७ वैशाख २०८१ शुक्रबार
समाज

ढुंगा पन्छाउन ‘ब्लास्टिङ’ गर्ने

रसुवा - चीन जोड्ने छोटो दूरीको मैलुङ–स्याफ्रुबेंसी सडकमा शुक्रबारदेखि ‘ड्रिलिङ’ थालिने भएको छ। सात महिनाअघि ट्र्याक खोलिएको सडकको पहिरो पन्छाउन ब्लास्टिङ गर्नुपर्ने भएपछि शुक्रबार ड्रिलिङ सुरु गर्न लागिएको हो। सडकमा ठूलाठूला ढुंगा खसेकाले ब्लास्टिङ गर्नुपर्ने अवस्था आएको गल्छी–त्रिशुली–मैलुङ–स्याफ्रुबेंसी–रसुवागढी सडक योजनाले जनाएको छ।

सडक स्तरोन्नति जारी रहे पनि कहिले सञ्चालनमा आउँछ भनी तोक्न नसकिने योजना प्रमुख सुबोधकुमार देवकोटा बताउँछन्। ‘ड्रिल गर्ने मेसिन साइडमा पुगिसकेको छ,’ उनी भन्छन्, ‘शुक्रबारदेखि ड्रिल गर्ने कार्य सुरु हुन्छ।’ सडकको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) संशोधन गर्नुपरेकाले स्तरोन्नतिमा ढिलाइ भएको थियो। गत पुस अन्तिम साताबाट स्तरोन्नतिको काम सुरु भएको थियो। सडकका दुवैतर्फबाट पहिरो पन्छाउने कार्य भइरहेको छ। २०७२ वैशाख १ गतेदेखि निर्माण कार्य सुरु भएको सडकको गत जेठ ६ गते ट्र्याक खोल्ने कार्य सम्पन्न भएको थियो। त्यसको केही दिनपछि सवारी सञ्चालनका लागि अनुमति दिइएको थियो। यो राष्ट्रिय प्राथमिकता प्राप्त सडक आयोजना हो।

राष्ट्रिय योजना आयोगको मध्यकालीन खर्च संरचना (२०७५÷७६–२०७७÷७८) मा उल्लेख भएअनुसार आर्थिक वर्ष २०६१÷६२ देखि निर्माण सुरु भएको गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी–रसुवागढी सडक आयोजना २०७५÷७६ भित्र निर्माण तथा स्तरोन्नति भइसक्नुपर्ने उल्लेख छ। यो सडक वेत्रावती कालिकास्थान धुन्चे हुँदै स्याफ्रुबेंसी जोड्ने सडकभन्दा २५ किलोमिटर छोटो छ। बेत्रावती–मैलुङ–स्याफ्रुबेंसीको दूरी २९ किलोमिटर मात्रै छ। पासाङल्हामु राजमार्गअन्तर्गत पर्ने धुन्चे खण्डमा धेरै घुम्ती पार गर्नुपर्ने भए पनि यो सडकमा एउटा पनि घुम्ती छैन। काठमाडौंदेखि गल्छी ४४, गल्छीदेखि बट्टार २२, बट्टारदेखि बेत्रावती ११, बेत्रावतीदेखि मैलुङ १२ र मैलुङदेखि स्याफ्रुबेंसी १६ किलोमिटर छ।

बेत्रावतीदेखि धुन्चे हुँदै स्याफ्रुबेंसी सडकमा उकालो र ओरालो हुँदै ३५ वटा कठिन घुम्ती पार गर्नुपर्ने भए पनि मैलुङतर्फबाट हिँडन कुनै पनि घुम्ती पार गर्नुपर्दैन। मैलुङ­–स्याफ्रुबेंसी सडकको विकल्पमा वेत्रावती–धुन्चे–स्याफ्रुबेंसी सडक प्रयोग गर्न सकिने बताइएको छ। २०४२ सालदेखि पासाङ ल्हामु राजमार्गअन्तर्गत बेत्रावती–धुन्चे सडक सञ्चालन हुँदै आएको छ।

प्रकाशित: ११ माघ २०७५ ०३:३९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App