६ वैशाख २०८१ बिहीबार
अर्थ

८० करोड तिर्नुपर्नेमा १० करोड

फाइल फाेटाे

काठमाडौं – नेपाल वायुसेवा निगमले दुई वाइड बडी विमान खरिदमा लिएको ऋणको पुस मसान्तमा साँवा व्याज गरी तिर्नुपर्ने ८० करोड रुपैयाँ किस्तामध्ये १० करोड मात्र बुझाएको छ। निगमले वाइड बडी जहाजलाई योजनाअनुसार उडाउन नसकेपछि आम्दानी नहुँदा किस्ताको ७० करोड रुपैयाँ तिर्न नसकेको हो।

निगमले दुई वाइबडी विमान खरिद गर्न कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट १२–१२ अर्ब रुपैयाँ ऋण लिएको थियो। यसमा सरकार जमानी बसेको छ। निगमले दुई वाइड बडीको ८० करोड ४२ लाख रुपैयाँका साथै अर्का दुई न्यारोबडीको पनि ३३ करोड नौ लाख रुपैयाँ किस्ता तिर्नुपर्नेछ। निगमले न्यारोबडीको सबै किस्ता भने बुझाएको छ। पुस मसान्तमा तिर्ने वाइड बडीको दोस्रो किस्ता हो। असोजमा व्याज मात्रै बुझाएको थियो। निगमका अनुसार ऋण सम्झौता गर्दा पहिलो किस्तामा व्याज बुझाउने सहमति भए अनुसार करिब ४५ करोड बुझाएको थियो।

न्यारो बडी विमानको भने १३ औं किस्ता हो। निगमले वाइड बडी गत असार र साउनमा ल्याएको थियो भने न्यारो बडी विमान चार वर्षअघि ल्याएको हो। ऋणमा ल्याएका विमानको तीन–तीन महिनामा किस्ता तिर्ने सम्झौता छ। समयमै किस्ता नबुझाएपछि ऋण दिने सञ्चय कोष र लगानी कोष दुवैले किस्ता बुझाउन ताकेता गरिरहेका छन्।

सरकारसँग याचना
निगमले आफूले किस्ता तिर्न नसकेपछि सरकारलाई गुहार्ने पक्षमा छ। निगमका कार्यकारी अध्यक्ष मदन खरेलका अनुसार निगमले आफ्नो आम्दानीबाट तिर्न सक्ने किस्ता तिरिसकेको छ। चारवटा विमानको एक अर्ब १३ करोडमध्ये झन्डै ४४ करोड रकम किस्ता भुक्तानी निगमको आम्दानीबाट गरेको उनले बताए। बाइड बडीको तिर्न बाँकी ७० करोड किस्ता सरकारबाट तिराउने कुरा भइरहेको खरेलले बताए।

‘वाइड बडीको बाँकी किस्ता तिर्न सरकारलाई अनुरोध गरेका छौं,’ अध्यक्ष खरेलले भने, ‘सरकार यो विषयमा सकारात्मक रहेकाले चाँडै निर्णय होला।’

उनका अनुसार निगमले पुसमा बाँकी रहेको किस्ता मात्रै नभएर अब चैतमा आउने किस्तासमेत तिरिदिन अनुरोध गरेको छ। त्यसका लागि अर्थ मन्त्रालय सकारात्मक रहेको उनले बताए। स्रोतका अनुसार निगमका कार्यकारी अध्यक्ष खरेलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नै अनुरोध गरेपछि अर्थ मन्त्रालय सकारात्मक भएको हो। यसअघि निगमले सरकारसँग २० अर्ब रुपैयाँ मागेको थियो। निगमलाई पैसा दिन अर्थ मन्त्रालय भने सकारात्मक थिएन।

‘अर्थमन्त्री युवराज खतिवडा आउनेबित्तिकै हामी छलफल गरेर केही निष्कर्षमा पुग्नेछौं,’ खरेलले भने, ‘निगम सरकारको पनि संस्था भएकाले यो विषयमा सरकारको चासो रहन्छ नै।’ संकटमा परेको निगमलाई उकास्नु सरकारको पनि दायित्व रहेको उनले बताए।

निगमले यसअघि नै किस्ता रकम तिर्न नसक्ने बताउँदै आएको थियो। निगमले सरकारसँग ऋण लिने, किस्ता रकमलाई साँवा बनाउने तथा निगमको आफ्नै आम्दानीबाट किस्ता तिर्ने तीन  विकल्प तयार गरेको थियो। तीमध्ये दुई विकल्पमा निगम सफल नभएपछि सरकारसँगै ऋण माग्न खोजेको हो।

खरेलले पुस र चैतको किस्ता तिरिदिए त्यसपछि निगम आफ्नै आम्दानीबाट किस्ता तिर्न सक्ने बताए। निगमले आगामी फागुनभित्र वाइड बडी कोरिया, जापानलगायत देशमा उडाएर आम्दानी बढाउने योजना बनाएको छ।

अहिले निगमसँग भएका दुई सय ७४ सिटे दुइटा ‘ए३३०–२००’ वाइड बडी, एक सय ५८ सिटे दुइटा ‘ए३२०–२००’ न्यारो बडी विमानले भारतको नयाँ दिल्ली, मुम्बई, बैंगलोर, मलेसियाको क्वालालम्पुर, कतारको दोहा, दुबई, हङकङ र बैंकक लगायत छोटा गन्तव्यमा उडान गरिरहेका छन्।

निगमले चीन, जापान, कोरिया, अस्ट्रेलिया, युरोप, अमेरिका जस्ता लामो दूरीमा उडान गर्न ल्याएका वाइड बडी गन्तव्य तय गर्न नसक्दा न्यारो बडीले उडान गरिरहेकै छोटो दूरीमा उडाइरहेको हो।

प्रकाशित: ११ माघ २०७५ ०६:५७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App