coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

मादुरोले तोडे अमेरिकासँगको सम्बन्ध

राजधानी कराकसमा बुधबार आयोजित सरकार विरोधी प्रदर्शनमा आफूले आफैलाई अन्तरिम राष्ट्रपति घोषणा गर्दै भेनेजुएलाका विपक्षी नेता जुवान गुआइडो। तस्बिर : एपी

कराकस - संयुक्त राज्य अमेरिकाले भेनेजुएलाका विपक्षी नेता जुवान गुआइडोलाई अन्तरिम राष्ट्रपतिको मान्यता दिएको भन्दै राष्ट्रपति निकोलस मादुरोले अमेरिकासँगको कूटनीतिक सम्बन्ध तोडेका छन्। अमेरिकासँगको सम्बन्ध तोडेका राष्ट्रपति मादुरोले अमेरिकी कूटनीतिज्ञलाई ७२ घण्टाभित्र भेनेजुएला छोड्न समय दिएका छन्। यद्यपि अमेरिकाले भने मादुरो पूर्वराष्ट्रपतिको हैसियतमा गइसकेकाले उनले आफूहरुलाई आदेश दिने कुनै अधिकार नभएको बताएको छ।

विपक्षी नेता गुआइडोले बुधबार आयोजित विशाल प्रदर्शनमा आफूले आफैलाई देशको राष्ट्रपतिका रूपमा घोषणा गरेका थिए। संयुक्त राज्य अमेरिकाले गुआइडोलाई सैन्य सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे पनि हालसम्म उसले मादुरोप्रति नै सदासहायता देखाएको बिबिसीले उल्लेख गरेको छ।

भेनेजुएलाका प्रख्यात नेता ह्युगो चाभेजको मृत्यु भएपछि सन् २०१३ मा मादुरोले राष्ट्रपतिको पद सम्हालेका थिए।  यसै महिना दोस्रो कार्यकालका लागि उनले शपथ लिएका थिए। गत मे महिनामा विपक्षी दलले बहिष्कार गरेको निर्वाचनमा जित हासिल गरेका मादुरोले यसै महिना शपथ लिएका हुन्। विपक्षी दलहरुले उनले निर्वाचनमा धाँधली गरेको आरोप लगाउँदै आएका छन्। दक्षिण अमेरिकी देश भेनेजुएला हाल आर्थिक संकटसँग गुज्रिरहेको छ। मुद्रास्फ्रिति, ऊर्जा संकट र आधारभूत सामग्रीको कमीका कारण लाखौं भेनेजुएली नागरिक देश छोडेर पलायन भइसकेका छन्।

कराकस प्रदर्शनमा के भयो ?
विपक्षी नेता गुआइडोको समर्थनमा राजधानी कराकसमा बुधबार हजारौं भेनेजुएली नागरिक सहभागी भएका थिए। गुआइडो विपक्षीको नियन्त्रण रहेको राष्ट्रिय सभाका प्रमुखसमेत हुन्। बुधबार भेला भएका समर्थकमाझ नेता गुआइडोले भेनेजुएला मुक्त नभएसम्म प्रदर्शन जारी रहने बताएका थिए। ‘संक्रमणकालीन सरकारको नेतृत्व र देशमा निष्पक्ष निर्वाचन गर्न कार्यवाहक राष्ट्रपतिका रूपमा राष्ट्रिय कार्यकारी शक्तिको औपचारिक ग्रहणका लागि म शपथ लिन्छु,’ विपक्षी नेता गुआइडोले आफ्नो दायाँ हातमाथि उठाउँदै प्रदर्शनमा सहभागी प्रदर्शनकारीमाझ बताएका थिए।

