coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

कृषि क्षेत्रमा सहयोग गर्न जापान इच्छुक

काठमाडौं – नेपाललाई आर्थिक र प्राविधिक सहयोग गर्दै आएको जापानले कृषि क्षेत्रमा लगानी गर्न इच्छा देखाएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुन र नेपालको भ्रमणमा रहेको जापानी प्रतिनिधि मण्डलसँगको भेटमा उक्त इच्छा देखाएको हो। 

जापानको कृषि तथा वन मन्त्रालयका अन्तर्राष्ट्रिय मामिला हेर्ने उपनिर्देशक ताकामी नाकादाको नेतृत्वमा आएको प्रतिनिधि मण्डलले बिहीबार मन्त्री पुनसँग भेट गरेको थियो। भेटमा ऊर्जामन्त्री पुनले जापान नेपालको पुरानो विकास साझेदार मुलुक भएको भन्दै नेपालको विकासमा जापानले गर्दै आएको सहयोगप्रति धन्यवाद ज्ञापन गरे।

उनले ऊर्जा र जलस्रोत मन्त्रालय मातहतका विभिन्न आयोजनमा जापानले गर्दै आएको  प्राविधिक र आर्थिक सहयोगप्रति धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि सहयोग निरन्तर हुने विश्वास व्यक्त गरे। नेपालको कृषि क्षेत्रको विकासका लागि सिँचाइको महत्वपूर्ण भूमिका हुने भन्दै मन्त्री पुनले त्यसका लागि मन्त्रालयले भेरी बबई, रानी जमरालगायत केही ठूला आयोजना अघि बढाइरहेको जानकारी दिए।    

‘हामीले वर्षभरी नै सिँचाइ गर्न सजिलो होस् भनेर केही ठूला आयोजनाहरु अघि बढाएका छौं, हाम्रो भूगोल सुहाउँदो सिँचाइ प्रविधि खोज्न पनि मैले मातहतका निकायलाई निर्देशन दिएको छु, तपाईंहरु जस्ता विज्ञहरु आउँदा यो क्षेत्रको प्रविधिको अध्ययन र अनुसन्धानमा सहयोग होस् भन्न चाहन्छु ,’ भेटमा मन्त्री पुनले भने।

मन्त्री पुनले जलउत्पन्न प्रकोप नियन्त्रयण केन्द्र स्थापना गर्न जापानले सहयोग गरेको जानकारी दिँंदै सिँचाई र ऊर्जा क्षेत्रको अध्ययन अनुसन्धानमा आगामी दिनमा समेत सहयोग प्राप्त हुने विश्वास गरे। अन्तर्राष्ट्रिय मामिला हेर्ने उपनिर्देशक ताकामीले जापानले नेपाललाई आर्थिक र प्राविधिक सहयोग गर्दै आएको जानकारी दिँदै आगामी दिनमा अझै सहयोग गर्न जापान सरकार तयार रहेको बताए। उनले नेपाल कृषिप्रधान देश रहेको भन्दै कृषि क्षेत्रमा सहयोग गर्न आफूहरु तयार रहेको धारणा राखे।

‘नेपालमा के कस्ता सम्भावना छन्, हामी त्यसको अध्ययन र अनुसन्धानका लागि अहिले नेपालको भ्रमणमा आएका छौं, जापानको निजी क्षेत्र पनि यहाँ लगानी गर्न इच्छुक छ,’ उपमहानिर्देशक ताकामीले भने। उनले सिँचाइ र पानीको क्षेत्रमा जापानको लामो अनुभव भएको भन्दै त्यसको ज्ञान बाँडन आफूहरु इच्छुक रहेको बताए।

भेटमा नेपालका लागि जापानी राजदूत मसामिची सैगो समेत सहभागी थिए। उनले परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीका जापान भ्रमण र जापानी परराष्ट्रमन्त्रीको नेपाल भ्रमणको बेला कृषि क्षेत्रमा सहकार्य गर्ने सहमती भएको भन्दै यो भ्रमणदल नेपाल आउनु त्यसको निरन्तरता भएको जानकारी दिए।

प्रकाशित: ११ माघ २०७५ ०६:५४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App