६ वैशाख २०८१ बिहीबार
अर्थ

गोरकाली रबर उद्योगका कर्मचारीलाई अवकास

काठमाडौं – सरकारले बन्द अवस्थामा रहेको गोरखकाली रबर उद्योगका कर्मचारीलाई अवकास दिने भएको छ। २०७१ चैतदेखि पूर्णरुपमा बन्द रहेको उद्योगमा कार्यरत दुई सय ४१ कर्मचारीलाई अवकास दिने निर्णय गरिएको हो।

गोरखा नगरपालिका–१३, मझुवा देउरालीमा रहेको उद्योग लामो समयदेखि घाटामा रहेको र कार्यरत कर्मचारीलाई बिना काम तलब खुवाउनु पर्दा वार्षिक करोडौं रुपैयाँ नोक्सानी भएपछि अवकास दिने निर्णयमा सरकार पुगेको हो। महिनामा एकपटक कार्यालय पुगेर हाजिर गरेको भरमा कर्मचारीले मासिक तलब खाँदै आएका थिए।

रबर उद्योगमा कार्यरत कर्मचारीलाई अवकास दिने निर्णय गरेको सरकारका प्रवक्ता  सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले बताए। अवकास पाउनु पूर्व कर्मचारीले उद्योगलाई बुझाउनु पर्ने सबै हिसाब किताब बुझाएर फरफारक गर्नुपर्नेछ। अवकास दिन करिब एक अर्ब रुपैयाँ लाग्ने जनाइएको छ।

यो उद्योग कम्पनी ऐन अन्तर्गत २०४१ जेठ ३० गते स्थापना भएको थियो। उद्योगको अधिकृत पुँजी ६९ करोड ९९ लाख रुपैयाँ रहेको छ। उक्त उद्योगको आर्थिक वर्ष ०७३÷७४ सम्म एक अर्ब ७७ करोड ७९ लाख रुपैयाँ कुल सञ्चित नोक्सान रहेको अर्थ मन्त्रालयले सार्वजनिक गरेको सार्वजनिक संस्थानको वार्षिक स्थिति समिक्षा प्रतिवेदन, २०७५ मा उल्लेख छ। उद्योगले बैंक तथा वित्तीय संस्थालाई बुझाउनु पर्ने साँवा १८ करोड ३३ लाख र ब्याज १७ करोड ६ लाख रुपैयाँ रहेको छ। त्यसैगरी, सरकारलाई १६ करोड ६५ लाख रुपैयाँ तिर्न बाँकी रहेको अर्थ मन्त्रालयले जनाएको छ।

उद्योग ६ सय ४० रोपनी क्षेत्रफलमा फैलिएको छ। करिब चार सय रोपनी जग्गामा उद्योग र प्रशासनिक भवन फैलिएको छ भने बाँकी जग्गा खाली छ। यो नेपालको एकमात्र टायर उत्पादन गर्ने उद्योग हो।

प्रकाशित: ११ माघ २०७५ ०७:०४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App