देशको संविधानको धारा २३३ र धारा ३३३ लाई उद्धृत गर्दै नेता गुआइडोले राष्ट्रपति नभएका बेला राष्ट्रिय सभाका प्रमुखले अन्तरिम सरकारको नेतृत्व गर्न सक्ने बताउँदै शपथ लिएका थिए। मे महिनाको निर्वाचन वैध नभएकाले मादुरो राष्ट्रपति नभएको गुआइडोको कथन थियो। यसैबीच बुधबारकै सम्बोधनका क्रममा विपक्षी नेता  गुआइडोले देशको सुरक्षा फौजलाई मादुरो नेतृत्वको सरकारको आदेश नमान्न आग्रहसमेत गरेका छन्। सरकार विरोधी प्रदर्शनका क्रममा मंगलबार र बुधबार सरकारी फौजको गोली लागि १४ जनाको मृत्यु भएको भेनेजुएलाका गैरसरकारी संस्थाहरुलाई उद्धृत गर्दैै बिबिसीले जनाएको छ।

अमेरिकी प्रतिक्रिया के छ ?
३५ वर्षीय भेनेजुएली विपक्षी नेता गुआइडोले आफूले आफैलाई देशको कार्यवाहक राष्ट्रपति घोषणा गरको केही समयभित्रै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उनलाई अन्तरिम राष्ट्रपतिका रूपमा मान्यता दिएका थिए। ‘मादुरो र उनको शासनका विपक्षमा भेनेजुएलाका नागरिकले साहसिक रूपमा बोलेका छन् र उनीहरुले स्वतन्त्रता र विधिको शासन माग गरेका छन्,’ मादुरोको नेतृत्वलाई अवैधानिक भन्दै ट्रम्पले जारी गरेको विज्ञप्तिमा भनिएको छ। विज्ञप्तिमा मादुरोले कडा अमेरिकी प्रतिबन्धको सामनासमेत गर्न सक्ने चेतावनीसमेत दिएका छन्। ट्रम्पले आफूले भेनेजुएलामा सैन्य कारबाही गर्नेबारे नसोचेको भए पनि सबै विकल्प भने खुला रहेको सञ्चारकर्मीसँग बताएका छन्। उनले गुआइडोको कदमलाई समर्थन गर्न अन्य देशलाई पनि आग्रह गरेको बिबिसीले उल्लेख गरेको छ।

अन्य देशको प्रतिक्रिया के छ ?
दक्षिण अमेरिकाका सात राष्ट्र ब्राजिल, कोलम्बिया, चिली, पेरू, इक्वेडर, अर्जेन्टिना र पाराग्वले पनि गुआइडोलाई वैधानिक राष्ट्रपतिको मान्यता दिएका छन्। क्यानडाले पनि उनलाई समर्थन गरेको छ भने युरोपेली संघआबद्ध राष्ट्रहरुले भने नयाँ निर्वाचनको माग गरेका छन्।

अमेरिकी राज्यको संगठन (ओएएस)ले पनि गुआइडोलाई राष्ट्रपतिको मान्यता दिएका छन्। आफ्नो आन्तरिक मामिलामा हस्तक्षेप गरेको भन्दै सन् २०१७ मा भेनेजुएलाले ओएएसबाट हात झिकेको थियो। मेक्सिको, बोलिभिया र क्युबाले भने मादुरोको पक्षमा समर्थन गरेका छन्। रुसले पनि घुमाउरो शैलीमा मादुरोकै समर्थन गरेको छ। उसले अमेरिकाले भेनेजुएलामा सैन्य हस्तक्षेप गर्‍यो भने त्यो विनाशकारी हुने बताएको छ। टर्कीले पनि मादुरोकै समर्थन गरेको छ। संयुक्त राष्ट्रसंघले भने भेनेजुएलाको पछिल्लो राजनीतिक गत्यावरोधलाई सम्बोधन गर्न शान्तिपूर्ण राजनीतिक वार्तामा जोड दिएको बिबिसीले उल्लेख गरेको छ।

प्रकाशित: ११ माघ २०७५ ०५:२२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App