coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

सिमरा गोल्डकपको उपाधिका लागि थ्री स्टार र आर्मी भिड्ने

बललाई नियन्त्रणमा लिने प्रयास गर्दै थ्री स्टार (निलो) र हिमालयन शेर्पाका खेलाडी । तस्बिर : उपेन्द्र/नागरिक

बारा - हिमालयन शेर्पालाई १–० ले पराजित गर्दै रुस्लान थ्री स्टार क्लबले बाराको सिमरामा जारी दशौं सिमरा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ। जितसँगै शनिबार हुने उपाधि भिडन्तमा थ्री स्टारले त्रिभुवन आर्मी क्लबसँगको भेट पक्का गरेको छ।  सिमरा रंगशालामा भएको बिहीबार भएको अन्तिम सेमिफाइनलमा थ्री स्टारलाई उपाधि होडमा उभ्याउने क्रममा एक मात्र निर्णायक गोल अफ्रिकी स्ट्राइकर फोफाना फोडेले गरेका थिए।

प्रतिस्पर्धात्मक खेलको ७१औं मिनटमा डी बक्सभित्र हिमालयन शेर्पाका डिफेन्डर र गोलरक्षकले गरेको गल्तीको फाइदा उठाउँदै फोडेले टिमलाई अग्रता दिलाएका थिए। थ्री स्टारका रञ्जन विष्टले डी बक्सबाहिरबाट एकल प्रयासमा लगेको बल क्लिएर गर्न अघि बढेका शेर्पाका गोलरक्षक किशोर गिरीको प्रयास सफल हुन नसक्दा फोडेले त्यसको फाइदा लिएका थिए। किपर बिट भएको अवस्थालाई सदुपयोग गर्दै फोडेले सुन्दर गोल गरेर थ्री स्टारलाई महत्वपूर्ण जित दिलाए।

खेलको १४औं मिनटमा फोफाना फोडेको पासमा सुशील राईले गोल गर्ने अवसर गुमाए। डी बक्सभित्रै पाएको बललाई फितलो प्रहार गर्दा हिमालयन शेर्पाका गोलरक्षक किशोर गिरीले सहजै बचाउ गरे। खेलको १६औं मिनेटमा हिमालयन शेर्पाका विश्वासको अर्को प्रहार विफल भयो। डी बक्सबाहिर पाएको बल एकल प्रयासमा अघि बढाउँदै पेनाल्टी एरियाबाट उनले गरेको सशक्त प्रहार थ्री स्टारका गोलरक्षक एलनले पन्च गर्दै बचाउ गरेका थिए।

थ्री स्टारलाई उपाधि होडमा उभ्याउने क्रममा एक मात्र निर्णायक गोल अफ्रिकी स्ट्राइकर फोफाना फोडेले गरेका थिए।

३३औं मिनेटमा फोफाना फोडेले अर्को अवसर गुमाए। किपरसमेत अघि बढेको अवस्थामा डी एरियाबाट उनले गरेको प्रहार क्रसबार माथिबाट गएको थियो। ४१औं मिनटमा थ्री स्टारका सुनील बलले फ्रिकिक अवसर सदुपयोग गर्न सकेनन्। हिमालयन शेर्पाका उल्रिक सिवेले रञ्जन विष्टलाई फाउल गरेपछि २२ यार्डमा पाएको फ्रिकिकले पोस्टको दिशा लिन सकेन।

५७औं मिनटमा हिमालयन शेर्पाका पूर्ण गुरुङ वन भर्सेस वनमा चुके। विश्वासको पासमा पूर्णको प्रहारले पोस्टको दिशा लिन सकेन। ६१औं मिनटमा पूर्ण गुरुङको अर्को प्रहार खेर गयो। विश्वास श्रेष्ठको पासलाई डी बक्सभित्र सम्हाल्न नसक्दा थ्री स्टारका डिफेन्डर डाम्बियाले क्लियर गरे। खेलको ६५औं मिनटमा थ्री स्टारका फोडे वन भर्सेस वनमा चुके। डी बक्सबाहिरबाट एकल प्रयासमा बल अघि बढाएका फोडेको प्रहार फितलो बन्दा अग्रता लिने अर्को अवसर गुम्यो।  
खेलको ‘म्यान अफ दी म्याच’ थ्री स्टारका कप्तान विक्रम लामा घोषित भए। उनले नगद दश हजारसहित ट्रफी हात पारे।
हारपछि हिमालयन शेर्पाका टिम म्यानेजर ब्रिजेन्द्र पुडासैनीले सुरुमै खेलाडी घाइते हुँदा खेलमा तालमेल नमिलेको बताए। टोलीले पाएका धेरै अवसर गुमाउँदा हार व्यहोर्नुपरेको उनको भनाइ थियो। प्रशिक्षक सुवास लिम्बु अस्वस्थ भएपछि टिम म्यानेजर पुडासैनी पोस्ट म्याच कन्फ्रेन्समा उपस्थित भएका हुन्। पहिलो हाफमा घाइते हुँदै मैदान बाहिरिएका विवेक पौडेलको अनुपस्थिति खेलमा अन्तिमसम्म नै खड्किएको उनले बताए। डिफेन्स लाइन कमजोर हुँदा त्यसको फाइदा थ्री स्टारले उठाएको उनको भनाइ थियो।

जितपछि खुसी देखिएका थ्री स्टारका प्रशिक्षक मेघराज केसीले खेलाडीको प्रदर्शन स्तरअनुसार नभएको बताए। ‘खेलाडीहरू थकित भएका कारण सोचेअनुरूप खेल प्रदर्शन गर्न सकेनन्,’ केसीले भने। आर्मीविरुद्धको उपाधि भिडन्तमा विशेष रणनीतिका साथ मैदान उत्रने उनले बताए। अन्य टिमको प्रदर्शनलाई खासै महत्व नदिने थ्री स्टारका प्रशिक्षक मेघराज केसीले थ्री स्टारविरुद्ध हिमालयन शेर्पाको प्रदर्शन उत्कृष्ट भएको बताए। ‘हिमालयनका युवा भाइहरूले राम्रो खेले,’ केसीले भने।

थ्री स्टार र आर्मी सिमरा गोल्डकपको गत वर्ष सम्पन्न नवौं संस्करणको फाइनलमा भिड्दा आर्मीले जितेको थियो। आर्मी सिमरा रंगशालामा चौथो पटक फाइनल खेल्दै छ भने थ्री स्टार दोस्रो पटक सिमरा गोल्डकपको फाइनलमा पुगेको हो। प्रतियोगिताको छैटौं र नवौं संस्करणको विजेता आर्मी तेस्रो पटक उपाधि उचाल्ने दाउमा हुनेछ भने थ्री स्टारले गत वर्षको हारको बदला लिँदै पहिलो पटक सिमरा गोल्डकपको उपाधि उचाल्ने प्रयास गर्नेछ। आर्मीका नवयुग, दिनेश हेम्जन, सन्तोष तामाङजस्ता खेलाडी फाइनलमा टिममा हुने छैनन्। नवयुग र दिनेश लिगपछि आराम गरिरहेका छन् भने सन्तोष सेमिफाइनलमा घाइते हुँदै रेस्टमा छन्।

प्रकाशित: १० माघ २०७५ १३:५५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App