’

भट्टराईले संसदमा कांग्रेसको विरोधलाई आफूहरुले सम्मान गर्ने र त्यो संसदीय अधिकार कुरा भएको भन्दै गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा रहेको अस्पताल सरकारले नै सञ्चालन गर्ने दाबी गरे। प्रधानमन्त्री केपी शर्मा ओली फर्किएपछि यसबारेमा छलफल हुने उनको भनाई छ।  ‘तनहुँ र बाँकेका दुबै अस्पताल सरकारले सञ्चालन गर्छ, प्रधानमन्त्री आएपछि छलफल हुन्छ’, उनले भने। 

संसदको अवरोध हटाउन अधिकतम प्रयास गरेपनि कांग्रेसको तर्फबाट एकोहोरो ढिपीले सहमति हुन नसकेको उनको भनाई छ। ‘सहमति जुट्न नसकेपछि सभामुखले विगतका अभ्यासबाट यो प्रक्रिया अवलम्बन गरेर विधेयक पारित गर्नुभयो’, उनले भने। 

प्रकाशित: ११ माघ २०७५ ०९:३४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App