८ वैशाख २०८१ शनिबार
खेल

नेपाल ११३ रनमा अलआउट

काठमाडौं – युएईसँगकाे एकदिवसीय क्रिकेटमा नेपालले खराब प्रदर्शन गरेको छ। दुबईस्थित आइसीसी क्रिकेट एकेडेमीमा जारी खेलमा नेपाल १ सय १३ रनमा अलआउट भएको छ। टस हारेर ब्याटिङ गरेको नेपाल ३३.५ ओभरमा ११३ रनमा अलआउट भएको हो।

नेपालका लागि सोमपाल कामीले सर्वाधिक ३० रनको योगदान दिए। उनले ४७ बलमा ३ चौंका प्रहार गरे। त्यस्तै आरिफ शेखले ४३ बलमा २५, कप्तान पारस खड्काले ३६ बलमा २० र सन्दीप लामिछानेले १५ रनकाे योगदान दिए। नेपालका ७ जना खेलाडीले दोहोरो रनको स्कोर पार गर्न सकेनन्।

आजको खेलबाट एकदिवसीय खेलमा डेब्यू गरेका बिनोद भण्डारी ५ र पवन सर्राफ ४ रनमा आउट भए। पहिलो विकेटका रुपमा उपकप्तान ज्ञानेन्द्र मल्ल पहिलो ओभरको चौंथो बलमा ० रनमा आउट भएपछि नेपालको विकेट पतन सुरु भएको थियो।

नेपाललाई सस्तैमा समेटन युएईका मोहम्मद नाभिद र अमिर हयातले समान ३–३ विकेट लिए। त्यस्तै इमरान हेइदरले २ तथा कदीर अहमदले एक विकेट लिए।

नेपालले युएईसंग तीन खेलको एकदिवसीय र तीन खेलको टी–२० सिरिज खेल्नेछ। नेपालले दोस्रो एकदिवसीय शनिबार खेल्नेछ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) बाट एकदिवसीय मान्यता पाएपछि नेपाल दोस्रो एकदिवसीय सिरिज खेल्न युएई पुगेको हो।

नेपालले पहिलो एकदिवसीय शृंखला नेदरल्यान्ड्सविरुद्ध खेलेको थियो। पहिलो खेलमा ५५ रनको झट्का बेहोरे पनि दोस्रो खेलमा भने रोमाञ्चक १ रनको जित निकाल्दै शृंखला बराबरीमा टुङ्ग्याउँदा नेपालको लक्ष्य अधुरो बनेको थियो।

प्रकाशित: ११ माघ २०७५ ०८:२८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App